पत्रकार सालिकराम पुडासैनी आत्महत्या प्रकरण

रवि लामिछाने धरौटीमा छुट्लान वा पूर्पक्षका लागि जेल पुग्लान् ?

जिल्ला प्रहरी कार्यालय र सीबीआईले बुझायो अनुसन्धान प्रतिवेदन

सफल खबर संवाददाता

आइतबार, ०८ भदौ २०७६, १३ : ५५
रवि लामिछाने धरौटीमा छुट्लान वा पूर्पक्षका लागि जेल पुग्लान् ?


चितवन l पत्रकार सालिकराम पुडासैनी आत्महत्या प्रकरणको अहिलेसम्मको अनुसन्धान प्रतिवेदन जिल्ला प्रहरी कार्यालय र सीबीआई टोलीले आज आइतबार जिल्ला सरकारी वकिलको कार्यालयलाई बझाएका छन् । अब सरकारी वकिलले जिल्ला अदालतमा आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गर्नेछ । त्यसपछि सुरु हुने बयान र थुनछेक बहसपछि रवि लामिछाने धरौटीमा छुट्लान ? वा पूर्पक्षका लागि जेल चलान होलान् ? प्रतीक्षाको विषय बनेको छ ।
पत्रकार सालिकराम पुडासैनी आत्महत्या प्रकरणका आरोपीहरु टेलिभिजन प्रस्तोता रवि लामिछाने, न्यूज २४ टेलिभिजनका युवराज कंडेल र नर्स अस्मिता कार्की (रुकु) लाई आज आइतबार तेस्रो पटक अदालत लगिएको छ । सरकारी वकिलको कार्यालयबाट भर्खरै तिनै जनालाई अदालत लगिएको हो । सरकारी वकिलको कार्यालयले अभियोगपत्र अदालतमा पेश गरेपछि पूर्पक्षका लागि थुनामा पठाउने वा धरौटीमा रिहा गर्ने भन्ने विषयमा अदालतको आदेश आउन सक्छ ।
थप केही अनुसन्धान गर्नु पर्ने नदेखिएमा जिल्ला न्यायाधिवक्ताले आरोपी रविसहित तिनै जनालाई जिल्ला अदालत चितवनमा अभियोग पत्र मिसिलसहित पेश गरी मुलुकी अपराध संहिता २०७४ को दफा १८५ अनुसार सजाय मागदाबी गर्नेछ । उक्त दफामा आत्महत्या गर्न दुरुत्साहन दिन नहुने भनी दुई वटा उपदफा रहेका छन् । पहिलो उपदफामा भनिएको छ, ‘कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिन वा त्यस्तो काम गर्नेसम्मको परिस्थिति खडा गर्न वा गराउन हुँदैन ।’
मुलुकी अपराध संहिताको दफा १८५ उपदफा २ मा भनिएको छ, ‘उपदफा १ बमोजिमको कसुर गर्ने व्यक्तिलाई पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।’
दस दिनअघि काठमाडौँबाट पक्राउ परेका लामिछाने, कँडेल र कार्कीलाई चितवन जिल्ला अदालतले सुरुमा पाँच दिन र त्यसपछि गत मंगलबार पुनः पाँच दिनको म्याद थप गरेको थियो । गत मंगलबार रवि लामिछाने र गत सोमबार युवराज कँडेल एवं अस्मिता कार्की (रुकु) को बयान लिइएको थियो । 
गएको साउन २० गते नारायणगढमा रहेको होटल कंगारुमा पत्रकार पुडासैनी झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । पत्रकार पुुडासैनीले मर्नुअघि आफ्नै आवाजमा रेकर्ड गरेको सुसाइट भिडियो नोटमा रवि, युवराज र अस्मिताको नाम लिएपछि उनीहरु पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस