प्रधानमन्त्री भोलि मात्रै फर्किने, सिंगापुर बसाई एक दिन फेरि लम्बियो

सफल खबर संवाददाता

आइतबार, २६ साउन २०७६, ११ : ०१
प्रधानमन्त्री भोलि मात्रै फर्किने, सिंगापुर बसाई एक दिन फेरि लम्बियो

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको सिंगापुर बसाई फेरि लम्बिएको छ । आज स्वदेश फर्किने कार्यतालिका बनाएका प्रधानमन्त्री ओलीको बसाई थप एक दिन लम्बिएको हो । अब उनी भोलि दिउँसो मात्र स्वदेश आईपुग्ने छन् ।

स्वास्थ्य उपचारका लागि गत साउन १८ मा ओली सिंगापुर प्रस्थान गरेका थिए । उपचारका क्रममा परिक्षण गरिएका मध्येका केही रिपोर्ट अझै आईनसकेका कारण आइतबार प्रधानमन्त्री फर्किने सचिवालयले जनाएको थियो ।

अब कार्यतालिका केही हेरफेर भएको प्रधानमन्त्रीको निजि सचिवालयले जनाएको छ । प्रधानमन्त्री सोमबार बिहान साढे १२ बजे मात्र स्वदेश आईपुग्ने प्रधानमन्त्रीको प्रेस संयोजक चेतन अधिकारीले बताए । ओलीको स्वदेश फर्किने कार्यक्रम एक पछि अर्काे गर्दै लम्बिन थालेपछि नेकपा सचिवालय बैठक समेत प्रभावित हुने सम्भावना बढेर गएको छ । नेकपाले २८ गते पार्टी सचिवालय बैठक बोलाएको थियो ।

प्रधानमन्त्री फर्केपछि महासचिव विष्णु पौडेलले तयार पारेको परिमाजिर्त प्रस्तावमा दुई अध्यक्ष बसेर छलफल गर्ने र २८ गते सचिवालय बैठक बस्ने बताईएको थियो । ओलीको सिंगापुर बसाई नै लम्बिन थालेपछि सचिवालय बैठक प्रभावित हुन सक्ने सम्भावना बढेर गएको नेकपाकै एक नेताले बताए । 

प्रतिक्रिया दिनुहोस