कांग्रेस नेताको दबाबमा कोठी सञ्चालकको रिहाई

कांग्रेसबाट वडा अध्यक्षमा निर्वाचित भएका कोठी सञ्चालकलाई नुवाकोट जिल्ला अदालतले सुनाएको ३७ वर्ष ६ महिनाको कैद सँजाय उल्टाउदै सफाईको आदेश

सफल खबर संवाददाता

बुधबार, ०१ साउन २०७६, ०७ : ४४
कांग्रेस नेताको दबाबमा कोठी सञ्चालकको रिहाई

काठमाडौं । भारतको मुम्बई शहरमा चार ओटा कोठी सञ्चालन गदै नेपाली चेलीलाई यौन धन्दामा संग्लन्न गराउदै आएका नुवाकोट कांग्रेसका एक वडा अध्यक्षलाई उच्च अदालत पाटनले राजनीतिक दबाबका आधारमा सफाई दिएको तथ्य खुलेको छ ।

उच्च अदालत पाटनका न्यायधिसद्धय रमेशबहादुर थापा र हरिप्रताप केसीको संयुक्त इजालसले दुई दिन अगाडी ति वडा अध्यक्षलाई सफाई दिएको हो । राजनीतिक प्रभावमा अदालतबाट सफाई पाउने वडा अध्यक्ष हुन्, –नुवाकोट दुप्चेश्वर गाउँपालिका–१ का काग्रेसबाट निर्वाचित वडा अध्यक्ष सुनबहादुर तामाङ ।

उनीविरुद्ध तीनजना पीडित महिलाले सिआइबीमा जाहेरी दिएपछि उनी पक्राउ परेका थिए । पक्राउ पछि नै उनले मुम्बईमा चार ओटा कोठी सञ्चालन गदै आएको तथ्य बाहिरिएको थियो । यस अगाडी उनलाई जिल्ला अदालत नुवाकोटले ३७ वर्ष छ महिना कैद सजाँय र रु २ लाख ५० हजार जरिवानाको फैसला सुनाएको थियो ।

जिल्ला न्यायाधीश लोकजङ्ग शाहको एकल इजलाशले २०७४ सालमा उक्त सजाय सुनाएको थियो । उनको रिहाईका लागि काग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेलामा नुवाकोट काग्रेसका नेताहरु डा रामशरण महत लगायतले देउवालाई दबाब बढाएका थिए । तर जिल्ला अदालत नुवाकोटले ३७ वर्ष ६ महिनाको कैद सँजया सुनाएपछि भने उनलाई रिहाईका लागि तत्कालिन काग्रेस नेतृत्वको सरकारले आँट गर्न सकेको थिएन ।
उच्च अदालत पाटनले सफाई दिएपछि कारागारलाई जेलमुक्त गर्न दिएको आदेशको पत्र

तर यो बीचमा अदालतसँगको साँठगाँठका आधारमा उनलाई अहिले सफाईको वातावरण मिलाउने काममा काग्रेस नेताहरु अर्जुननरसिंह केसी, डा रामशरण महत, नुवाकोट काग्रेस सभापति जगदिशनरसिंह केसी लगायतका नेताहरु लागेका थिए । त्यही क्रममा जेठ ३० मा उच्च अदालत पाटनले तामाङलाई रिहाईको आदेश दिएको हो ।

अदालतको आदेशमा तामाङ रिहाई भएपछि नुवाकोट काग्रेसले उनलाई अहिले खादा लगाउने र रेष्टुरेण्टमा जाड पार्टी गराउने सम्मका काम गरिरहेको छ । उनको रिहाईमा काग्रेस नेता अर्जुननरसिंह केसी र जगदिशनरसिहं केसी आफै खटिएका थिए । पछिल्लो पटक २०७४ पुस पहिलो हप्ता नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले तामाङलाई दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीस्थित वडा कार्यालयबाटै पक्राउ गरेको थियो । त्यसलगत्तै काग्रेस नेताहरु केसी, महतलगायतले तामाङको पक्राउले नुवाकोट काग्रेसलाई घाटा पु¥याएकोले जसरी पनि छुटाउनु पर्ने भन्दै दौडधुप बढाएका थिए । अहिले पनि तामाङको भारतमा चार ठाउमा कोठी सञ्चालनमा छ ।

कहाँ–कहाँ छन् कोठी ?
प्रहरीका अनुसार, तामाङले भारतको नयाँदिल्लीस्थित जेबी रोडको गल्ली नम्बर ६४, पुनास्थित सोना गार्छे–१५, कोलकाता र मुम्बई गरी चार ठाउँमा कोठी सञ्चालन गरिरहेका छन् । उनको जेबीरोडस्थित कोठीमा ३५ जना, सोना गार्छेमा २७, कोलकातामा १५ र मुम्बईस्थित कोठीमा आठजना युवती छन् ।

