शारदा श्रेष्ठ स्मृति पुरस्कार कवि घायललाई

सफल खबर संवाददाता

मंगलबार, ३१ असार २०७६, १७ : ३८
शारदा श्रेष्ठ स्मृति पुरस्कार कवि घायललाई

चितवन । शारदा श्रेष्ठ स्मृति पुरस्कार २०७६ साहित्यकार राजेन्द्र घायलले पाउनु भएको छ । साहित्य क्षेत्रको बिकासमा योगदान दिएबापत ३० हजार रुपैयाँको पुरस्कारसहित घायललाई सम्मान गरिएको हो । 
शारदा स्मृति प्रतिष्ठान चितवनले भरतपुरमा आयोजना गरेको कार्यक्रममा अर्का साहित्यकार बिदुर अधिकारीलाई ५ हजार रुपैयाँको डिल्लीराम धनसरा प्रतिभा पुरस्कार २०७६ ले सम्मान गरिएको थियो । भरतपुर महानगर प्रमुख रेनु दाहालले साहित्यकारद्वयलाई नगद र प्रमाणपत्र हस्तान्तरण गर्नु भएको थियो ।  
कार्यक्रमकी प्रमुख अतिथि भरतपुर महानगर प्रमुख रेनु दाहालले आफु शारदा श्रेष्ठ जस्तो बन्न नसके पनि उहाँजस्तै बन्ने प्रयास गर्ने बताउनु भयो । श्रेष्ठसंग २०६० सालमा  चितवनमा आफ्नो भेट भएको बताउँदै उहाँले श्रेष्ठ निकै प्रतिभावान ब्यक्ति भएको बताउनु भयो ।
उहाँको नामबाट स्थापित पुरस्कारले उहाँलाई सधैं जीवन्त बनाउन सहयोग पुगेको बताउँदै महानगर प्रमुख दाहालले पुरस्कार प्राप्त गर्ने ब्यक्तित्वहरुलाई बधाई ज्ञापन गर्नुभयो । उहाँले वर्तमान नेकपाबाट नागरिकले धेरै आशा गरेकाले अब छिट्टै तल्ला तहसम्म पार्टी कमिटी निर्माण गरी जनताको विकासको सपना पूरा गर्न पार्टी नेतृत्व लाग्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा नेकपा चितवनका अध्यक्ष यमबहादुर परियार, प्रदेश सांसदहरु घनश्याम दाहाल, रामलाल महतो लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै नेकपा जिल्ला अध्यक्ष परियारले शारदा श्रेष्ठको राजनीतिक यात्राका बारेमा चर्चा गर्नु भएको थियो ।
२०६१ सालमा पार्टीको गण्डक क्षेत्रको बैठकमा सहभागी हुन चितवनको पहाडी क्षेत्रहँुदै जाने क्रममा तत्कालीन सत्ताले कब्जामा लिई उहाँलाई यातना दिई मारेको बताउँदै अध्यक्ष परियारले श्रेष्ठ निकै प्रभावशाली नेतृ र साहित्यकार भएको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस