कांग्रेस नेता किन छिरिरहेछन् भारतीय दुतावास ?

सफल खबर संवाददाता

विहीबार, १६ साउन २०७६, ०७ : ३७
कांग्रेस नेता किन छिरिरहेछन् भारतीय दुतावास ?

काठमाडौं । अचेल भारतीय राजदुतावासमा सधैजसो भब्य भोज हुन थालेको छ । नेपालका लागि भारतीय राजदुत मञ्जिव सिंह पुरीको निम्तोमा भोज खान कहिले देशका प्रतिष्ठित सञ्चारकर्मीहरु पुग्छन्, त कहिले महिला सांसदहरु, कहिले प्रमुख राजनीतिक दलका मुख्य नेताहरु नै लर्काे लागेर पुग्ने गरेका छन् ।

१४ साउनमा मात्रै पनि नेपाली कांग्रेसका महामन्त्री डा. शसांक कोइराला नेतृत्वको एउटा टोली दुतावासै छिरेर राजदुतको निम्तो स्वीकारेका छन् । त्यसको १० दिन अगाडी मात्रै कांग्रेसका पार्टी सभापति शेरवहादुर देउवा नै राती भारतीय राजदुतावास छिरेर रअ प्रमुख सामन्त गोयलसँग लामो भेटवार्ता गरेको चर्चा सेलाएको थिएन ।

पूर्व प्रधानमन्त्री प्रचण्ड परिवारसहित यूएई गएकै दिन कांग्रेस महामन्त्री डा शसांक, कोषाध्यक्ष सीतादेवी यादव, पूर्व परराष्ट्रमन्त्री समेत रहेकी कांग्रेस नेतृ सुजाता कोइराला, नेताहरु मिनेन्द्र रिजाल लगायत कांग्रेस नेताहरु भारतीय दुतावास छिरे । गोप्य रुपमा भारतीय राजदुत पुरीको निम्तो स्वीकारे र मेजमानीका साथ खाना खाए अनि देशको राजनीतिक घटनाक्रमका बारेमा जमेरै कुराकानी गरे ।
महामन्त्री डा शसांक लगायतले यो रात्री भोजलाई गोप्य राख्न चाहेपनि यो कुरा त्यतिबेला सार्वजनिक भईदियो, उनीसँगै भोजमा पुगेकी आफ्नै परिवारकी नेतृ सुजाताले सामाजिक सन्जाल फेसबुकमै फोटो सार्वजनिक गरिदिइन् ।

सुजाताले फोटो सार्वजनिक गरेपछि नै कांग्रेस नेताहरु हुल बाँधेर दुतावास छिरेको खुलेको हो । तर पनि भोजमा सहभागी कांग्रेसका एक नेताले पहिले उक्त कुरा स्वीकार गर्न चाहेका थिएनन् ।

तपाईकै नेतृले फोटो सार्वजनिक गरेका छन त ? भनेपछि मात्र ति नेताले सफलखबरसँग भने, – ‘महामहिम राजदुतले डिनरका लागि निम्तो गर्नुभयो, अघिपछि अरु पनि गईरहेका थिए, हामी पनि गयौं ।’

गोप्य रुपमा नेपाल भ्रमणमा आएर प्रधानमन्त्री देखि नेपालका राजनीतिक दलका प्रमुखहरुसँग भेटघाट गरेर गत साता मात्रै रअ प्रमुख सामन्त गोयल स्वदेश फर्केका थिए । गोयलको भ्रमणको उदेश्य अझै पनि गोप्य नै छ । उनी किन आए, क–कसलाई भेटे र भेटमा के कुरा भए भन्ने कुरा न भेटेका नेताहरुले खुलाएका छन, न त भेट्ने पक्षले नै । जसकाकारण पनि गोयलको भ्रमण रहस्यमय बनिरहेका बेला प्रतिपक्षी कांग्रेसका जिम्मेवार नेताहरु नै हुल बाधेर दुतावास छिरेपछि फेरि नेपालमा नयाँ तरंग गएको छ ।

त्यसो त रअ प्रमुख गोयलसँग साउन ६ गते बेलुकी ७ देखि १० बजेसम्म तीन घण्टा कांग्रेस सभापति शेरबहादुर देउवाले लैनचौरस्थित दुतावास नै पुगेर गोप्य भेट गरेका थिए । त्यसपछि फेरि राजदुतकै निम्तोमा कांग्रेस महामन्त्री डा शसांक लगायत नेताहरु दुतावास छिरेका थिए ।

डा शसांकहरु १४ साउनमा साझ ५ बजे दुतावास छिरेका थिए । राजदुतसँगै बसेर डिनर खाएका उनीहरुले दुतावास भित्रै झण्डै ५ घण्टा बिताएर फर्केका थिए । ‘डिनर खान पुगेकै थाहा पाइहाल्नु भयो भने अब लुकाउनु के छ र ?’ ति नेताले भने, –‘डिनर नै खान गएपछि र लामो समय नै दुतावासमै बसेपछि राजनीतिक कुराकानी पनि हुने नै भईहाल्यो । सामान्य राजनीतिक कुराकानी पनि भए ।’

नेपालको राजनीतिमा सधैजसो हस्तक्षेपकारी नीति अबलम्वन गर्न खोज्ने भारतीय नीति नयाँ होइन । उसले पहिल्यै देखि नेपालमा हस्तक्षेप गदै आईरहेको छ । नाकाबन्दी यता केही कम भएको हस्तक्षेप केही कम फेरि बढ्ने क्रममा रहेको देखिन्छ ।

भारतीय पक्षलाई नेपाल चीन तिर ढल्किएको भान परिरहेको छ । त्यही कारण पनि उसले नेपालका नेताहरुलाई दुतावासमै भित्राएर भोज दिने, राजनीति बुझने र त्यो अनुसारको नेपाल नीति बनाउने रणनीति अख्तियार गर्न थालेको छ ।

पछिल्ला दिनमा संसदमा बढ्दो विरोध र सरकारको कामकारबाहीलाई लिएर जनअसन्तुष्टि चुलिँदै गएको सन्दर्भमा दुतावासमा कांग्रेस नेताहरुले पाउन थालेको महत्व अर्थपूर्ण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस