प्रदेश २ को पार्टी विवाद मिलाउन प्रचण्ड निवासमा झण्डै ५ घण्टा बैठक

सफल खबर संवाददाता

सोमबार, २७ साउन २०७६, ०७ : ४२
प्रदेश २ को पार्टी विवाद मिलाउन प्रचण्ड निवासमा झण्डै ५ घण्टा बैठक

काठमाडौं  । सत्तारुढ दल नेकपाको प्रदेश २ अन्र्तगतका जिल्ला कमिटि गठनको विवाद मिलाउन अध्यक्ष प्रचण्ड सक्रिय भएका छन् । प्रदेश २ का विभिन्न जिल्ला कमिटि गठनमा वरिष्ठ नेता माधव नेपाल स्वयंले असन्तुष्टि जनाईरहेका बेला नेपाल सहित प्रदेश अध्यक्ष सम्मलाई बोलाएर अध्यक्ष प्रचण्डले विवाद मिलाउन भूमिका खेलेका हुन् । आइतबार आफ्नै निवास खुमलटारमा वरिष्ठ नेता नेपाल, प्रदेश अध्यक्ष प्रभु शाह लगायत नेताहरुलाई बोलाई प्रचण्डले विवाद समाधान गर्न भूमिका खेलेका हुन् ।

प्रचण्ड निवासमा उनी सहित वरिष्ठ नेता नेपाल र प्रदेश अध्यक्ष शाहका बीच आइतबार झण्डै ५ घण्टा छलफल भएको थियो ।

छलफलका लागि वरिष्ठ नेता नेपाल साढे ३ बजे खुमलटार पसेका थिए । उक्त छलफलमा केही बेर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव पनि सहभागी भएर निस्केका थिए । नेता नेपालले रौतहट जिल्ला कमिटि र धनुषा जिल्ला कमिटि गठनमा अलिक बढी चासो देखाउँदै असन्तुष्टि जनाउँदै आएका थिए ।

नेता नेपालको असन्तुष्टि पछि प्रदेश २ अन्र्तगतका जिल्ला कमिटिको सपथ ग्रहण कार्यक्रम नै समेत प्रभावित बनेको थियो । त्यहाँ अहिलेसम्म जिल्ला कमिटिको सपथ ग्रहण हुन सकेको छैन ।

‘प्रदेश २ का केही संगठनात्मक समस्याका विषयमा छलफल गर्न हामी बसेका हौं,’ प्रदेश अध्यक्ष शाहले भने, –‘पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री स्वदेश र्फिकएपछि फेरि एक चरण बस्ने र समझदारी बनाउने दिशामा छलफल भएको छ ।’

ओली आज स्वदेश फर्किदैछन् । १८ साउनमा उपचारका लागि प्रधानमन्त्री सिंगापुर गएका थिए । रौतहट, धनुषा लगायत जिल्लामा साविक एमाले तर्फका जिल्ला कमिटिका सदस्यहरु कमिटिमा कति राख्ने हटाउने र त्यसको विधि के हुने भन्नेमा नेता नेपालले असहमति जनाउँदै आएका थिए ।

एउटै प्रदेशभित्र पनि दोहोरो मापदण्डका आधारमा कमिटि चयन गर्नुपर्ने नेताहरुकै इन्ट्रेष्टले विवाद निम्ताएपछि अध्यक्ष प्रचण्डले समाधानको उपायको खोजीका लागि छलफल गरेका हुन् ।

भदौं २ मा रामवृक्ष स्मृति दिवस मनाइने
नेताहरुको छलफलमा पार्टी प्रदेश कमिटिको आयोजनामा धनुषाधाममा रामवृक्ष यादव स्मृति दिवस मनाउने विषयमा पनि छलफल भएको छ । भदौं २ मा हुने उक्त स्मृति सभाका लागि अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नेपाल र महासचिव विष्णु पौडेल सहभागी हुने र कार्यक्रमलाई सम्बोधन गर्ने विषयमा पनि छलफल भएको अध्यक्ष शाहले बताए ।

‘रामवृक्ष स्मृति दिवसलाई कसरी भब्य र ब्यवस्थीत बनाउने भन्नेमा पनि छलफल भयो,’ शाहले भने, –‘उक्त कार्यक्रममा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधव नेपाल र महासचिव विष्णु पौडेल पुगेर सम्बोधन गर्ने गरी कार्यक्रम बनेको छ ।’

रामवृक्ष यादव २०५१ भदौं २ मा तत्कालिन कांग्रेसका लिला कोइराला लगायतको निर्देशनमा मारिएका थिए । तत्कालिन माओवादीले जनयुद्धको तयारी गर्दैगर्दा तराई मधेसका लोकप्रिय नेता यादव (मास्टरसाप) को हत्या भएको थियो ।

भदौं २ लाई तत्कालिन माओवादीले हरके वर्ष रामवृक्ष यादव स्मृति दिवसको रुपमा मनाउँदै आएको थियो । पार्टी एकतापछि पनि नेकपाले यो दिवसलाई निरन्तरता दिदै आएको छ । त्यही क्रममा यसपटक पनि प्रदेश कमिटिको आयोजनामा धनुषाधाममा स्मृति दिवस मनाउन लागेको हो ।

प्रतिक्रिया दिनुहोस