पत्रकार पुडासैनी आत्महत्या प्रकरण

हिरासतबाट रवि लामिछानेको अन्तरवार्ता बाहिरिएपछि प्रहरीलाई तनाव

उर्गेन तामाङ

शनिबार, ०७ भदौ २०७६, १३ : ११
हिरासतबाट रवि लामिछानेको अन्तरवार्ता बाहिरिएपछि प्रहरीलाई तनाव

चितवन । सञ्चारकर्मी रवि लामिछानेको अन्तरवार्ता हिरासतबाटै सार्वजनिक भएपछि चितवन प्रहरीलाई तनाव बढेको छ । प्रहरी संगठनभित्र यसले नयाँ खैलाबैला मच्चिएको छ । 
रविले आफूलाई प्रहरीबाटै असुरक्षा रहेको आरोप लगाएको अडियो एकाएक हिरासतमा रविलाई भेट्न गएका एक जना सञ्चारकर्मीबाट सार्वजनिक भएको थियो । रविसँग गरिएको अन्तरवार्ता शुक्रबार दिउँसो एउटा युट्युव च्यानलबाट सार्वजनिक भएपछि प्रहरी प्रशासन, सर्वसाधारणहुँदै सरोकारवाला पक्षबीच हल्लीखल्ली नै मच्चिएको छ । अन्तरवार्ता सार्वजनिक भएसँगै हिरासतको सुरक्षामाथि सरोकारवाला पक्षले प्रश्न उठाएका छन् । 
हिरासतमा रहेका व्यक्तिलाई विशेष व्यक्तिले भेट्न पाउने भए पनि उनका धारणा बाहिर सार्वजनिक गर्न नपाइने भन्दै ड्युटीका प्रहरीमाथि छानबिन हुनु पर्ने सरोकारवालाको भनाई छ । प्रहरीले सुचना गोप्य राखेर अनुसन्धान गरिरहेको अवस्थामा हिरासतबाटै अन्तरवार्ता सार्वजनिक भएपछि प्रहरीभित्र तरंग उत्पन्न भएको छ ।  
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख प्रहरी उपरिक्षक दानबहादुर मल्लले हिरासतमा अन्तरवार्ता लिएर सार्वजनिक गर्ने व्यक्तिलाई कारबाही गर्ने चेतावनी दिएका छन् । उनले अनुसन्धानको घेरामा रहेका व्यक्तिको अडियो, भिडियो अन्तरवार्ता सार्वजनिक गर्न नपाइने भन्दै कारबाही गर्ने बताएका हुन् । 
हिरासतमा रहेको व्यक्तिको धारणा अनाधिकृत रुपमा बाहिर लैजाँदा अनुसन्धानलाई प्रभाव पार्न सक्ने भएकाले कानुनी कारबाही गर्ने बताएका छन् । कसले, कसरी ? सार्वजनिक ग¥यो भन्नेबारे अनुसन्धान गरी कारबाही गर्ने एसपी मल्लको भनाई छ । रविलाई हिरासतमा भेट्न गएका एक जना सञ्चारकर्मीले अडियो अन्तरवार्ता गरेर युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस