वास्तविकता

प्रचण्डलाई बद्नाम गर्न खोज्ने राजावादीहरुको प्रयास असफल, चार वर्ष पुरानो भिडियो हालेर फैलाइयो भ्रम

सफल खबर संवाददाता

बुधबार, ११ भदौ २०७६, १३ : २३
प्रचण्डलाई बद्नाम गर्न खोज्ने राजावादीहरुको प्रयास असफल, चार वर्ष पुरानो भिडियो हालेर फैलाइयो भ्रम

काठमाडौं । मंगलबार साँझतिर केहि अनलाइनहरुले एउटा समाचारलाई सनसनीपूर्ण बनाउन खोजे । समाचारको शीर्षक थियो, प्रचण्डमाथि आक्रमणको प्रयास, बानेश्वरमा बालबाल बचे प्रचण्ड या यस्तै यस्तै । पछिल्लो समय सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले अनलाइन होस् या युटुब होस आफुलाई मन नपरेको नेता, राजनीतिक दल या व्यक्ति, समूहको बारेमा केहि समाचार आए त्यसलाई अनावश्यकरुपमा सनसनीपूर्ण बनाउन खोज्ने प्रबृत्ति परम्पराजस्तै बन्दै गइरहेको छ ।

उक्त समाचार २०७२ चैत्र १ गते अर्थात् आजभन्दा ठ्याक्कै ३ बर्ष ७ महिना अघिको रहेछ । करिब साढे ३ बर्षअघि जिल्ला विकास समिति सिरहाको २३ औं जिल्ला परिषदमा सिरहा पुगेका प्रचण्डमाथि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता तथा कार्यकर्ताले आक्रमणको प्रयास गरेका थिए ।

त्यतिबेला मोर्चाका नेताहरुले कालो झन्डा देखाउँदै कार्यक्रमस्थलमा आक्रमणको प्रयास गरेको समाचार नेपाल समाचारपत्र दैनिकमा छापिएको रहेछ । उक्त समाचारमा जिविसको सभाहलभित्र राखिएको कार्यक्रममा कडा सुरक्षा घेरामा राखिएको कार्यक्रममा प्रचण्ड सहित कांग्रेस एमालेका नेता विरुद्ध मोर्चाका कार्यकर्ताले नाराबाजीसंगै आक्रमण प्रयास गरेको र त्यस्तो कार्यमा संग्लनहरुलाई प्रहरीले पक्राउ गरेको उल्लेख छ । नेपाल समाचार पत्रको उक्त समाचार नेपालका अन्य प्रतिष्ठित अनलाइनहरुले समेत साभार गरेको रेकर्ड गुगलमा भेटिन्छ ।

शालिकराम पुडासैनी आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेर प्रहरीले चितवन लैजाँदा सामाजिक सञ्जालमा नेकपा अध्यक्ष प्रचण्डसमेतलाई मुछ्ने काम गरियो । सामाजिक सञ्जालमा यतिसम्म तल्लोस्तरमा टिकाटिप्पणी गरियो कि प्रचण्डकै निर्देशनमा रवि पक्राउ परेको जसरी प्रचार गरियो । सो प्रकरणमा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल समेतलाई मुछ्ने काम गरियो । 

त्यसअघि श्रीमती सीता दाहालको उपचारका लागि प्रचण्ड युएई भ्रमणमा जाँदा पनि उस्तै प्रचार गरियो । स्वर्गीय छोरा प्रकाश दाहालको नाममा दुबईमा अर्बौ पैसा रहेको र सोही पैसा फिर्ता लिन गएको भनेर प्रचार गरियो । 

यो त गलत प्रचारका दुई दृष्टान्त मात्रै हुन् । प्रचण्डमाथि एक पछि अर्को गर्दै दुष्प्रचारको श्रृङ्खला चलिरहेको छ । नेकपालाई बद्नाम गराउने र त्यसमा पनि प्रचण्डलाई सक्याउन लागिपरिरहेका एक समूहले यसरी एकपछि अर्को गर्दै दुष्प्रचार गरिरहेका छन् । गणतन्त्र, संघीयता र परिवर्तन नै नचाहने तहले यसरी प्रचण्डमाथि एकपछि अर्को हमला गरिरहेका छुन् । 

यही दुष्प्रचारको सिलसिला मंगलबार पनि चल्यो । सामाजिक सञ्जालमा प्रचण्डलाई बानेश्वरमा आक्रमणको प्रयास भन्दै सन्दर्भ नै नमिल्ने प्रचार सामग्री राखेर चरित्रहत्याको प्रयास गरिएको छ । केही अफबाह फैलाउने फेसबुकका ग्रुप र फेक अकाउन्टबाट चार वर्षअघिको जनजाति आन्दोलनको भिडियो राखेर प्रचण्डको नाम जोड्दै बदनामको प्रयास गरिएको छ ।

