अनिलमार्फत रविसम्म पुगेकी थिइन् अस्मिता, यस्तो छ उनको बयान

सफल खबर संवाददाता

सोमबार, ०९ भदौ २०७६, १६ : ३४
अनिलमार्फत रविसम्म पुगेकी थिइन् अस्मिता, यस्तो छ  उनको बयान

काठमाडौं । न्यूज२४ टिभीमा २ वर्षदेखि क्यामेराम्यानको रुपमा कार्यरत अनिल ढुंगेलले पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नु २ दिनअघि अस्मिता भन्ने रुकु कार्की न्यूज२४ को कार्यालय आएकी बयान दिएका छन् ।  पुडासैनी र रुकुको सम्बन्धलाई लिएर रवि लामिछाने र युवराज कँडेलसम्म पुग्ने व्यक्ति नै अनिल हुन् । अस्मिता उनीमार्फत नै न्यूज २४ टिभीसम्म पुगेकी थिइन् । 
बयानमा ढुंगेलले शालिकरामले नक्कली फेसबुक आइडी समेत बनाएर अस्मितालाई पठाएको म्यासेजको स्क्रिनसर्ट अस्मिताले आफूलाई पठाएको बताएका छन् । 
शालिकरामले दुःख दिइरहेकाले तपाईंहरुले सहयोग गरिदिनुपर्यो भनेपछि आफूले अस्मितालाई न्यूज२४ को कार्यालयमा आएर रवि लामिछानेसँग कुरा गर्न आग्रह गरेको ढुंगेलले भनेका छन् । 
न्यूज२४ आएकी अस्मिताले शालिकरामले आफूलाई धम्की दिने, बाटो छेक्नेजस्ता कामहरु गर्दै आएकाले सम्झाईदिनुपर्यो भन्दै सहयोग मागेकी उनले बयानको क्रममा बताएका छन् । 
अस्मिताको भनाई उद्धृत गर्दै बयानको क्रममा ढुंगेलले शालिकले धेरै नै दुःख दिएको कुरा दीपक बोहरा र रवि लामिछानेलाई सुनाएको समेत बताएका छन् ।
 रवि र दीपकको सल्लाहमा नै अस्मितालाई न्यूज२४ को कार्यालय देखिने गरी सेल्फी खिच्न आग्रह गरेको बयानमा उनले बताएका छन् । 
शालिकलाई ‘तिमी न्यूज२४ गएको कुरा थाहा हुने र फलो गर्न छोड्ला’ भनेर आफूले पनि अस्मितालाई सेल्फी खिच्न भनेको उनले बयानमा बताएका छन् । 
पछि पनि अस्मिताले मलाई १÷२ पटक फोन गरेर सहयोग गरिदिनुपर्यो भनेकीले दीपक बोहरा र रवि लामिछानेको सल्लाहअनुसार अस्मितालाई प्रहरीमा जान आग्रह गरेको उनले बताएका छन् । 
अस्मितालाई पुडासैनीले आफ्नो श्रीमती भनेर चिनाएको समेत ढुंगेलले बयानमा उल्लेख गरेका छन् । 
बयानको क्रममा ढुंगेलले शालिकको रिर्पोटिङ शैली अलि आक्रामक प्रकृतिको हुने पनि बताएका छन् । जुन कुरा आफूलाई चित्त नबुझ्ने ढुंगेलको भनाई छ ।

शालिकराम प्रायजसो फेसबुकमा अस्मितासँग व्यस्त रहने गरेको पनि ढुंगेलले बताएका छन् । 

शालिकरामले धम्की दिएको म्यासेज अस्मिताले घटना हुनुपूर्व आफूलाई पठाएपछि युवराज कँडेललाई फरवार्ड गरेको उनले बयानमा भनेका छन् । पछि भने रवि लामिछाने र दीपक बोहरालाई पनि पठाएको उनको भनाई छ । 
शालिकराम र अस्मिताको सम्बन्धबारे जानकार भएपछि घटना हुनुपूर्व शालिकसँग बीचमा कुनै पनि माध्यमबाट कुरा नभएका बयानमा उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस