फिल्म ‘आमा’का लागि अभिनेत्री सुरक्षा पन्तद्वारा कपाल मुन्डन

सफल खबर संवाददाता

विहीबार, १२ भदौ २०७६, १८ : २३
फिल्म ‘आमा’का लागि अभिनेत्री सुरक्षा पन्तद्वारा कपाल मुन्डन

काठमाडौं । नारीको सौन्दर्य र आकर्षणमा कपालको पनि विशेष महत्व रहने गर्दछ । सायद, त्यसैले पनि होला उनीहरु कपालका लागि निकै मिहिनेत समेत गर्दछन् ।

तर, पछिल्लो समय फिल्मको कथामा आफूलाई फिट देखाउन अभिनेत्रीहरुले आफ्नो सौन्दर्यको प्रतिक कपाल मुन्डन गराउन थालेका छन् । 

केही पहिले अभिनेत्री दीपशिखाले फिल्म ‘प्रेमलिला’का लागि आफ्नो कपाल मुन्डन गरेकी छन् । त्यसपछि अहिले प्रदर्शनरत फिल्म ‘जाइरा’ अभिनयका लागि अभिनेत्री नम्रता श्रेष्ठले आफ्नो कपाल मुन्डन गरिन् ।

अहिले फेरि अर्की अभिनेत्री सुरक्षा पन्तले कपाल मुन्डन गराएकी छन् । दीपेन्द्र के खनालको निर्देशन रहेको छायाँकनरत फिल्म ‘आमा’का लागि पन्तले कपाल मुन्डन गरेकी हुन् । फिल्मको कथाको माग अनुसार आफूले कपाल मुन्डन गराएको अभिनेत्री पन्तले बताइन् ।

‘‘आमा’ पुरै टिमको राम्रो फिल्म बनाउने प्रयास रहेको छ’ पन्तले भनिन्, ‘फिल्मको दृश्यले काटेको कपाल मागेपछि मैले कपाल मुन्डन गराएकी हुँ ।’ 

हुन त फिल्मको यस्ता दृश्यका लागि पहिले पहिले वीक प्रयोग गर्ने गरिन्थ्यो । वीकले रियालटी जस्तो नदेखिने भएकोले आफुले कपाल मुन्डनै गराएको पन्तले सुनाइन् । 

‘आमा’मा सुरक्षाको अलवा मिथिला शर्मा, सरिता गिरी लगायत कलाकारको मुख्य भुमिका रहेको छ । 

फिल्मको अहिलेसम्म ८० प्रतिसत काम सकिएको छ । केही दिन अगाडि सिन्धुलीको गल्कोट पुगेर फर्किएको फिल्मको पुरै छायाँकन सक्न निर्देशक सम्पुर्ण युनिट सहित  काठमाडौंमा झरी कुरेर बसिरहेको छ । 
‘रियल झरीमै खिच्नु पर्ने सिनका लागि केही दिन देखि कुरीरहेका छौ’ निर्देशक खनालले भने ‘झरी पर्ने बित्तिकै फिल्म सकिन्छ ।’ 

सामाजिक कथामा बन्न लागेको यो फिल्म आफ्नो अहिलेसम्मकै राम्रो फिल्म हुने खनालले बताए । फिल्मको रिलिज मिति भने फागुन ९ गते तोकिएको छ । 

प्रतिक्रिया दिनुहोस