नेपालगञ्ज विमानस्थलको धावनमार्ग कालोपत्रे गर्न शुरु

बुधबार, १७ माघ २०७४, १४ : ३९
नेपालगञ्ज विमानस्थलको धावनमार्ग कालोपत्रे गर्न शुरु

खजुरा, बाँके । नेपालगञ्ज विमानस्थलको धावनमार्ग कालोपत्रे गर्न शुरु गरिएको छ । कालोपत्रे शुरु गर्न थालिएपछि विमानस्थलबाट साँझपख हुने सबै उडान ३५ दिनका लागि बन्द हुने भएका छन् । 

धावनमार्ग कालोपत्र गर्न दिउँसो ३ बजेदेखि बिहान ६ बजेसम्म उडान र अवतरण दुवै रोकेर काम शुरु गरिएको नागरिक उड्डयन प्राधिकरण कार्यालय नेपालगञ्जका प्रमुख प्रतापबाबु तिवारीले बताउनुभयो । 

उहाँका अनुसार विमानस्थलको धावनमार्ग, जहाज पार्किङस्थल, ट्याक्सी वेलगायत स्थानमा एक तह थपेर कालोपत्रे गर्न लागिएको हो । धावनमार्ग मर्मत गर्नुपर्ने भएकाले सन्ध्याकालीन विमान सेवा बन्द गर्न शुरु गरिएको छ । 

धावनमार्ग कालोपत्रे गरिने भएपछि बिहान ६ बजेदेखि दिउँसो ३ बजेसम्म मात्र विमानस्थल खुला रहनेछ । झण्डै १२ पछि विमानस्थलमा कालोपत्रे गर्न लागिएको हो । नियमानुसार पाँच र छ वर्षको अवधिमा धावनमार्ग कालोपत्रे गर्नुपर्ने छ । 

बाक्लो हुस्सुका कारण बिहानका उडान नियमित नभइरहेका बेला सन्ध्याकालीन सेवा रोकिएपछि हवाई यात्रुलाई मर्का परेको छ । यात्रुको समस्यालाई मध्यनजर गरी अहिले धावनमार्गबाहेकका स्थानमा काम शुरु गरिएको बताउँदै प्रमुख तिवारीले दिउँसोको समयले अलि फराकिलो बनाई दिउँसोसम्म दुईवटै उडान गराइने बताउनुभयो । 

नेपालगञ्जको राझा विमानस्थलबाट काठमाडौँ र कर्णालीका पहाडी जिल्लामा दैनिक डेढ दर्जन उडान हुन्छन् । सामान्य अवस्थामा विमानस्थल चौबीसँै घण्टा खुला रहन्छ ।  (रासस) 

प्रतिक्रिया दिनुहोस