Safal Khabar - अभियन्ता कमल देवकोटा : जसले चलाए सर्प बचाउने र प्रकृति जोगाउने अभियान
आइतबार, ०१ भदौ २०७६ (Sunday, 18 August, 2019)
अभियन्ता कमल देवकोटा : जसले चलाए सर्प बचाउने र प्रकृति जोगाउने अभियान
शनिबार, २५ साउन २०७६, १२ : ००
अभियन्ता कमल देवकोटा : जसले चलाए सर्प बचाउने र प्रकृति जोगाउने अभियान

भनिन्छ, आगो र सर्प उस्तै हुन् । जुन हामीलाई नभई हुँदैनन् । गलत ढंगले चलाउँदा आगोले पोल्छ भने सर्पले टोक्छ । सर्प देख्नसाथ हामी डराउँछौँ, तर डराउने र आत्तिने काम गलत हो । अझै पनि समाजमा सर्प देख्नसाथ यसले हामीलाई टोक्छ, यसलाई मारिहाल्नुपर्छ भन्ने सोचाइ छ । 
वास्तवमा सबै सर्प विषालु हुँदैनन् । नेपालमा हालसम्म फेला परेका ८० प्रजातिका सर्पमध्ये १८ प्रजातिका सर्पमात्र विषालु छन् । गोमन, करेत, मुगा सर्प र रतलेस फाइपर चार प्रकृतिका सर्पहरू अति विषालु हुन्छन् ।

संसारभरि चार हजारभन्दा बढी प्रजातिका सर्पहरू पाइन्छन् । जसमध्ये ६ सय प्रजातिका सर्प मात्रै विषालु हुन्छन । अहिलेसम्म कुनै पनि शाकाहारी सर्प छैनन् । यिनीहरूले अरू जीवजन्तुलाई जिउँदै मारेर खाने गर्छन् । त्यसैले प्रकृतिको कुचीकारको रुपमा पनि सर्पलाई लिइन्छ । मानव जीवनको लागि सर्प अत्यन्तै हितकारी जीव हो ।

सर्पको विषयमा लामो अध्ययन गरी प्राणीशास्त्रमा मास्टर गरेका र हाल सर्प बचाउ अभियानमा निरन्तर लागेका रुपन्देही बुटवल १० का कमल देवकोटासँग गरिएको कुराकानीमा आधारित रहेर सफल खबरले बनाएको फिचर सामग्री उनकै शव्दमा : 

१० वर्षदेखि सर्प बचाउमा 
म विगत दश वर्षदेखि सर्प, सर्पदंशा र सर्प संरक्षणसम्बन्धी अध्ययन अनुसन्धान तथा जनेचतना कार्यक्रममा लागिरहेको छु । म ‘सेभ द स्नेक’, नेपाल प्रोजेक्ट म्यानेजर तथा अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघको सर्प विशेषज्ञ समूहका नेपाल सदस्य पनि हुँ । 

आम मानिसले सर्पको फाइदाबारे बुझेका छैनन् । तराईतिर त विषालु सर्प हुन्छन् । जसको टोकाइबाट मानिसको मृत्यु हुन्छ । त्यसैले विषालु सर्पभन्दा विषालु नभएका सर्प बढी हुन्छन् । मानिसहरु विषालु वा होइन नबुझी सर्प देख्नसाथ मारिरहेका छन् । जसले गर्दा हाम्रो पर्यावरणमा गम्भीर असर परिरहेको छ । मानिस र सर्पबीचको द्वन्द्व बढिरहेको छ । द्वन्द्व न्यूनीकरण र तथा पर्यावरणमा परेको असरलाई कम गर्न म सर्प बचाउमा अभियान नै सञ्चालन गरेर लागिरहेको छु । 

सन् २०१३ देखि प्रकृतिलाई बचाइराख्न सर्प बचाउनुपर्छ भन्ने मनैदेखि रूचि जाग्यो । मैले प्राणी शास्त्र अध्ययन गरेकाले प्रकृतिका प्राणीले वातावरण सन्तुलन राख्न ठूलो महत्व राखेका हुन्छन् भन्ने राम्रोसँग बुझेँ । त्यसपछि सर्पको बारेमा शोधपत्र तयार गरेँ । त्यसपछि त मलाई सर्प प्रकृतिको लागि अति आवश्यक प्राणी रहेछ, यसको बढ्दो नासलाई रोक्नुपर्छ भन्ने सोचाइ आयो र सर्प बचाउ अभियानमा लागिरहेको छु ।

सर्प बचाउ अभियानको काम  
सर्प बचाउ अभियानमा लागेको २०१६ बाट हो । २०१६ देखि ‘रफड फाउण्डेसनको आर्थिक सहयोगमा रुपन्देहीमा सर्प बचाउ अभियान सुुरू गरे त्यसपछि अभियानले विस्तार हुने अवसर पायो । हाम्रो एउटा समूह नै सर्प बचाउ अभियानमा लागेको छ । 

पश्चिमाञ्चल विकास क्षेत्रमा सर्पबाट प्रभावति रुपदेही, नवलपरासी, कपिलवस्तु पाल्पा, सर्पदंशबाट बढी प्रभावित भएको हुनाले १० वटा हस्पिटलमा गएर अध्ययन गरी जनचतेना कार्यक्रमहरु चलाइयो ।  रूपन्देहीकै देवदहमा सर्पसम्बन्धी सर्भे गरेर आम मानिसहरूको सर्पसम्बन्धी धारणा लिएँ । चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रको गाउँमा पनि सर्वेक्षण गर्न पुगेको छु । डा देवप्रसाद पाण्डेको पीएचडीको असिस्टेन्टको रुपमा मैले काम गर्ने मौका पाएको थिएँ । 

तराईका अन्य जिल्लाहरू सर्लाही, सिन्धुली, कपिलवस्तु, धनुषा, महोत्तरीमा सर्प बचाउका चेतनामूलक कार्यक्रमहरु गर्दै हिँडे । जहाँ सर्पहरू बढी देखिने र मानिसहरूलाई टोक्ने क्षेत्रहरू पर्थे । त्यही क्षेत्रमा अभियानहरु चलाउँदै अघि बढें । 
रूपन्देही, नवलपुर, नवलपरासी, पाल्पा, चितवन, कपिलवस्तुलगायतका १०० भन्दा बढी संस्थागत र सामुदायिक विद्यालयमा पुगेर सर्पबारे सामान्य (बेसिक) ज्ञान, धारणा र प्रयोग र अनुसन्धान गरेर जनचेतनामूलक कार्यक्रम गरिसकेको छु । 

त्यस्तै प्रकृति बचाउन सर्पलाई बचाउनुपर्छ मार्ने होइन भनेर घरभित्र, विद्यालयभित्र र अन्य कार्यालयमा प्रवेश गरेर सर्प समात्ने र जंगलमा लगेर छाड्ने तालिमहरु दिएको छु । सयौँ सर्पहरु जंगलमा लगेर छोड्ने काम पनि हाम्रो अभियानको टोलीले गरिरहेको छ । सर्पको आनीबानी कस्तो हुन्छ ? कस्तो ठाउँमा बस्छ ? आफ्नो आहाराका लागि कुन बेला जमिनबाट बाहिर निस्किन्छ ? भन्ने सबै जानकारी गराउँदै धेरै गाउँहरूमा पनि सचेतना जगाएँ ।

नेपाल टक्सिनोलोजी एसोसिएसन गठन 
सन् २०१७ मा नवलपुरको कावासोतीमा ‘नेपाल टेक्सिनोलोजी एशोसिएसन’ नामको एक संस्था स्थापना भएको छ । त्यसमा मलगायत ११ जनाको टिम छ । यो टिमले सर्प बचाउका कार्यक्रमहरु गरिरहेको छ । ‘सर्प बचाऊ प्रकृति जोगाऊ’ अभियानमा यो समूह लागेको छ ।  

सर्प बचाउनुपर्छ र यसको माध्यमबाट प्रकृति जोगाउनुपर्छ भन्ने उद्देश्यले हाम्रो समूह अभियानमा जुटेका हो । एसोसिएसनले डाक्टरसहितको टीमले सर्पको टोकाइपछि उपचार कसरी गर्ने, सर्प कसरी समान्ने र जंगलमा कसरी लगेर छाड्नेलगायतका कार्यक्रम गरिरहेको छ । 

एसोसिएसनले हालसम्म १०० सय भन्दा बढी गोमन, करेत, धानी, अजिगंर, पानी साँप, रतेलस फाइपर, हर्यौँलगायतका विषालु र विष नलाग्ने सर्पहरू छोपेर जंगलमा छोडेको छ । तराईका २६ जिल्ला सर्पबाट अति बढी प्रभावित छ । नेपालका पहाडी, हिमाली जिल्लामा कम प्रभावित छ । अति प्रभावित क्षेत्रमा हामीले सर्पबारे जनचेतना कार्यक्रम गरेका छौँ । 

सर्पका विशेषता
सर्पले आत्मरक्षाको लागि टोक्ने हो । सर्पका जातमध्ये करेत रातिमा एक्टिभ हुन्छ । त्यसैले रातको समयमा करेतबाट जोगिनु आवश्यक छ । यसले राति आहारा खोज्दै हिड्छ । करेत सीधा आएर टोक्दैन । यसलाई चलाइयो वा छुन गइयो भने यसले टोक्छ । गोमनको आक्रमण अलि बढी हुन्छ । रतेलस फाइपर चितवन नवलपरासीमा पनि छ । यो पनि विषालु सर्प नै हो । विषालु सर्पले टोकेमा मानिस कति समय बाँच्छ भन्ने टोकाइमा भर पर्छ, कहाँ टोक्यो, कति विष झारेको छ त्यसमा पनि भर पर्छ । 

