एउटा यस्तो गाउँ, जहाँ छ असी घरलाई तीन वटा धाराको पानी

प्रकाश सिग्देल

शनिबार, ०४ साउन २०७६, १७ : २७
एउटा यस्तो गाउँ, जहाँ छ असी घरलाई तीन वटा धाराको पानी

नवलपुर । रातदिन नदी किनारमै समय बिताएका समुदायहरु पानीकै प्यासी बनेका छन् । घरै अगाडि २० मिटरमै विशाल नारायणी नदी छ । वर्षामा त दैलोभित्रै नदी पस्ने गर्छ, तर त्यही समुदाय धित मर्ने गरी पानी समेत पिउन नपाउने अवस्थामा छन् ।
गैँडाकोट नगरपालिका २ नारायणी नदी किनार बिगतमा बोटेटोल भनेर चिनिएको नारायणी टोल विकास संस्था अन्तर्गतको बस्तीमा रहेका समुदायहरु शुद्ध खानेपानीबाट बञ्चित बनेका छन् । पानी छैन भनौँ दैलो अगाडि विशाल नारायणी बगेको छ । तर खानका लागि भने पानी अभाव छ भन्दै स्थानीयहरु दुखेसो गर्छन् । 
बाहिरबाट हेर्दा यो ठाउँ निकै सुन्दर छ । कलकल बग्ने नारायणीको पानीसंगै ठोकिएर आएको चिसो बतासले पर्यटकको मनै आनन्दित पार्छ तर स्थानीयहरुको मन भने अभाव र पीडाले सधैँ खिन्न हुने गरेको छ ।

प्रायः धेरै मानिसहरु नारायणी नदीको किनारमा आनन्दको अनुभुति गर्न आउने गर्दछन् । हरियाली र नारायणी नदीको दृश्यले पनि यहाँको टोलको बाहिरी वातावरण सुन्दर बनेको देख्न सकिन्छ । टोलको भित्री यथार्थ भने निकै मार्मिक र पीडादायी छ । यो ठाउँ पर्यटकीय क्षेत्र भए पनि खानेपानी र शौचालयको अभाव रहेको छ । 
पुरै टोलमा मात्र तीन वटा खानेपानीको धारा रहेको छ । त्यो तीन वटा धाराका भरमा टोलका ८० घर धानिएको छ । बोटेटोलका स्थानीय राजु गुरुङले टोलका तीन सय जनाको प्यास त्यो तीन वटा धाराले बुझाएको बताउनु हुन्छ । तीन वटा धारा भएको कारणले दिनहुँजसो पानीको लागि झगडा हुने गरेको उहाँको भनाई छ । 



अर्का स्थानीय दानबहादुर खड्काले टोलमा शौचालयको पनि व्यवस्था नरहेको बताउनु भयो । शौचालयको अभावका कारणले तीन परिवारले एउटै शौचालयको प्रयोग गर्नु परेको उहाँ बताउनु हुन्छ । यहाँ शौचालय निमार्णका लागि वडा तथा नगरले केही पनि नगरेको उहाँको भनाई छ ।
यस क्षेत्रमा सार्वजनिक शौचालय र स्नान गृह निमार्ण गर्नु पर्ने माग स्थानीयहरुको छ । हिन्दु धर्म मान्नेहरु विभिन्न पर्वहरुमा स्नान गर्न नदी किनारमा जाने र उनीहरुका लागि शौचालय र कपडा फेर्ने ब्यवस्थित स्थान समेत नहँुदा पनि पर्यटक तथा धमार्वलम्बीहरुलाई समस्या भएको स्थानीय सुशीला मगरले बताउनु भयो । 



ग्याबिन टोल नारायणी नदीको छेउमा रहेको छ । जसको कारण बर्खाको बेला नदी बढेर टोलसम्म आउने गर्दछ । स्थानीय कमल गुरुङका अनुसार बर्षाको बेलामा कुन बेला बाढी आउँछ पत्तो नै नहुने र धेरै धनजनको क्षति हुने गरेको छ । सरकारले तटबन्धको कुनै व्यवस्था नगरेको भन्दै उहाँले दुखेसो गर्नुभयो ।
यो क्षेत्र पर्यटकीय क्षेत्र भए पनि नगरपालिका र वडाको कुनै ध्यान नगएको कारणले पनि यो टोलमा आधारभुत आवश्यकताहरुको कमी देखिन्छ । चितवनतर्फ नदी किनारको त्यति राम्रो विकास भइरहँदा वारी गैडाकोटतर्फ यस्तो बिजोग हुनु गैडाकोट नगरपालिकाको गैरजिम्मेवारीपन भएको स्थानीयहरु बताउँछन् । यसको विकासका लागि नगरपालिका र वडाको छिट्टै ध्यान जान जरुरी छ ।

 

प्रतिक्रिया दिनुहोस