सुन बजार

जर्ती र ज्यालाको नाममा ठगिएका छन् उपभोक्ता

बुधबार, १७ माघ २०७४, ११ : ३०
जर्ती र ज्यालाको नाममा ठगिएका छन् उपभोक्ता

चितवन । भरतपुर महानगरपालिका वडा नम्बर चार निवासी इन्दिराले नारायणगढको शहीदचोकमा रहेको एक सुन पसलमा पुगेर डेढ तोलाको सुनको बेरुवा औँठी अर्डर गरिन् । पसल सञ्चालकले गहना लिन आइतबार आउनु भनेर पठाए । औँठी लिन आइतबार दिउँसो पसलमा पुगेकी उनी गहनाको बिल देखेर तीन छक्क परिन् । डेढ तोलाको औँठी किन्दा उनले दस प्रतिशत अर्थात् १५ लाल जर्तीको रकम थप तिर्नुपर्ने भयो । 
जर्ती धेरै भएको गुनासो गर्दा पसलेले ‘महँगो भए अर्डर क्यान्सिल गर्नुस्’ भनेपछि आफूले गहना नकिनेरै बजारबाट फर्किएको इन्दिराले बताइन् । ‘बुट्टा कुँदेको औँठीमा जर्ती धेरै जान्छ भनेर बेरुवा औँठी अर्डर गरेकी थिएँ’ उनले भनिन्, ‘पहिला तोलामा दुई लालजति जर्ती काटिने बेरुवा औँठीमा अहिले तोलामै दस लाल जर्ती कटाउन खोजेपछि गहना नै किनिनँ । यो त सरासरी ठगी हो ।’ बेरुवा औँठीमा पनि यति धेरै जर्ती कटाएर पैसा थप्नुपर्ने किन भनेर आफूले सोध्दा पसल सञ्चालकले सुनचाँदी व्यवसायी संघले निर्धारण गरेको बिक्री मूल्यभन्दा तोलामा तीन हजार रुपैयाँ बढी रकम तिरेर कालोबजारबाट सुन किन्नु परेकोले अहिले सुनका गहनामा १२ प्रतिशतसम्म जर्तीको रकम लिने गरिएको जवाफ दिएको उनले बताइन् । पसल सञ्चालकले ‘काँचो सुन ल्याउनुहोस्, म बिक्री मूल्यभन्दा तोलामा दुई हजार रुपैयाँ बढी तिरेर किन्छु’ भनेपछि आफूले केही नबोली फर्किएको उनले सुनाइन् । 


बजारमा सुन अभाव

बिहेको लगनको महिना भएकोले सुनको माग बढेपछि सुनको अभाव भएको छ । बजारमा माग अनुसार सुन उपलब्ध नहुँदा साना व्यवसायी पसल नै बन्द गर्नुपर्ने अवस्थामा पुगेका छन् । ठूला व्यवसायीले मौज्दात गहना बिक्री गर्दै आएका छन् । सुन अभावमा नयाँ गहना बनाउने अवस्था नरहेको पुतलीबजारका व्यवसायी छविलाल रामदामले बताए । ठूला व्यवसायीले चाहिएको बेला सुन नदिँदा आफूहरु मर्कामा परेको उनको भनाइ छ ।
नेपाल सुनचाँदी व्यवसायी संघ, चितवनका प्रथम उपाध्यक्ष टेकबहादुर विश्वकर्मा राष्ट्र बैंकले विदेशबाट नेपाल आयात गर्ने सुनको परिमाणले देशको माग धान्न नसकेकोले बजारमा सुन अभाव रहेको बताउँछन् । उनका अनुसार, देशको माग दैनिक ३० किलोभन्दा बढी रहेकोमा २० किलो सुन आयात हुने गरेको छ । चितवनको दैनिक माग दुई किलो सुन रहेको जानकारी दिँदै उनी भन्छन्, ‘हामीले काठमाडौँदेखि राष्ट्र बैंकले सुनको कारोवारका लागि स्वीकृति दिएका बैंकबाट कोटा अनुसार सुन खरिद गरेर जिल्लामा ल्याउनु पर्छ ।’ कोटा अनुसार चितवनमा हप्तामा दुई किलो सुन आइरहेको उनले बताए । 
यसरी सुन ल्याउन सुनचाँदी व्यवसायी जिल्ला संघले थोक व्यापारीलाई सिफारिस दिन्छ । जिल्लामा सुन भित्रिएपछि ती व्यापारीले साना व्यवसायीलाई सुन उपलब्ध गराउँछन् । साना व्यवसायीहरु पछिल्लोसमय थोक व्यापारीबाट सुन नपाएपछि नयाँ गहना बिक्री गर्न नसक्ने अवस्थामा पुगेको बताउँछन् । बैंकले साना व्यवसायीलाई सिधै सानो परिमाणमा सुन उपलब्ध गराउनु पर्ने उनीहरुको माग छ ।


सदाबहार कालोबजार
चितवनको बजारमा सुन अभाव भएपछि पहेँलो धातुको कालोबजार चुलिएको छ । सुनचाँदी व्यवसायी महासंघले दैनिक निर्धारण गर्ने सुनको बजारभाउभन्दा प्रतितोला तीन हजार रुपैयाँसम्म बढी लिएर कालोबजारी गर्ने व्यक्तिहरुले सुन व्यवसायीलाई सजिलै सुन उपलब्ध गराउँदै आएको सम्बद्ध व्यवसायीहरु नै बताउँछन् । जिल्लामा सुनको मागको तुलनामा आपूर्ति निकै कम भएकोले पनि कालो बजार फस्टाएको उनीहरुको भनाइ छ ।
दैनिक २० किलो सुन अवैध रुपमा कालोबजारियाले नेपालमा भित्र्याउने गरेको र त्यस्तो सुनको कारोवार चितवनमा हप्तामा पाँच किलोसम्म हुने गरेको नाम उल्लेख नगर्ने शर्तमा एक व्यवसायीले जानकारी दिए । अहिले सुन पसलमा काँचो ढिक्का सुन पाइँदैन, तर तोलामा तीन हजार रुपैयाँ बढी दिने हो भने गोप्य रुपमा कालोबजारी गर्ने व्यक्तिहरुले ५० तोलासम्म सुन दिनसक्ने ती व्यवसायीको भनाइ छ । यस्तो अवस्था त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवैधरुपमा आएको ३३ किलो सुन बरामद हुनुभन्दा अघिसम्म रहेको र अहिले परिमाण केही घटेपनि कालोबजार भने कायमै रहेको उनी बताउँछन् ।
चितवनको मुख्य बजार नारायणगढमा छिमेकी जिल्लाबाट समेत सुन खरिदका लागि उपभोक्ता र व्यवसायी आउने गर्छन् । नेपाल सुनचाँदी व्यवसायी संघ, चितवनमा आवद्ध करिब चार सय सुनचाँदी पसलमध्ये दुई सय ५० वटा नारायणगढमा, एक सय ३० वटा जिल्लाको पूर्वी क्षेत्रमा र २० वटा माडी क्षेत्रमा रहेका छन् । वैधानिक रुपमा चितवन भित्रिने सुन सबै व्यवसायीलाई बराबर भाग लगाउने हो भने एक जनाको भागमा दुई हप्तामा एक तोला सुन पर्न आउँछ । अहिले जिल्लामा सुनको माग धान्ने प्रमुख आधार नै कालो बजार बनेको छ । चितवनमा सुनको मागमध्ये ३० प्रतिशत कालोबजारले पूरा गर्दै आएको छ । सुनको कालोबजारमा हुने कारोबारबाट बर्सेनी करोडौँ रुपैयाँ राजश्व गुम्दै आएको छ ।


सुनमा घुन थरीथरीका
सुन खरिद गर्दा उपभोक्ता ठगिने पहिलो नम्बरको घुन जर्ती हो । सुनका गहना बनाउने क्रममा टुक्रिएर नास भई जाने सुनलाई जर्ती भनिन्छ । कति परिमाणको गहना बनाउँदा कति जर्ती जान्छ भन्ने वैज्ञानिक आधार केही नहुँदा व्यवसायीले आफैँ जर्ती तय गर्छन् । शिर, नाक, कान, घाँटी, नाडी र औँलामा लगाइने एक सय आठ प्रकारका गहनामा जर्ती कटाइन्छ । अहिले प्रचलनमा रहेका गहनामध्ये रानीहार, नेकलेस, मंगलसुत्र, चुरा, टप, तिलहरी, औँठी, झुम्का, कण्ठी, सिरफूल, बाला प्रमुख रहेका छन् ।
नेपाल सुनचाँदी व्यवसायी संघ, चितवन शाखाले पाँच वर्षअघि निर्धारण गरेको बिना रसायनका गरगहनाको जर्ती दस प्रतिशतसम्म रहेको छ । संघले सबैभन्दा कम फुली र मुन्द्रीमा पौने एक लाल र बढी रानीहारमा २२ लालसम्म जर्ती कायम गरेको छ । सुन खरिद गर्ने ग्राहकले गहनाको तौलमा जर्तीको रकम अलग्गै थप गर्नुपर्छ वा जर्ती कटाएर कम तौलको गहना लैजानुपर्छ । यो दुबै अवस्थामा ग्राहक ठगीमा पर्छन् ।

सुन किन्दा जर्तीको रकम बढी तिरेका ग्राहकले त्यही गहना बिक्री गर्दा पुनः जर्तीको भाग कटाएर व्यवसायीको खरिद मूल्यमा बेच्नुपर्छ । किन्दा छापावाल सुनको भाउमा किनेको गहना बिक्री गर्दा तेजाबी सुनको भाउ पर्छ । व्यवसायीले बिक्री गर्नेभन्दा खरिद गर्ने दर एक हजारदेखि दुई हजार रुपैयाँ सस्तो हुन्छ । त्यसमाथि छापावाल र तेजावी सुनको भाउको अन्तर एकदेखि दुई हजार रुपैयाँ हुन्छ । यो दरपछि ज्याला र जर्ती कटाउँदा गहना खरिदको मूल्यभन्दा बिक्री गर्दाको मूल्यमा करीब २० प्रतिशतले कमि आउँछ । यो हिसाबले एउटा गहना पाँच पटक किनबेच गर्दा सिङ्गो गहना गायब हुन्छ ।

सुनमा भेटिने अर्को घुन हो, रसायन । सुनका गहना बनाउने क्रममा सुनका टुक्रा जोड्न प्रयोग गरिने रसायनले एकातिर गहनाको तौल बढाएको हुन्छ भने अर्कोतिर सुनको शुद्धता कायम रहँदैन । सुनमा २४ क्यारेट भनेपछि ९९ दसमलव पाँच प्रतिशत शुद्धता हुनुपर्नेमा राजधानीकै ठूला र नाम चलेका सुन पसलमा ९७ दसमलव दुई प्रतिशत शुद्धता पाइएपछि राजधानीबाहिर सुनको शुद्धता कस्तो होला, सहजै अनुमान गर्न सकिन्छ । सुनमा मिसिने रसायनले सुनको शुद्धता घटाउने र तौल बढाउने काम गर्छ । यस्तो सुनका गहना बिक्री गर्दा पुनः जर्ती र रसायनका नाममा रकम कटाइन्छ । यसरी सुन खरिद गर्ने ग्राहक सुन किन्दा र बिक्री गर्दा दुबै पटक मर्कामा पर्छन् । सुन व्यवसायीहरु नेपाल आयात हुने छापावाल सुनमा नै २४ क्यारेटको शुद्धता नभएको दाबी गर्छन् ।

प्रतिक्रिया दिनुहोस