कलाकारलाई तीजको चटारो

पत्रपत्रिकाबाट

आइतबार, १५ भदौ २०७६, १५ : २४
कलाकारलाई तीजको चटारो

काठमाडौं । सामान्य नेपाली महिलाजस्तै कलाकारले पनि तीज मनाउने गरेका छन्। कार्यक्रमका लागि विदेशमा हुने गायिकाले उतै भएका नेपाली महिलाहरूसँग तीज मनाउँछन् भने यहाँ हुनेले परिवारसँग मनाउने गरेका छन्। कोही पानी पनि नखाई कडा व्रत बस्छन्, कोही व्रत नबसी तीज मनाउँछन्।

मेलिना राई, गायिका
तीजका कार्यक्रमसँगै रेकर्डिङमा व्यस्त छु। तीज मनाउने गरेकी छैन तर तीजका गीत गाएर रमाइलो चाहिँ गर्छु। हरेक वर्ष प्रायः दर्शकसँगै तीज मनाउने गरेकी छु। यसपालि चाहिँ तीजका लागि विदेशबाट निम्तो आएको छ। विदेशमा नेपाली दिदीबहिनीसँग तीज मनाइन्छ होला।

सुनीता दुलाल, गायिका
कहिले देशमा त कहिले परदेशमा तीजका कार्यक्रममा एकदमै व्यस्त छु। गत वर्षको तीज विदेशमा मनाएकी थिए। यसपालि पनि विदेशमै मनाउँछु। नेपालमा तीज मनाउन नपाएको निकै वर्ष भइसक्यो। तीजमा व्रत नबसे पनि चोखो खाएर, मन्दिर गएर पूजा गर्ने गर्छु।

सञ्चिता लुइँटेल, अभिनेत्री
नेपाली महिलाले जसरी तीज मनाउँछन्, मैले पनि त्यसरी नै मनाउने गर्छु। साथीहरूसँग दर खाने कार्यक्रम भइरहेका छन्। यस वर्षको तीज माइतीमा मनाउने सोच छ। मेरा थुप्रै दिदीबहिनी छन्। उनीहरूसँग तीज मनाउन पाउँदा खुशी लाग्छ। हरेक तीजमा व्रत बस्छु। पानी नखाई चाहिँ बस्दिनँ। साँझ बत्ती बालेपछि फलफूल खान्छु। दरमा शाकाहारी खाना खाइन्छ। खीर, पनिरलगायत मन पर्छ।

बेनिशा हमाल, अभिनेत्री
दर खाने निम्ता एकदमै धेरै आएका छन्। बिरामी भएकाले कतै जान पाएकी छैन। तीजमा व्रत बस्दा एक पटक धेरै गाह्रो भयो। त्यहाँदेखि व्रत बसेकी छैन। दरका दिन हाम्रो घरमा चाम्रे खाने चलन छ। तीजमा साथीहरूसँग मन्दिर जान्छु। पूजापाठ गर्छु।

निरिशा बस्नेत, अभिनेत्री
तीज परिवारसँग मनाउँछु। व्रत बस्दिनँ। दर खाने दिनमा ममीहरूसँग राति उठेर दर खान्छु। तीजका दिन हुने कार्यक्रममा सहभागी हुन्छु, नाच्छु। रातो लुगामा सजिन खूब मन पर्छ। सम्पूर्ण बाट 

प्रतिक्रिया दिनुहोस