मोहन वैद्यको पार्टीमा लफडै–लफडा

एक दर्जन नेताले लेखे पार्टी निर्णयमै नोट अफ डिसेन्ट, थप एक दर्जन नेता पार्टी छोड्ने तयारीमा

सफल खबर संवाददाता

बुधबार, ०१ साउन २०७६, ०८ : १३
मोहन वैद्यको पार्टीमा लफडै–लफडा

काठमाडौं । मोहन वैद्य (किरण)ले नेतृत्व गरेको नेकपा (क्रान्तिकारी माओवादी) भित्र भाडभैलो मच्चिएको छ । गत असार १२ देखि १७ गतेसम्म ललितपुरमा बसेको पार्टी केन्द्रीय समितिको बैठकको निर्णयमा असहमति जनाउँदै एक दर्जन केन्द्रीय सदस्यहरुले नोट अफ डिसेन्ट नै लेखेको तथ्य भर्खर बाहिर आएको छ ।

अति गुपचुप राखिएको तथ्य सफलखबरले फेला पारेको छ । पार्टी विधान विपरित महासचिव मोहन वैद्य (किरण)ले केन्द्रीय समिति र पोलिटब्यूरोमा वैकल्पिक नेताहरु थप गरेको भन्दै ति नेताहरुले निर्णयमा लिखित रुपमा नै असहमति पत्र दर्ता गराएका छन् । उक्त लिखित असहमति पत्र पनि सफलखबरले फेला पारेको छ ।

केन्द्रीय सदस्यहरु रत्न, दिपक शाही, गणेश कटुवाल, मनोज श्रेष्ठ, सीताराम, मोहन, क्षितिज शर्मा, हस्तबहादुर केसी, हुकुमबहादुर सिंह, पिताम्बर आचार्य, महेश लिम्बु र समिरले पार्टी निर्णयमा असहमति पत्र दर्ता गराएका हु्न । वैद्य माओवादीले केन्द्रीय समिति बैठकबाट ७ जना वैकल्पिक पोलिटब्यूरो र ११ जना बैकल्पिक केन्द्रीय सदस्य थप गर्ने निर्णय गरेको थियो ।

पार्टीभित्रै एक दर्जन नेताहरुले त्यसमा नोट अफ डिसेन्ट लेखेपछि अहिलेसम्म पनि थपिएका नेताहरुको नाम वैद्य माओवादीले सार्वजनिक गर्न सकेको छैन । ति नामहरु अहिलेसम्म पनि गोप्य नै राखिएको छ ।

एक दर्जन नेताले पार्टी निर्णयमा राखेको असहमतिपत्र

बैठकको प्रस्ताव नम्बर ३ मा वैद्यले पार्टीमा केन्द्रीय समिति र पोलिटब्यूरोमा वैकल्पिक सदस्य थप गर्ने निर्णय गरेको थियो ।

एक दर्जन बढी नेताहरु पार्टी छोड्ने तयारीमा

पार्टी निर्णयमा एक दर्जन नेताले नोट अफ डिसेन्ट लेखेपनि यी नेता बाहेक नै झण्डै एक दर्जन नेताहरुले पार्टी छोड्ने तयारीमा समेत पुगेको स्रोतले बतायो । केन्द्रीय नेताहरु इश्वरचन्द्र ज्ञावाली, कुमार शाह लगायत नेताहरु पार्टी बैठक लगत्तै निष्किय भईसकेका छन् ।

पार्टीले ठोस कार्यक्रम बनाउन नसकेको , क्रान्तिको कुरा गरेपनि पार्टीको फौजी कार्यदिशा ल्याउन नसकेको भन्दै ति नेताहरुले अध्यक्ष वैद्यको दस्तावेजमा असहमति जनाएका थिए ।

स्रोतका अनुसार, बैठकमा केन्द्रीय सदस्य शाहले पार्टीको सैन्य दस्तावेजको माग गरेका थिए । ‘सैन्य दस्तावेजको ब्याख्या गर्नुहोस्’ महासचिव वैद्यले पेश गरेको ८ पेष्ठ लामो दस्तावेजमा शाहले टिप्प्णी गदै प्रश्न उठाएका थिए । तर वैद्यले जवाफमा सैन्य दस्तावेजको पार्टी केन्द्रीय समिति बैठकमा ब्याख्या नगरिने बताएको स्रोतले बतायो ।

‘सैन्य दस्तावेजका बारेमा ब्याख्या गरिन्न, ज्यानको सवाल छ, गरिन्न,’वैद्यको भनाई उदधृत गदै एक केन्द्रीय सदस्यले भने । बैठकमा नेताहरुले माओवादीभित्र अवसरवाद छिरेर पार्टी विभाजन नभएको भए अहिले क्रान्तिकारी धार कमजोर नहुने भन्दै विभाजनको गम्भिर समिक्षा गर्नुपर्ने र त्यसको पुष्टि हुने गरी पार्टी कार्यक्रम बनाएर अगाडी जानुपर्नेमा पनि नेताहरुले जोड गरेको ति नेताले बताए ।

प्रतिक्रिया दिनुहोस