आज बकर इद पर्व : राष्ट्रपति देखि प्रधानमन्त्रीसम्मको शुभकामना सन्देश

सफल खबर संवाददाता

सोमबार, २७ साउन २०७६, ०७ : २२
आज बकर इद पर्व : राष्ट्रपति देखि प्रधानमन्त्रीसम्मको शुभकामना सन्देश

काठमाडौं । मुस्लिम समुदायहरुको महान् चाड बकर इद आज परेको छ । बकर इदका अवसरमा राष्ट्रपति देखि प्रधानमन्त्री सम्मले मुस्लिम समुदायलाई शुभकामना सन्देश दिएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषताले भरिपूर्ण देशका मुस्लिम समुदायलाई शुभकामना ब्यक्त गरेका हुन् ।

उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालका सम्पूर्ण इस्लाम धर्मावलम्वीहरु र स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् । ‘इस्लाम धर्मावलम्वीहरुको महान पर्व इद–अल–अधा (बकर–इद)को शुभ अवसरमा उपराष्ट्रपतिको आज्ञाले उनका प्रेस सल्लाहकार मनोज घर्तीमगरले सन्देश जारी गरेका छन् । उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषताले भरिपूर्ण मुलुक हो । विभिन्न समुदायका चाडबाड, रितिरिवाज र धर्म संस्कृतिले आपसी सहिष्णुता र राष्ट्रिय एकतालाई बलियो बनाउँदै आएको उल्लेख गरेका छन् ।

त्यस्तै उपराष्ट्रपतिले भाइचारा र पारिवारिक मिलनको रुपमा मनाइने इस्लाम धर्मवलम्वीहरुको महान् पर्व इद–अल–अधाले राष्ट्र निर्माण, राष्ट्रिय एकता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, आपसी मित्रतालाई सुदृढ् गर्ने मैले विश्वास लिएको बताएका छन् ।

प्रधानमन्त्री केपी ओलीले सिंगापुरबाटै शुभकामना दिएका हुन् । उनले सन्देशमा नेपाल बहुजातीय र बहुसाँस्कृतिक देश भएकोले यहाँका सबै जाती र सँस्कृतिका चाडपर्वहरुलाई राज्यले उत्तिकै सम्मान गर्ने बताएका छन् ।

‘नेपाल बहुजातीय बहुसाँस्कतिक देश हो । सबै जाती र सँस्कृतिका चाडपर्वहरुप्रति सरकारले उत्तिकै सम्मान छ’ प्रधानमन्त्री ओलीले सन्देशमा भने ।

बकर ईदले आफूलाई मात्र होइन समुदायका गरिब र इस्टमित्रलाई समेत सहयोग गर्न सबैलाई उत्प्रेरित गर्ने प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ ।  प्रधानमन्त्री ओलीको सन्देशमा भनिएको छ –‘बिहान सबेरै ईदको नमाज पढे पछि आ–आफनो घरमा दिइएको कुर्वानीको तीन हिस्सा मासुमध्ये एक हिस्सा घरमा, अर्को एक हिस्सा गरिबलाई  र बाँकी एक हिस्सा इस्ट मित्रहरुलाई प्रदान गर्ने गरिन्छ । यस्तो प्रचलनले मानवीयताको एउटा नमुना प्रदर्शन गरेको छ ।’ त्यस्तै प्रतिनिधीसभाका सभामुख कृष्णबहादुर महरा, राष्टिय सभाका अध्यक्ष गणेश तिमल्सिना लगायतले पनि शुभकामना सन्देश जारी गरेका छन् ।

त्यस्तै पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष प्रचण्डले पनि शुभकामना ब्यक्त गरेका छन् । आज बिहान एक वक्तब्य जारी गर्दै अध्यक्ष प्रचण्डले इद–उल–अजहा (बकर ईद) को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गरेका हुन् ।

नेपाल बहुभाषिक, बहुसांस्कृतिक र विभिन्न धार्मिक समुदायहरुको साझा भूमि भएको भन्दै प्रचण्डले देशको यही विविधता भित्रको एकता नै नेपाल र नेपाली जनताको पहिचान र विशेषता रहेको र नेपाली जनताको राजनीतिक, सामाजिक र सांस्कृतिक अधिकारको प्रत्याभूत गर्ने वर्तमान संविधानले सबै धर्महरुको उत्तिकै सम्मान गरेको उल्लेख गरेका छन् ।

प्रचण्डले धार्मिक सहिष्णुताको चेतनाका लागि नेपाली समाज एक उदाहरणीय समाजका रुपमा गनिने भन्दै पुराना सोच, संरचना, मुल्य र मान्यतालाई व्यवहारतः विस्थापित गरि नयाँ सोच, मुल्य, मान्यता र संस्कृति अघि बढाउने चुनौती हामी सामु रहेको प्रचण्डले शुभकामना सन्देशमा ब्यक्त गरेका छन् ।

प्रचण्डले भनेका छन्, –‘समाजवादको आधार तयार गर्ने दिशा अनुरुप आफूलाई परिस्कृत गर्न आव्हान गर्दै यस पर्वका अवसरमा सम्पूर्ण नेपाली जनसमुदायमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्दछु ।’ 

प्रतिक्रिया दिनुहोस