मंगलबारको हल्लामा कुनै सत्यता नभएको प्रचण्डको सचिवालयले जनाएको छ । अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा जुगलले कुनै घटना नभएको स्पष्टीकरण दिँदै अध्यक्ष प्रचण्डप्रति केही कुत्सित मानसिकता भएका तत्वहरुले अफवाह फैलाउन खोजेको भन्दै खेद समेत प्रकट गरेका छन् । 
उनले भनेका छन्, ‘अध्यक्ष प्रचण्डप्रति केहि कुत्सित मानसिकता भएका तत्वहरूले अफवाह फैलाउन खोजेकोप्रति खेद व्यक्त गर्दछु ।’ कुनै केही घटना नभएको सबैमा जानकारी पनि गर्दछु । कतिपयले प्रचण्डको बद्नाम गर्न प्रयोग गरिएको फेक भिडियो र रविको मंगलबारको चितवनको फोटो हालेर टिकाटिप्पणी गरेका छन् । जसमा प्रचण्डलाई डोमिनेट गरेर रविलाई हिरो बनाउने प्रयास गरिएको छ । कतिपयले प्रचण्ड र सिंगो गणतन्त्रलाई बद्नाम गर्न यसरी भ्रम फैलाएको टिप्पणी गरेका छन् । 
सामाजिक सञ्जाल प्रयोगकर्ता पनि यति हलुका छन् कि भिडियोमा प्रष्ट जाडो महिनामा लगाइने बाक्लो पोसाक लगाएका छन् आन्दोलनकारीले । कहीँ यो भदौको गर्मीमा कसैले बाक्लो लुगा लगाएर आन्दोलनमा उत्रिएला ? पछिल्लो समय सामाजिक सञ्जालमा सही गलत नछुट्याई भीडको पछि दौडने प्रचलन मौलाएको छ । जुन चितवनमा रवि लामिछाने पक्राउ पर्दा पनि देखियो । 

समर्थकले रविलाई भगवानको उपमा दिँदै उनी निर्दोष रहेको डंका पिट्यो । जबकि उनी दोषी हुने प्रशस्त आधार देखिएको भन्दै अदालतले ५ लाख धरौटी लिएर पूर्पक्षमा छाडेको छ । धरौटीमा छाड्नु भनेको रवि दोषी हुने प्रशस्त आधार हुनु हो । अहिले नै रवि दोषी हुन् भन्न सक्ने अवस्था छैन । किनकि अदालतको फैसला आउनै बाँकी छ । तर उनी दूधले नुहाएकोजस्तो चोखो भने छँदै छैनन् । 

रवि प्रकरणमा भरतपुर महानगरपालिकाकी मेयर दाहाललाई पनि अनावश्यक रुपमा मुछियो । यतिसम्म कि रविले प्रचण्ड र रेनुको आलोचना गरेको र त्यसको बदलामा रविलाई पक्राउ गर्न भूमिका खेलेको भन्दै प्रचार गरियो । यसबारे भरतपुर महानगर प्रमुख रेनु दाहालले प्रेस विज्ञप्ति नै निकालेर स्पष्टिकरण दिनुपर्यो । 

भदौ ५ गते रेनुले जारी गरेको विज्ञप्तिमा नुवाकोटका पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा सरोकारै नभएका राज्यका उच्च पदस्थ नेतृत्व र आफ्नो नाम जोडेर भ्रामक प्रचार गर्ने काम भएको भन्दै आपत्ति जनाइन् । सामाजिक सञ्जालको दुरुपयोग गरेर कपोकल्पित, मनगढन्ते अनर्गल तथा भ्रामक विचारहरु सम्प्रषण गर्ने, अपशब्द प्रयोग एवम् गालीगलौज गरी व्यक्तिको वैयक्तिक स्वतन्त्रतामाथि मानमर्दन गर्ने र अराजक परिस्थिति सिर्जना गर्ने प्रवृत्ति देखिनु दुःखद भएको विज्ञप्तिमा उल्लेख थियो । 

घटनासँग कुनै पनि सम्बन्ध नभएका व्यक्ति एवम् संस्थालाई जोडेर अनावश्यक टिकाटिप्पणी र घटनालाई विषयान्तर नगर्न पनि दाहालले सबैसँग अनुरोध गरेकी छिन् । 
मंगलबारको हल्लामा कुनै सत्यता नभएको प्रचण्डको सचिवालयले जनाएको छ । अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा जुगलले कुनै घटना नभएको स्पष्टीकरण दिँदै अध्यक्ष प्रचण्डप्रति केही कुत्सित मानसिकता भएका तत्वहरुले अफवाह फैलाउन खोजेको भन्दै खेद समेत प्रकट गरेका छन् । 

राजनीति अनुभवको आधारमा गर्ने हो न कि भ्रमबाट । सामाजिक सञ्जालको दुरुपयोग गरेर भ्रम फैलाउनेलाई कारबाहीको दायरामा ल्याउनचाहिँ ढिलो हुन लागिसकेको छ । यसतर्फ सरोकारवाला निकायको ध्यान जान जरुरी छ ।

प्रतिक्रिया दिनुहोस