पत्रकार पुडासैनी आत्महत्या प्रकरण

कलाकारहरुले भने, ‘स्वतन्त्र र निष्पक्ष छानबिन हुनु पर्छ’

सफल खबर संवाददाता

शनिबार, ०७ भदौ २०७६, १७ : ०५
कलाकारहरुले भने, ‘स्वतन्त्र र निष्पक्ष छानबिन हुनु पर्छ’

काठमाडौं । चर्चित कलाकारहरुले पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा निष्पक्ष र स्वतन्त्र छानबिन हुनुपर्ने बताएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालमा आयोजित अन्तरक्रियामा बोल्दै कलाकारहरुले यस्तो बताएका हुन् । 
रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले आफू पनि रवि लामिछानेले न्याय पाउनुपर्ने पक्षमा रहेको सुनाए । उनले भने,‘मुलुकमा कानूनको शासन छ । म न्यायमूर्तिप्रति विश्वास राख्दछु ।’ उनले स्वतन्त्र र निश्पक्ष रुपमा छानबिन गर्न दिनुपर्ने भन्दै दबाब र भीडले छानबिन प्रक्रियामा असर पुर्याउन नहुनेतर्फ सचेत गराए । 
धमलाले निर्दोषले सजाय पाउन नहुने र दोषी उम्कन नहुने धारणा राखे । उनले भने,‘यदि यो प्रकरणमा रविजी निर्दोष हुनुहुन्छ भने उहाँले न्याय पाउनु पर्छ, तर गलत काम गरेको छ भने दण्डित पनि हुनुुपर्छ । म व्यवसायिक पत्रकार हो । निर्दोषले न्याय पाउने हो । दोषी दण्डित हुनुपर्छ ।’ उनले पत्रकार शालिकराम पुडासैनीको परिवारले पनि न्याय पाउनु पर्ने बताए । 
हाँस्यकलाकार दिपकराज गिरीले भने,‘आत्महत्या गर्नेप्रति मेरो समवेदना छ । चलचित्र प्रदर्शनको सिलसिलामा एक जना भाई यही पीडाबाट गुज्रिनुपर्यो । त्यो पीडा मैले नजिकबाट आत्मसात गरेको छु । संसार एउटा महाभारत हो । हरेक प्रकारका युद्धको सामना गर्नुपर्छ । अन्याय हुन्छ भने कानूनको ढोका ढक्ढकाउनुपर्छ । जीवनको नाम संघर्ष हो ।’
उनले भीडले न्याय नदिने कुरामा आफू विश्वस्त रहेको सुनाए । यद्धपी उनले हिजो राजाको शासनको पालामा भीडले परिवर्तन ल्याएको कुरा बिर्सन नहुने सम्झाए । उनले भने,‘तर, कारणसहितको भीड हुनुपर्छ ।’
कलाकार निखिल उप्रेतीले भने,‘हामी सत्यको पक्षमा लडौं ।’ देश र जनताप्रति राजनीति गर्ने व्यक्तिहरु ईमानदार हुनुपर्ने उनको भनाई छ ।उनले नेपालमा सही व्यक्ति र पार्टीको रंग नलागेको व्यक्तिलाई अप्ठ्यारो अवस्था रहेको सुनाए । उनले भने,‘रविजीको हकमा कानूनले सही तरिकाले निर्णय होस् । राजनीतिकरण नहोस् ।’ 
कलाकार रमेश उप्रेतीले रवि लामिछाने पक्राउ प्रकरणमा छिटोभन्दा छिटो छानबिन हुनुपर्ने माग गरे । उनले भने,‘यो देशमा अदालत छ । श्रीमान हुनुहुन्छ । यो केश कोर्टमा गैसक्यो । प्रेसर दिएर राम्रो निर्णय ल्याउँदैनन् ।’ यो प्रकरणमा दोषी भए रविले पनि सजाय पाउनुपर्ने उनको भनाई । उनले थपे,‘उहाँ पनि कानूनभन्दा माथि हुनुहुन्न ।’

प्रतिक्रिया दिनुहोस