गुलशन ग्रोवरको जीवन : कति दिन भोकै बसे गनीसाध्य छैन

सोमबार, १३ साउन २०७६, १६ : ३३
गुलशन ग्रोवरको जीवन : कति दिन भोकै बसे गनीसाध्य छैन

काठमाडौँ । हिन्दी फिल्महरूमा ‘ब्याडम्यान’को नामबाट चर्चित अभिनेता गुलशन ग्रोवर आफ्ना अरु सहयोगीहरूकै श्रेणीमा उभिएका छन् । आफ्ना मित्र नसिरुद्दिन शाह, शत्रुघ्न सिन्हा र ऋषि कपुरजस्तै उनको जीवन पनि अब खुला किताब बन्दैछ । 

गुलशन ग्रोवरको जिन्दगीका पानाहरूलाई खोल्ने किताबको शीर्षक हो ‘ब्याडम्यान’ । पत्रकार रोशमिला भट्टाचार्यद्वारा लेखिएको यस बायोग्राफीमा गुलशन ग्रोवरको जिन्दगीसँग जोडिएका अनेकौं कथाका साथै उनको जीवनको त्यो गरिबी पनि उल्लेख छ, जतिबेला उनलाई दुई छाक खाना जोहो गर्नु पनि कठिन थियो । 

गरिबीसँग कहिले आत्तिएनन्

बीबीसीसँगको विशेष कुराकानीमा अभिनेता गुलशन ग्रोवरले आफ्नो जिन्दगीका बारेमा भने, “मैले आफ्नो जीवनमा धेरै उतारचढाव देखेँ र भोगँे । मेरो बाल्यकाल कहालीलाग्दो स्थितिमा बित्यो । मलाई अहिले पनि सम्झना छ, मेरो स्कूल दिउँसो थियो । तर म बिहानै किताबको ब्यागमा स्कूलको युनिफर्म बोकेर घरबाट निस्किन्थेँ ।”

ग्रोवर भन्छन्, “हरेक बिहान म आफ्नो घरभन्दा टाढा–टाढा गएर भाँडाकुँडा र कपडा धुने डिटरजेण्ट पाउडर बेच्थेँ । कहिले डिटर्जेन्ट पाउडर, कहिले फिनाइलको गोली अनि कहिलेकाहीँ भुइँ सफा गर्ने रुमाल बेच्थेँ । यिनै सामानहरू बेचेर आएको पैसाले स्कूलको खर्चवर्च जोहो हुन्थ्यो । ती ठूलाठूला घरमा बस्ने मानिसहरूले मसँग सामान किन्थे पनि । किनभने उनीहरू सबै चाहन्थे मेरो पढाइ अगाडि बढोस् । यद्यपि मेरो गरिबीबाट म कहिले पनि आत्तिनँ । यसको कारण हुनुहुन्थ्यो, मेरो पिताजी । उहाँले मलाई हर–हमेसा ईमानदारी तथा मिहिनेतको बाटोमा हिँड्न सिकाउनु भयो ।”

भोकै बसेका दिन  
गुलशन भन्छन्, “मैले आफ्नो पुस्तकमा धेरै कुराहरू उल्लेख गरेको छु । मलाई सबैभन्दा बढी पीडा मेरो आमाबुवासँग गाँसिएको सम्झना किताबमा प्रस्तुत गर्दा भयो । ती दिनहरूमा हामीसँग खाना खानका लागि पनि पैसा हुन्थेन । कति दिन त भोकै पनि बस्नुपर्यो । गनीसाध्य नै छैन । मलाई यो कुरा भनिरहँदा लाज लाग्दैन, मैले कलेजमा पढ्दासम्म पनि हाम्रो अवस्था यस्तै रह्यो । जतिखेर अभिनय गर्ने उद्देश्यले मुम्बई आएँ, त्यसबेला पनि कतिपटक मेरा दिन भोकै बिते । प्रत्येक दिन यहि सोच्थेँ कि आजको दिन कसरी टारुँ । तर कहिल्यै हिम्मत हारिनँ । जित्ने कोसिस गरिरहेँ । परिणाम तपाईहरूका सामुन्ने छ ।”
‘रकी’मा पहिलो ब्रेक 
भनिन्छ– दिल्लीको एउटा पञ्जाबी परिवारमा जन्मिएका गुलशन ग्रोवरले सन् १९८० मा रिलिज भएको फिल्म ‘हम पाँच’मा डेब्यू गरेका थिए । तर यस्तो होइन ।
गुलशनका अनुसार उनको पहिलो फिल्म ‘हम पाँच’ होइन, ‘रकी’ हो । जसको सुटिङ पहिले नै शुरु भएको थियो । गुलशन ग्रोवर भन्छन्, “मलाई अभिनयमा अतिनै रुची थियो । त्यसैले थिएटरमा काम गर्दै गएँ । त्यसै बेला खलनायक पात्रमा चर्चित अभिनेताहरू प्रेमनाथ, प्राण, अमरीश पुरी, अमजद खानका अभिनय हेरेर मैले धेरै कुरा सिकेँ । उनीहरू सबैलाई हेरेरै मैले आफ्नो एउटा अलग पहिचान बनाएँ । आफ्नो अलग स्टाईल बनाउने कोशिसमा लागिरहेँ । फरक किसिमबाट काम गर्दै गएँ । हेर्दाहेर्दै म जबरजस्त कलाकार भएँ । आज यतिका वर्षपछि जब खलनायकहरूलाई बिर्सिँदै गइएको छ, यस्तो अवस्थामा पनि आम दर्शकको प्रेम र मायाले मैले मौका पाइरहेको छु । म ‘सूर्यवंशी’, ‘सडक–२’ मा खलनायकको भूमिका निर्वाह गर्दैछु ।”

