काठमाडौं । भीमदत्त नगरपालिका–२, उल्टाखाम कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक वर्ष पुगेको छ । वर्ष दिनको अवधिमा निर्मलाको न्यायका लागि सरकारी तवरबाट धेरै प्रयास भएको बताइए पनि उनले न्याय पाउन भने सकेकी छैनन् ।
‘वर्ष दिनसम्म न हत्यारा पत्ता लाग्यो न अब न्याय पाउने आस नै छ,’ पन्त परिवारको यो बिलौना निर्मलालाई गुमाउँदा जस्तो थियो अहिले पनि उस्तै छ । उनकी आमा दुर्गादेवी भन्छिन्, ‘न न्याय पाइयो, न अब आस नै छ ।’
१० साउन २०७५ मा साथीको घर जान भन्दै घरबाट हिडेकी निर्मलाको ११ गते बिहान घर नजिकैको उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा शव भेटिएको थियो । यसबीचमा हत्यारा पत्ता लगाउन सरकारबाट भएका हालसम्मका सबै प्रयास खेर गएको छ । तर, पनि सरकारले ढिलोचाँडो हत्यारालाई कानुनी कठघरामा ल्याउने दाबी गर्न भने छाडेको छैन ।
निर्मलाका बाबु यज्ञराज पन्तले छोरीको न्यायका लागि लड्दा लड्दै हारेको बताए । ‘न्यायको पर्खाइमा बस्दा बस्दै आस मरिसक्यो, हामीले छोरी मागेका थिएनौं, न्याय मागेका हौं, राज्यले एक वर्षसम्म पनि न्याय दिन सकेन, मैले हारें,’ निर्मलाका बाबु यज्ञराजले राजधानीसँग भने । उनले गृहमन्त्री रामबहादुर थापाको पछिल्लो अभिव्यक्तिले झनै निराश बनाएको बताए ।
‘अझै पनि झिनो आश त छ, न्याय पाइएलाकी भन्ने तर गृहमन्त्रीज्यूकै भनाइले राज्य नै हामीविरुद्ध लाग्यो जस्तो लाग्छ, अस्ति पनि गृहमन्त्रीले निराश पार्ने गरी बोल्नुभएछ,’ उनले थपे ।
न्यायको पर्खाइमा बस्दा बस्दै आस मरिसक्यो, हामीले छोरी मागेका थिएनौं, न्याय मागेका हौं, राज्यले एक वर्षसम्म पनि न्याय दिन सकेन, मैले हारें ।
यज्ञराज पन्त
निर्मलाका बुवा
अनुसन्धान अहिले पनि जारी छ, हत्यारा पत्ता नलाग्दासम्म अनुसन्धान जारी रहन्छ, अनुसन्धानले विश्राम लिँदैन
विश्वराज पोखरेल
प्रहरी प्रवक्ता
आधा दर्जन समिति, प्रगति शून्य
यसबीचमा निर्मलाको हत्याको छानबिनका लागि करिब आधा दर्जन छानबिन समिति बनेका छन् । सबैजसो समितिले निर्मलाको बलात्कारपछि हत्या भएको निष्कर्ष निकालेको छ । यस्तै, ती प्रतिवेदनले प्रहरीबाट सुरुवाती चरणमा नै अनुसन्धानमा लापर्बाही भएको भन्दै निष्कर्षसमेत दिएका छन् । तर, हत्यामा संलग्नलाई भने कुनै पनि प्रतिवेदनले किटान गर्न सकेको छैन ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, १० साउन २०७६, ०७ : ३५
लेखकबाट थप