रवि लामिछानेविरुद्ध पुडासैनीकी श्रीमतीले दिइन् किटानी जाहेरी

आइतबार, ०१ भदौ २०७६, १३ : १६
रवि लामिछानेविरुद्ध पुडासैनीकी श्रीमतीले दिइन् किटानी जाहेरी

काठमाडौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा छानबिनका लागि पक्राउ परेका सञ्चारकर्मी रवि लामिछानेविरुद्ध पीडित परिवारले किटानी जाहेरी दिएको छ । पुडासैनीको परिवारले महानगरीय प्रहरी परिसर काठमाडौंमार्फत् लामिछानेसहित सोही प्रकरणमा पक्राउ परेका ‘सिधा कुरा जनतासँग’ नामको टेलिभिजन कार्यक्रममा कार्यरत युवराज कँडेल र स्टाफ नर्स ओखलढुंगाकी अस्मिता कार्कीविरुद्ध किटानी जाहेरी दिएको हो । मृतककी श्रीमती सम्झना घिमिरे पुडासैनीले आफैं प्रहरीमा उपस्थित भएर किटानी जाहेरी दिएकी हुन् । 

शनिबार १३ दिनको काजक्रिया सकेर आइतबार उजुरी दिएको परिवारले जनाएको छ । किटानी जाहेरीमा उनले आफ्ना श्रीमानलाई लामिछाने, कँडेल र कार्कीले हत्याको बाटो रोज्न बाध्य पारेकाले उनीहरुमाथि मुलुकी अपराध संहिताको दुरुत्साहनअन्तर्गत कारवाही गर्न माग गरेकी छिन् । साउन २० गते चितवनको नारायणगढस्थित एक होटलमा झुण्डिएको अवस्थामा मृत फेला परेका पुडासैनीले मृत्युअघि रेकर्ड गरेको भिडियोमा उनीहरु तीन जनाका कारण आफूले आत्महत्या गरेको बताएका थिए ।

उक्त भिडियो केही दिनअघि सञ्चार माध्यममार्फत सार्वजनिक भएको थियो । त्यसलगत्तै प्रहरीले लामिछाने र  कँडेललाई उनीहरु कार्यरत न्यूज २४ टेलिभिजनको कार्यालय पानीपोखरी र कार्कीलाई कलंकीबाट पक्राउ गरेको थियो । चितवन जिल्ला अदालतले उनीहरु सबैलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

प्रतिक्रिया दिनुहोस