पछ्याउँदै सहयात्रीहरू 
गुलशन ग्रोवरको मान्यता छ, उनी पहिलो भारतीय अभिनेता हुन्, जसले हलिउडको फिल्ममा धेरै अगाडि नै आफूलाई प्रस्तुत गरे । उनको पहिलो हलिउड फिल्म ‘द सेकेण्ड जंगल बुकः मोगली एण्ड बल्लु’ सन् १९९७ मा रिलिज भएको थियो ।
उनको विदेशी फिल्ममा काम गर्ने क्रम अहिले पनि चलिरहेको छ । उनले जर्मन, अस्टे«लियन, पोलिस, क्यानेडियन, इरानी, मलेसियन, ब्रिटिश र नेपाली फिल्मसहित भारतका विभिन्न भाषामा बनेको अनगिन्ती फिल्महरूमा काम गरिसकेका छन् । 
गुलशन भन्छन्, “विदेशी फिल्ममा मेरो कामको श्रृंखला सजिलो थिएन । मैले बलिउड र हलिउडका बीचमा एउटा माटोको बाटो बनाएको थिएँ । आज मलाई खुशी लाग्छ, मेरा सहयोगी प्रियंका चोपडा, अनुपम खेर, इरफान खान त्यो माटोले बनेको मार्गमा हिँड्दै त्यसलाई अझैै बलियो बनाउँदैछन् ।”

भारतीय फिल्मका बारेमा अनभिज्ञ 
आफ्नो कुराकानीलाई अगाडि बढाउँदै गुलशन ग्रोवर भन्छन्, “विदेशी फिल्ममा काम गर्नु मेरा लागि बडो अप्ठेरो स्थिति थियो । किनभने जतिखेर मैले विदेशी फिल्ममा काम सुरु गरेँ, त्यसबेला इन्टरनेटको समय थिएन । हामीले गरेका फिल्म हेरिन्थेन । उताका निर्देशक, कलाकार, निर्मातालाई पनि थाहा थिएन कि गुलशन ग्रोवर नाम गरेका कुनै कलाकार पनि छन् । यो आश्चर्य मान्नुपर्ने विषय पनि थिएन । तर, त्यसबेला तिनीहरूले अमिताभ बच्चन र शाहरुख खानलाई पनि चिन्थेनन् । अरुको के कुरा गर्नु, ठूलाठूला फिल्म मेकरहरूलाई पनि तिनले चिन्थेनन् ।”

उनी भन्छन्, “उनीहरू त्यही फिल्मका विषयमा मात्रै जानकार थिए, जुन फिल्म फेस्टिवलहरूमा प्रदर्शन गरिन्थ्यो । कहिलेकाहीँ कुनै फिल्म फेस्टिवलमा सत्यजीत रेको चर्चामा रहेको फिल्म मात्रै प्रदर्शन हुन्थ्यो । त्यसबेला अफसोच हुन्थ्यो कि भारतीय फिल्मका विषयमा त्यहाँका मानिसलाई थाहा नै छैन । यसैले पनि मलाई यो भन्न कठिन थियो कि म अभिनेता हुँ । मैले कैयौँं अडिसन दिएँ । जतिखेर म कुनै फिल्मका लागि चयन हुन्थेँ त्यसबेला भन्थेँ कि ‘म फिल्मको सुटिङ हुनु अगाडि आउँछु र सुटिङ सकिएपछि जान्छु’ ।”

“मेरो यो कुरा सुनेर उनीहरू भन्थे तिमी यस्तो गर्न सक्दैनौ । तिमीलाई कुनै पनि समयमा बोलाउन सकिन्छ । त्यसबेला म उनिहरूलाई यही भन्थेँ म यहाँ एक दुई फिल्ममा मात्रै काम गरिरहेको छु । तर भारतमा मैलेएकसाथ २० वटा फिल्ममा काम गर्नुपर्ने छ । त्यसमा निर्माता निर्देशकको पैसा लागेको छ । म तिनलाई धोका दिन सक्दिन । यदि तपाईलाई स्वीकार्य छ भने मलाई काम दिनुस् ।”

गुलशन ग्रोवरको जीवनमा आधारित पुस्तक ‘ब्याडम्यान’लाई  भारतीय जनता पार्टीका वरिष्ठ नेता लालकृष्ण अडवानीले दिल्लीमा सार्वजनिक गरे । त्यस अवसरमा गुलशन ग्रोवरका निकटस्थ मित्र अभिनेता ज्याकी श्राफ र सुनील शेट्टीको पनि उपस्थिति थियो ।  बीबीसीबाट 

प्रतिक्रिया दिनुहोस