जवानीमा जीवन किन वैरी देख्दैछन् ?

सफल खबर संवाददाता

बुधबार, १५ साउन २०७६, १७ : ४६
जवानीमा जीवन किन वैरी देख्दैछन् ?

चितवन । मानिसलाई सबैभन्दा बढी डर सम्भवतः मृत्युसँग हुन्छ । मृत्युबाट बच्न मानिस के गर्न तयार हुँदैन ?

तर, कोही मानिस जीवनसँग यति धेरै विरक्त हुन्छन् कि उनीहरुले जानीजानी मृत्युलाई अंगाल्न पुग्छन् । उनीहरु बाँच्नुमा भन्दा मर्नुमा कल्याण देख्छन् । कतिले जवानीमै जीवनलाई वैरी ठान्छन्, कतिले बाल्यअवस्थामै त कतिले वृद्ध अवस्थामा जीवनलाई वैरी देख्छन्, र आफैँ आफ्नो प्राणपखेरु उडाउँछन् । 

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार २०७५\७६ मा चितवनमा १५९ जनाले आत्महत्या गरेका छन् । जसमा ७८ पुरुष, ४४ महिला, ४ बालक र ९ जना बालिका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी एकनारायण कोइरालाले १६ वर्ष मुनिका मात्र चितवनमा ८ जनाले आत्महत्या गरेका छन् । 

चितवनमा १६ देखि २५ वर्षभित्रका ४७ जना, २६ देखि ३५ वर्षका ३१ जना, ३६ देखि ४५ वर्षका २६ जना, ४६ देखि ६० वर्षका २६ जना, ६० वर्ष माथिका २१ जनाले आत्महत्याको बाटो रोजेका छन् । २०७५\७६ मा सबैभन्दा बढी १३५ जना झुन्डिएर आत्महत्या गर्ने छन् । विष सेवनबाट २२ जना, हामफालेर १ जना, हतियारको प्रयोग गरी एकजनाले आत्महत्या गरेका छन् । 

प्रवक्ता कोइरालाका अनुसार पारिवारिक कलहबाट १९ जना, प्रेममा धोका खाएर ३५ जना, आवेशका कारण ९ जना, गरिबीका कारण ८ जना, व्यवसायिक तनावका कारण २ जना, दीर्घ रोगबाट १३ जना, असफलता भएर १ जना परिवार अपहेलितबाट २१ जना, नैरास्यताबाट ४८ जना, असक्तबाट ३ जनाले आत्महत्याको बाटो अँगालेका छन् । 

०७५\७६ कोे जेठमा सबैभन्दा बढी ३१ जनाले आत्महत्या गरेका छन् । साउन महिनामा ९, भदौमा १५, असोजमा १४, कार्तिकमा १३, मंसिरमा १२, पुसमा १३, माघमा ५, फागुनमा १४, चैतमा ८, वैशाखमा १२ र असारमा १३ जनाले आत्महत्या गरेका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

समयको हिसाबमा हेर्ने हो भने सबैभन्दा बढी बिहान ६ बजेदेखि १२ बजेसम्मको अवधिमा ५५ जनाले आत्महत्या गरेका छन् । सबैभन्दा कम शनिबार १८ जना र बढी बिहीबार २९ जनाले आत्महत्या गरेको पाइएको चितवन प्रहरीले जनाएको छ । आइतबार २२, सोमबार २०, मंगलबार २५, बुधबार २६ र शुक्रबार १९ जनाले आत्महत्या गरेका चितवन प्रहरीले जनाएको छ । 

विगतमा आत्महत्या 
चितवनमा गत आर्थिक वर्ष ०७४\७५ मा १३९ जनाले आत्महत्या गरेका थिए । जसमा झन्डिएर १०० जना, विष सेवनबाट ३६ जना, हामफालेर तीन जनाले आत्महत्या गरेका छन् । २०७३\७४ मा १४६ जनाले आत्महत्या गरेका छन्, जसमा झुन्डिएर १११, विष सेवनबाट ३०, हामफालेर ५ र औजार प्रयोग गरेर एक जनाले आत्महत्या गरेका छन् । 
आर्थिक वर्ष ०७२ साउन देखि ०७३ असारसम्ममा १२६ जनाले आत्महत्या गरेका छन् । ८५ जनाले झुण्डिएर, ३७ जनाले विष सेवन गरेर, तीन जनाले हामफालेर तथा एक जनाले करेन्ट लगाएर आत्महत्या गरेका छन् । 

केके छन् कारण ?
‘आत्महत्याको संख्या क्रमशः बढ्दै आएको छ’ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एकनारायण कोइरालाले भने, ‘आर्थिक सामाजिक र मानसिक कारणले मानिसहरु आत्महत्याको बाटो अवलम्बन गरेका छन् ।’ नेपालमा हरेक दिन एकजनाले आत्महत्या गरेको तथ्यांक छ । आत्महत्या गर्नुको मुख्य कारण भने सबैको समान देखिँदैन । अनुसन्धानले ९० प्रतिशतभन्दा बढी आत्महत्याको प्रमुख कारण मनोरोग देखाएको छ । 

पुरानो मेडिकल कलेजका मनोचिकित्सक डा रिजु निरौलाले डिप्रेसन, पर्सनालिटी डिसअर्डर, व्यक्तिगत समस्यालगायतका कारणले मानिसले आत्महत्या गर्ने बताए । ‘धेरै मानिसहरु बिरामीका कारणले आत्महत्या गर्छन्, जीवनदेखि निराश भएर गर्छन्, आफ्नो भन्ने अब कोही छैन भन्ने सोचाइले आत्महत्या गर्छन्’ उनले भने, ‘मेरो समस्याको अब कुनै पनि समाधान छैन, म हरेक रुपमा फेल भएको छु, बाँचेर केही गर्नु छैन, बाँचेर पो के भयो र ? यस्ता नकारात्मक सोचाइले मानिसहरु आत्महत्या गर्न पुग्छन् ।’ 

उनका अनुसार लागूऔषध सेवनले पनि मानिसहरुलाई आत्महत्यासम्म पु¥याउँछ । समाजमा मानसिक रोगी प्रतिको समाजमा रहेको गलत धारणाका कारणले गर्दा पनि आत्महत्याका घटनाहरु बढेको देखिन्छ । बालबालिकाहरु परिवारबाट पाउनुपर्ने माया नपाएर पनि आत्महत्या गरिरहेका छन् । 

विश्व स्वास्थ्य संगठनले प्रकाशित गरेको तथ्यांकअनुसार ३५ वर्षभन्दा मुनिका मानिसले सबैभन्दा बढी आत्महत्या गर्ने गरेका छन् र यो क्रम बढ्दो छ । आफूले भेटेको मायामा पूर्ण समर्पित हुँदा कुनै कारणवश सम्बन्ध टुटेमा आत्महत्या गर्ने गरेको पाइन्छ । ब्रेकअपलाई सहज रूपमा लिन नसक्दा कतिपयले आत्महत्याको बाटो रोजेका छन् । 
भविष्यमा के गर्ने ? कुन बाटो हिँड्ने ? भनेर निर्णय गर्न नसक्दा पनि किशोरकिशोरीले आत्महत्या गरेका मनोचिकित्सकहरु बताउँछन् ।

विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार बर्से्नि करिब १० लाख मानिसले आत्महत्या गर्छन् । हरेक तीन सेकेन्डमा एक आत्महत्याको प्रयास र ४० सेकेन्डमा एकको मृत्यु हुने गरेको पाइन्छ । 

किशोरकिशोरीलाई काउन्सिलिङ 
किशोर–किशोरीले समस्याको समाधानका रूपमा आत्महत्यालाई लिने गरेको छन् । ‘कुनै कुरामा अचानक तनाव हुँदा उनीहरू निर्णय गर्न सक्दैनन् र आत्महत्याको प्रयास गर्छन,’ नारायणी नमुना माविकी स्कुल नर्स सन्जु तिमिल्सिनाले भनिन् । 

उनका अनुसार आवेशमा आएर गरिने धेरैजसो आत्महत्या असफल हुन्छन्। यसलाई मेडिकल भाषामा ‘प्यारा सुसाइड’ भनिन्छ ।  प्यारा सुसाइड प्रयास गर्नेलाई काउन्सिलिङ आवश्यक पर्छ ।’ एक पटक आवेशमा आएर आत्महत्याको प्रयास गरेका किशोर–किशोरीमा पुनः यस्तै जोखिम हुने उनले बताइन् ।

‘एक पटक आवेशमा आत्महत्या गर्नेहरूमा प्रयास असफल भएपछि पनि मर्छु भन्ने भावनाको विकास भइसकेको हुन्छ,’ उनले भनिन्, ‘यसकारण भविष्यमा पनि यसको जोखिम रहन्छ ।’ एक पटक आत्महत्या प्रयास गरिसकेकालाई राम्रोसँग बुझ्न नसक्दा तथा राम्रोसँग नियमित काउन्सिलिङ हुन नसक्दा भविष्यमा फेरि त्यही बाटो समाउन सक्ने सम्भावना हुने उनले बताइन् । 

सामान्यतया आत्महत्याको अर्थ आफैँले आफूलाई मार्नु भन्ने आम बुझाइ छ । आत्महत्या यतिमा मात्र सीमित नरहेको मनोविद्हरु बताउँछन् । मनोविद्का अनुसार कसैले आत्महत्याको प्रयास गर्नुको अर्थ ‘मलाई बचाऊ’ भनेर सहयोग माग्नु हो । विभिन्न कारणले आफूमा भएको कुण्ठालाई पोख्न नपाउँदा उत्पन्न हुने तनावको कारण उनीहरू आत्महत्या रोज्छन् । मृत्यु नहुँदासम्म पनि उसमा बाँच्ने आश रहिरहन्छ। यो बेला उसलाई परिवार, समाज र आफन्तको सहयोग आवश्यक हुन्छ ।
आत्महत्यासम्बन्धी केही अन्धविश्वास 
अन्धविश्वास : साँच्चै आत्महत्या गर्नेले त्यसको कुरा गर्दैनन् । 
यथार्थ :  हरेक प्रयासअगाडि केही संकेत कुनै न कुनै रूपमा व्यक्त गर्छन् । 
अन्धविश्वास : दृढ संकल्प गरिसकेकालाई आत्महत्याबाट कसैले रोक्न सक्दैन । 
यथार्थ  : उचित ध्यान पु¥याएर उपचार गरेमा अधिकांश आत्महत्या रोक्न सकिन्छ । 
अन्धविश्वास  :  आत्महत्यासम्बन्धी कुराकानी, सोधपुछले व्यक्तिमा आत्महत्या गर्ने सोच बढाउँछ । 
यथार्थ  : कुराकानी, सोधपुछ र उचित मनोपरामर्शले स्थिति बुझ्न र रोकथामको बाटो पहिल्याउन मद्दत गर्छ । 

आत्महत्याको जोखिमका चिन्ह 
–आत्महत्याबारे कुराकानी गर्नु, इच्छा व्यक्त गर्नु, योजना बनाउनु 
–सधैँ मृत्युबारे सोचिरहनु, मर्ने उपायबारे जानकारी खोज्नु वा कुराकानी गरिरहनु 
–मृत्युको इच्छा राख्नु वा मृत्यु हुन सक्ने खालका काममा अकारण जोखिम उठाउनु 
–आफू बेकार, असहाय वा निराश भएको व्यक्त गर्नु 
–आफ्ना साथीभाइसँग नबुझिँदो तरिकाले बिदाइ माग्नु, माफी माग्नु
–‘म नजन्मेको भए राम्रो हुन्थ्यो, म मरेपछि तिमीहरू पछुताउँछौ, अब कुनै उपाय नै छैन’ जस्ता भाव व्यक्त गर्नु 
–खूब दुःखी भइरहेको मान्छे अचानक शान्त वा खुशी हुनु 
–पहिलेका रुचिमा चासो नदेखाउनु 
–आफ्ना कामकाज, हिसाबकिताब,  फछ्र्याैट गर्नु 
 

प्रतिक्रिया दिनुहोस