जब मानिस झुक्किएर वा जनाजान सर्पलाई चलाउन खोज्छ तब सर्पले आफ्नो प्रतिरक्षा गर्न खोज्दा टोक्न पुग्छ । सर्पलाई समात्न खोज्दा, जिस्काउदा वा मार्न खोज्दा प्रायजसो सर्पदंशको घटना हुन पुग्दछ । सर्पले मानिसलाई टोक्छु भनेर कुरेर बस्दैन । सर्पहरू मानिसलाई देख्दा त सकेसम्म भाग्नै खोज्छन् ।

विषालु सर्पले टोकेमा 
विश्वमा सबैभन्दा विषालु मानिएको राजगोमन नेपालमा पनि पाइन्छ । नेपालमा वार्षिक दुई हजार मानिसलाई सर्पले टोक्छ । जसमेध्ये १ हजारको मृत्यु हुने विभिन्न तथ्याङले देखाउँछ । सर्पले टोकेको बेलामा समय खेर फाल्नु हुँदैन । सर्पलाई समात्ने वा चलाउने गर्नुहुँदैन । विषालु सर्पले टोकेको ठाउँ काट्ने जलाउने वा चुस्ने गर्नुहँदैन । सर्पले टोकेपछि रक्सी पिउनुहुँदैन । खुर्सानी पनि खानुहुँदैन ।  

नरम कपडाले सर्प टोकेको ठाउँमाथि बाँध्न मिल्छ तर रसीले कसेर बाँध्नुहुँदैन । आत्तिनु हुँदैन । टोकेको भागलाई नहल्लाइकन जतिसक्दो उपचारको लागि अस्पताल जानुपर्छ ।  

सर्प बचाउँदा 
हामी सर्प देख्नसाथ लौरी लिएर मार्न जान्छौँ । त्यो सर्प विषालु हो वा होइन भन्ने भेउ नै नपाइ मार्ने प्रचलन समाजमा बढी छ । सर्पको फाइदा कमले बुझेका छन् । सर्पले पर्यावरण चक्रलाई सन्तुलित बनाउन महत्वपूर्ण भूमिका खेल्छ । मान्छेको ज्यान जोगाउने महत्वपूर्ण औषधिहरू पनि सर्पको विषबाट बन्छन् ।

सर्पका कारण प्रकृतिलाई फाइदा छ, त्यो भनेको मानिसलाई पनि फाइदा हो । प्रकृतिमा चाहिनेभन्दा बढी हुने कतिपय जीवजन्तुको संख्या घटाउन सर्पले भूमिका खेल्छन् । उदाहरणका लागि मानिसहरूले बारीमा लगाएको अन्न वा घरमा भण्डारण गरेको अन्न वा फलफूलको ठूलो भाग नाश गर्ने मुसा सर्पले नै खान्छ । 

वैज्ञानिकहरूले ५० प्रतिशतसम्म अन्न मुसाका कारण नष्ट हुने आकलन गरेका छन् । एक वर्षमा एक जोडी मुसाबाट १५ सय मुसा जन्मिन्छन् । मुसा मार्ने सर्पलाई मारेर हामीले आफैँलाई नोक्शान गरिरहेका छौँ । धेरै सर्पको मुख्य आहारा मुसा हो । दुलोबाहिर रहेका मुसालाई मानिसले मार्न सक्लान् तर सर्पले दुलोभित्र पसेर खोजी खोजी मुसाहरू मार्छ । सर्प पनि पारिस्थितिक पद्धतिको एउटा अभिन्न अंग हो । सर्पले ससाना किराफ्टयाङग्रा माछा, भ्यागुता, छेपारो, चरा र स्तनधारी आहार खान्छ ।

सर्पले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा वातावरण र जीवजन्तुहरूलाई फाइदा पुर्याउँछ । सर्पले प्राकृतिक तरिकाले नै यी मुसा र कीराफ्टयाङग्रा खाइदिएर एकातिर किसानहरुको उत्पादन बढाइरहने र वातावरण जोगाउन पनि सर्पले ठूलो मद्दत गर्छ । आफ्ना घर भित्र वा वाहिर वरपर कतै अचानक सर्प देखिएमा त्यसलाई मार्न हुँदैन । आफूलाई डर लाग्छ भने बरु घरबाट बाहिर धपाउन सकिन्छ । सर्पलाई नचलाए टोक्न आउँदैन ।

बढ्दो सहरीकरण औद्योगिककरण र वन विनाशले अन्य जीवजन्तुहरुका साथै सर्पको पनि बासस्थानमा असर परेकोले मानिस र सर्पबीच द्वन्द्व बढिरहेको हुनाले सर्प बचाउन जरुरी छ । 

प्रतिक्रिया दिनुहोस