नेकपा सचिवालय बैठक आज : स्कुलिङमा अझै जुटेन समझदारी

सफल खबर संवाददाता

आइतबार, ०५ साउन २०७६, ०७ : १७
नेकपा सचिवालय बैठक आज : स्कुलिङमा अझै जुटेन समझदारी

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले १४ महिनायता थाँती रहेको पार्टी एकताका सम्पूर्ण प्रक्रियाको टुंगो लगाउने नेताहरुले बताएका छन् ।

तत्कालिन एमाले र माओवादी मिलेर गत २०७५ जेष्ठ ३ गते पार्टी एकता भएको थियो । त्यसयता अझै पार्टीका केन्द्रीय तहकै नेताहरुले कामको जिम्मेवारी पाउन सकेका थिएनन् । केन्द्रीय तहमा बन्नुपर्ने विभाग, आयोग र परिषद बनेका थिएनन् । जिल्ला तहका इन्चार्ज, सह–इन्चार्ज बनाउन नेकपाले सकेको थिएन ।

महासचिव विष्णु पौडेलका अनुसार, आजको सचिवालय बैठकले भने यी सबै कामको एकमुष्ट रुपमा निर्णय लिएर पार्टी एकताको काम सक्ने सचिवालयको तयारी छ ।

जिल्ला इन्चार्ज, केन्द्रीय विभाग, आयोग र परिषद्का सन्र्दभमा दुई अध्यक्ष केपी ओली र प्रचण्डले भागबन्डामा समझदारी जुटाएपछि दुबै पक्षले आफुले पाएको जिम्मेवारीमा कुन नेतालाई अगाडी बढाउने भन्नेमा आपसी छलफल समेत गरेका थिए । पूर्व एमाले तर्फका नेताहरुले बिहिवार, शुक्रवार र शनिवार तीन दिन लगातार बालुवाटारमा जिम्मेवारीका सन्र्दभमा छलफल गरेको बालुवाटार स्रोतले बतायो । यता अर्का अध्यक्ष प्रचण्डले पनि यो विषयमा पार्टीका विभिन्न नेताहरुलाई बोलाई अलग अलग रुपमा छलफल गरेर राय सुझाव लिने काम गरेका थिए ।

महत्वपूर्ण मानिने विभागहरुमा भने नेताहरुका बीचमा केही समझदारी समेत भईसकेको छ । संगठन विभागमा सचिवालय सदस्य बामदेव गौतम, विदेश विभागमा पूर्व प्रधानमन्त्री तथा वरिष्ठ नेता माधव नेपाल, नीति अध्ययन प्रतिष्ठानमा पूर्व प्रधानमन्त्री तथा वरिष्ठ नेता झलनाथ खनालले जिम्मा पाउँदैछन् ।

आर्थिक र प्रचार विभागको जिम्मेवारी तत्कालिन माओवादी तर्फका नेताहरुले पाउँदैछन् । तर स्कुलिङ विभागका सन्र्दभमा भने अझै दुबै पक्षका नेताहरुका बीचमा नेतृत्व लिने रस्साकस्सी चलिनै रहेको छ ।

बुधबार बिहान सचिवालय बैठकको तयारीका लागि दुई अध्यक्षको बालुवाटारमा भएको छलफलमा पनि स्कुलिङ विभागको रस्साकस्सी कायमै थियो । तत्कालिन एमालेमा ओली पक्षले यो विभागमा उपप्रधान तथा रक्षामन्त्री समेत रहेका नेता इश्वर पोखरेललाई अगाडी सारिएको छ भने माओवादीका तर्फबाट पार्टी प्रवक्ता समेत रहेका नारायणकाजी श्रेष्ठलाई अगाडी सारिएको छ ।

पार्टी एकतापछि नेकपाको राजनीतिक कार्यदिशामा लगातार असन्तुष्टि जनाउदै स्थगन गरिएको तत्कालिन एमालेको राजनीतिक कार्यक्रमकै वकालत गर्दै आएका पोख्रेललाई स्कुलिङ विभागको जिम्मा दिँदा त्यसले एकतामा आँच पु¥याउन सक्ने र सम्वेदनशील विभागको गतिविधि राजनीतिक पूर्वाग्रहीका आधारमा हुनसक्ने ठानी माओवादी खेमाबाट पोखरेलको नाममा असहमति कायमै छ ।

पार्टी प्रवक्ताको अन्यत्र कुनै जिम्मेवारी नभएको, सचिवालयमा मात्र रहेका नेताहरु गौतमलाई महत्वपूर्ण र आफुले रोजेकै विभाग दिएपछि श्रेष्ठलाई पनि त्यसैगरी काम गर्न दिनुपर्ने माग माओवादी खेमाका नेताहरुको छ । तर ओली यसमा अझै सहमत हुन सकेका छैनन । दुई अध्यक्षका बीचमा अहिले बिहान हुने छलफलका आधारमा मात्र यो विभागको अन्तिम टुंगो लाग्ने नेताहरुको भनाई छ ।

३२ केन्द्रीय विभागमा तत्कालिन एमालेलाई १८ र माओवादीलाई १४ विभागको नेतृत्व दिने गरी दुई अध्यक्षका बीचमा समझदारी भईसकेको छ । त्यस्तै जिल्ला इन्चार्जका सन्र्दभमा ६०–४० प्रतिशतका आधारमा नेतृत्व दिने, तीन आयोगमध्ये लेखा परिक्षण आयोगमा एमाले तर्फका डा. पुष्प कँडेल, अनुशासन आयोगमा एमाले तर्फका अमृत बोहोरा र निर्वाचन आयोगमा माओवादी तर्फका अमिक शेरचनले जिम्मेवारी लिने समझदारी छ । त्यसैगरी, केन्द्रीय सल्लाहकार परिषदमा केशव बढाल र जेष्ठ कम्युनिष्ट मञ्चमा नन्दकुमार प्रसाईलाई जिम्मा दिने तयारी नेकपाको छ ।

प्रतिक्रिया दिनुहोस