धार्मिक क्षेत्रको विकास हेर्न देवघाट आउँदा हुन्छ : सांसद किसानकुमार श्रेष्ठ

सफल खबर संवाददाता

विहीबार, १६ साउन २०७६, १२ : ५१
धार्मिक क्षेत्रको विकास हेर्न देवघाट आउँदा हुन्छ : सांसद किसानकुमार श्रेष्ठ

चितवन । प्रतिनिधि सभाका सांसद किसानकुमार श्रेष्ठले धार्मिक क्षेत्रको विकास हेर्न देवघाट नगरपालिका आउँदा थाहा हुने बताउनु भएको छ । 

देवघाट गाउँपालिकाको चालू आव २०७६ ७७ को नीति कार्यक्रम तथा बजेट स्वीकृत कार्यक्रममा सांसद श्रेष्ठले नेकपा सरकार देश विकासमा होमिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘देवघाटको विकास हेर्दा पनि छर्लङ्ग हुने छ ।’  कार्यक्रममा देवघाट गाउँपालिकाले यस आवका लागि जम्मा ३२ करोड ५५ लाख ३९ हजार रूपैयाँ बजेट स्वीकृत गरेको छ ।
गाउँपालिकाले बुधबार नीति कार्यक्रम तथा बजेट सार्वजनिक गर्दै संघीय सरकारबाट २० करोड १७ लाख रूपैयाँ, गण्डकी प्रदेश सरकारबाट दुई करोड ७१ लाख १४ हजार रूपैयाँ र आन्तरिक स्रोतबाट नौ करोड ६७ लाख २५ हजार रूपैयाँ प्राप्त भएको जनाएको हो ।

गाउँपालिकाले पूर्वाधार, सामाजिक र आर्थिक विकासलाई उच्च प्राथमिकता दिएको अध्यक्ष दुर्गाबहादुर थापाले बताउनुभयो । पूर्वाधारभित्र पनि सडक विस्तारलाई मुख्य प्राथमिकता दिइएको उहाँले बताउनुभयो। 
भौगोलिक बनावटका हिसाबले देवघाट पछाडि रहेकाले सडक सञ्जालमार्फत समृद्ध बनाउने उद्देश्यले सडक पूर्वाधारमा बढी बजेट छुट्याइएको उहाँले बताउनुभयो । सडक तथा पुल निर्माणमा एक करोड ५८ लाख ३० हजार रूपैयाँ विनियोजन गरिएको छ ।

गाउँपालिकाले बहुवर्षीय योजनाहरुमा १९ वटा योजना छनोट गरेको छ । बहुवर्षीय योजनामा रंगशाला, घण्टाचुली भ्यू–टावर, देवघाट एकीकृत योजना, बाख्रा, तरकारी तथा सुन्तला पकेट क्षेत्र र पशुपक्षी विकास फर्मलगायत परेका छन् ।

कृषि तथा पशु विकासतर्फ वडा नं १ देखि ५ सम्मलाई तरकारी पकेट क्षेत्र घोषणा गरिने गाउँपालिकाका अध्यक्ष थापाले जानकारी दिनुभयो । गण्डकी प्रदेश सरकारबाट सात योजना स्वीकृत भएका छन् ।

प्रदेशले सबैभन्दा बढी तीन करोड ५० लाख रूपैयाँको दासढुंगा–गाउँपालिका केन्द्र जोड्ने देउपुर मार्ग योजना स्वीकृत गरेको थापाले बताए । त्यस्तै, ३र३ वटा खानेपानी आयोजना र सिंचाइ योजना पनि स्वीकृत भएको उहाँले बताउनुभयो । बाख्रा पकेट कार्यक्रमका लागि २४ लाख रूपैयाँ विनियोजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस