चितवनको खानेपानीमा भेटियो कोलिफर्म,  कुनकुन आयोजनामा भेटियो ? (सूचीसहित)

सफल खबर संवाददाता

मंगलबार, ३१ असार २०७६, १७ : १७
चितवनको खानेपानीमा भेटियो कोलिफर्म,  कुनकुन आयोजनामा भेटियो ? (सूचीसहित)

चितवन । चितवनको ६० प्रतिशत खानेपानी आयोजनामा कोलिफर्म (दिसाजन्य पदार्थ) फेला परेको छ । स्वास्थ्य कार्यालय चितवनले गरेको खानेपानी आयोजनाको अनुगमनको क्रममा ६० प्रतिशत खानेपानी आयोजनाहरुमा फोलिफर्म भेटिएको जानकारी दिएको छ । स्वास्थ्य कार्यालयले आज खानेपानी आयोजनाहरुको नमुना परीक्षण प्रतिवेदन सार्वजनिक गर्दै सो कुरा जनाएको हो । 

गत वर्ष २१ र यस चालु आर्थिक वर्षमा ८ वटा खानेपानी आयोजनाहरु अनुगमन गरेको स्वास्थ्य कार्यालय चितवनका अधिकृत अनुप अधिकारीले बताउनुभयो । उहाँले यस वर्ष आठ मध्ये ५ वटा र गत वर्ष २१ मध्ये १२ वटा चितवनका खानेपानी आयोजनाहरुमा कोलिफर्म भेटिएको बताउनुभयो । कार्यक्रममा उहाँले भन्नुभयो, ‘अनुगमनको क्रममा सबैभन्दा उत्कृष्ट खानेपानी योजना मेघौली खानेपानी आयोजना रहेको भेटियो ।’

यस वर्षको अनुगमनमा छरछरे खानेपानी योजना माडी, कल्याणपुर खानेपानी योजना कल्याणपुर, कुसुमखोला खानेपानी योजना चैनपुर, ठूलो खोल्चा खानेपानी योजना खैरहनी, पटिहानी खानेपानी योजना पटिहानीको पानीमा कोलिफर्म भेटिएको अधिकृत अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार अधिकांश खानेपानी योजनाको स्रोतमै कोलिफर्म भेटिएको छ । अनुगमनमा पर्सा खानेपानी, पिप्ले खानेपानी र मेघौली खानेपानीको अनुगमनमा शुद्धता पाइएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
‘स्रोतमा, ट्यांकीमा र उपभोक्ताको धारमा कोलिफर्म भेटियो’ उहाँले भन्नुभयो, ‘यस पटक सेचत गराइएको छ, स्थानीय तहलाई भनिएको छ ।’ उहाँले कोलिफर्म भेटिएको खानेपानी योजनाहरुमा पानीको शुद्धीकरणसमेत नगरिएको बताउनुभयो । 

कार्यक्रममा जनस्वास्थ्य निरीक्षक पद्मनाथ ढकालले चितवनको खानेपानी आयोजनामा आर्सेनिकको समस्या नरहेको तर कोलिफर्मको समस्या रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘चितवनको ९० प्रतिशत जनसंख्यामा खानेपानी पुगेको छ, तीमध्ये ६० प्रतिशत अशुद्ध पानी खान बाध्य भइरहेका छन् ।’ निरीक्षक ढकालका अनुसार कोलोरिन पाउडर हालेदेखि कोलिफर्म शून्यमा झर्ने छ । उहाँले भन्नुभयो, ‘कोलिफर्म भेटिएको आयोजनामा कोलोरिन पाउडर हाल्न सुझाव दिएका छौँ ।’

कार्यक्रममा संघीय खानेपानी प्रयोगशालाका प्राविधिक क्यामेस्ट योगेन्द्रनारायण देवले प्रयोगशालाको परीक्षणपछि बल्ल खानेपानी खान हुने बताउनुभयो । उहाँले पानीको पीएच सात हुनुपर्ने, क्षारीय, अम्लीय दुबै हुन नहुने बताउनुभयो । उहाँले खानेपानीमा कोलिफर्म शून्य हुनुपर्ने बताउनुभयो । कोलिफर्मको मात्रा बढेमा हैजालगायतका रोग लाग्ने सम्भावना बढी हुन्छ । 

कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटाी, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रका स्वास्थ्य शिक्षा प्रशासक सरोज न्यौपानेलगायतले मन्तव्य दिएका थिए । 


यस वर्ष कोलिफर्म भेटिएका आयोजनाहरु :
–छरछरे खानेपानी योजना माडी
–कल्याणपुर खानेपानी योजना 
–कुसुमखोला खानेपानी चैनपुर
–पटिहानी खानेपानी योजना पटिहानी
–ठूलो खोल्चा खैरहनी योजना खैरहनी 
गत वर्ष कोलिफर्म भेटिएका आयोजनाहरु :
–मुग्लिन खानेपानी योजना
–कुरिनटार खानेपानी योजना 
–तल्लो जीवनपुर माडी
–अमृत खानेपानी योजना 
–कालिका खानेपानी योजना प्रेमबस्ती
–जुटपानी खानेपानी योजना 
–वीरेन्द्रनगर खानेपानी योजना 
–भण्डारा खानेपानी योजना (धमिलो, अशुद्ध)


 

प्रतिक्रिया दिनुहोस