रवि तिमी आउँछौ भन्ने आसैआसमा (फोटोफिचर)

सफल खबर संवाददाता

आइतबार, ०८ भदौ २०७६, १७ : ०८
रवि तिमी आउँछौ भन्ने आसैआसमा (फोटोफिचर)

चितवन । आइतबारलाई रविबार पनि भनिन्छ तर आजको आइतबार टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेको बार बन्न सकेन । दस दिनदेखि प्रहरी हिरासतमा रहेका रवि लामिछाने धरौटीमा छुट्लान वा पूर्पक्षका लागि जेल पुग्लान् ? भन्ने चासो धेरैमा थियो । यही चासो र चिन्ताले हजारौँ सर्वसाधारण सडकमा निस्किए । सडक अस्तव्यस्त बन्यो । सवारी जाम भयो । जे जे भएपनि आजको आइतबार रविबार अर्थात् रवि लामिछानेको बार बनेन ।

पत्रकार सालिकराम पुडासैनी आत्महत्या प्रकरणको अहिलेसम्मको अनुसन्धान प्रतिवेदन जिल्ला प्रहरी कार्यालय र सीबीआई टोलीले जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाए । सरकारी वकिलको कार्यालयका तर्फबाट जिल्ला न्यायाधीवक्ताले जिल्ला अदालतमा आरोपी तीन जनाविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गरे । त्यसपछि सुरु भयो आरोपीमध्ये एक रुकु कार्की अस्मितासँग बयान लिने काम । कार्कीसँग बयान लिने काम सकिएको छ । मुख्य आरोपी रवि लामिछाने र अर्का आरोपी युवराज कँडेलको बयान लिन बाँकी छ । 

आइतबारको सरकारी समय सकिएको छ अर्थात् यतिबेला साँझको पाँच बजिसकेको छ । अब लामिछाने र कँडेलको बयान लिने र थुनछेक बहस गर्ने काम सोमबारमात्र हुनेछ । आजको रात पनि रविले हिरासतमै बिताउने छन् । थुनछेक बहसपछि रवि लामिछाने साधारण तारेखमा छुट्लान कि धरौटीमा ? वा पूर्पक्षका लागि जेल चलान होलान् ? सोमबार साँझसम्म टुंगो लाग्ला । आजलाई भने यतिमात्र भन्न सकिन्छ, रवि तिमी आउँछौ भन्ने आसैआसमा साँझ प¥यो ।
(शब्द : सूर्यप्रकाश कँडेल, तस्बिरहरु : उर्गेन तामाङ)

प्रतिक्रिया दिनुहोस