सुनवहादुर जेलवाट रिहाई भएर निस्केपछि । टोपी लगाउने तादी गाउपालिका ६ का काग्रेसवाट निर्वाचित वडा अध्यक्ष केशव थापा, अर्काे टोपी नलगाएका गाउ पालिका अध्यक्ष योविन्द्रसिंह तामाङसहित
पीडितको बयान अनुसार सबै कोठी उनकी श्रीमती राधा तामाङले सञ्चालन गर्दै आएकी छिन् । ‘मेरी भाउजूलाई सुनबहादुरले १२ वर्षको उमेरमा दिल्ली लगेछन् । त्यहाँ उनकी श्रीमती राधाले कोठी चलाउँदी रहिछन् । भाउजूलाई वेश्यावृत्तिमा लगाएछन् । सात वर्षसम्म उहाँले त्यहीँ काम गर्नुभएछ । पछि मेरो दाइले त्यहाँबाट उद्धार गरेर गाउँ ल्याएर बिहे गर्नुभयो,’ स्थानीय विष्णु तामाङको भनाई छ ।

विष्णुका अनुसार, सुनबहादुरले भारतको विभिन्न सहरका कोठीमा २५० भन्दा धेरै नेपाली युवती लगेर बेचेका छन् । त्यसमध्ये १५० जना नुवाकोटकै रहेको उनले बताए । ‘उनको पेसा नै चेलिबेटी बेच्ने हो । यस क्रममा उनले २५० भन्दा धेरै नेपाली युवती भारतमा लगेर बेचेका छन्’ विष्णुले भने ।

मुद्दा खेपिरहेका बेला कांग्रेसबाट विजयी
स्थानीय निर्वाचनमा दुप्चेश्वर गाउँपालिका–१ को अध्यक्षमा कांग्रेसबाट निर्वाचित ५० वर्षीय तामाङ मानव बेचबिखन तथा ओसारपसारको आरोपमा मुद्दा खेपिरहेका थिए । मानव बेचबिखनमा संलग्न भएको भन्दै ५ वैशाख ०७१ मा नुवाकोट जिल्ला अदालतमा उनीविरुद्ध मुद्दा दर्ता भएको थियो । पीडित ३७ वर्षीया एक महिलाले तामाङसहित अवतार, पासाङ, राधा, टीकाराम तामाङलाई विपक्षी बनाएर मुद्दा दायर गरेकी थिइन् । १० महिनाअघि पक्राउ परेका तामाङ ६ लाख धरौटी राखी रिहा भएका थिए ।
रिहाई लगत्तै सुनवहादुर काग्रेस नेता अर्जुननरसिंह् र जगदिश नरसिंह केसी सँग

स्थानीय निर्वाचन अगावै मानव बेचबिखन मुद्दा खेपिरहेकै क्रममा उम्मेदवारी दिएर उनी निर्वाचित भएका थिए । सो मुद्दामा तामाङले जिल्ला अदालत विदुरमा आफैँ उपस्थित भएर मासिक रूपमा पेसी लिइरहेको जिल्ला अदालतका स्रेस्तेदार महिमानसिंह बिष्टले बताएका थिए ।

यस्तो छ सुनबहादुरको विगत
०५३ मा प्रहरीले सुनबहादुरसहित चारजनालाई झापाको काँकडभिट्टामा नियन्त्रणमा लिएको थियो । नुवाकोट घ्याङफेदीका चार नेपाली युवतीलाई काँकडभिट्टा हुँदै भारत लैजाँदै गर्दा त्यसबेला नै उनीहरु प्रहरीको घेरामा परेका थिए । सुनबहादुरसहित तीनजना प्रहरीको आँखा छलेर फरार भए । प्रहरीले निमा लामा तामाङलाई पक्राउ ग¥यो । अदालतको आदेशबाट निमा जेल चलान भए ।

सोही मुद्दामा नुवाकोट जिल्ला अदालतले २६ असोज ०६८ मा सुनबहादुरलाई ६ वर्ष कैद सजायसहितको फैसला सुनायो । तर, उनी फरार नै रहे । नुवाकोट घ्याङफेदीकै बेचिएकामध्ये दुई युवती दिल्लीस्थित कोठीबाट भागेर नेपाल फर्के । उनीहरूले ०७१ जेठमा नुवाकोट जिल्ला प्रहरी कार्यालयमा सुनबहादुरबिरुद्ध उजुरी गरे ।
कालो टोपी लगाएका सुनवहादुर

प्रहरीले उनलाई पक्राउ ग¥यो । तर, अदालतबाट पाँच लाख रुपैयाँ धरौटीमा उनी छुटे । त्यसबेला उनले मुद्दा कमजोर बनाउन पीडितलाई अदालतमै उपस्थित हुन दिएका थिएनन् । पछि २०७४ पुसमा थप पीडित महिलाले प्रहरीमा उजुरी गरेपनि उनी वडा कार्यालयबाटै सिविआईको टोलीबाट पक्राउ परेका थिए ।

जिल्ला अदालत नुवाकोटले तामाङसहित उनका सहयोगीहरु सोही स्थानका शुकमान लामालाई ३२ वर्ष तीन महिना २३ दिन कैद र टीकाराम तामाङलाई ३० वर्ष कैदसहित जनही रु दुई लाख ५० हजार जरिवानाको फैसला सुनाएको थियो ।

छोरा पनि मानव बेचबिखनमा सजाय भोग्दै
प्रहरीका अनुसार उनका छोरा रमेश तामाङ पनि मानव बेचबिखनमा संलग्न छन् । उनी अहिले मानव बेचबिखन मुद्दामा नुवाकोटस्थित कारागारमा सजाय भोगिरहेका छन् ।
 

प्रतिक्रिया दिनुहोस