व्यवसाय दर्ताबाट भरतपुर महानगरले उठायो पौने पाँच करोड

सफल खबर संवाददाता

मंगलबार, ३१ असार २०७६, १७ : २०
व्यवसाय दर्ताबाट भरतपुर महानगरले उठायो पौने पाँच करोड

चितवन । भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७५/७६ मा व्यवसाय दर्ताबाट भरतपुर महानगरले पाँच करोड ७६ लाख ७९ हजार ४ सय १६ रुपैयाँ राजश्व संकलन गरेको छ ।
व्यवसाय दर्ता दस्तुर वापत उठेको कूल रकमको पाँच प्रतिशत उद्योग वाणिज्य संघ चितवन र तीन प्रतिशत चितवन उद्योग संघलाई दिइएको छ । भरतपुर महानगर प्रमुख रेनु दाहालले मंगलबार एक समारोहबीच उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठलाई पाँच प्रतिशतले हुन आउने २३ लाख ७३ हजार नौ सय ७० रुपैयाँको चेक हस्तान्तरण गर्नुभयो । यसैगरी महानगर प्रमुख दाहालले चितवन उद्योग संघका वरिष्ठ उपाध्यक्ष राजु पौडेललाई तीन प्रतिशतले हुन आउने १४ लाख ३० हजार तीन सय ८२ रुपैयाँको चेक हस्तान्तरण गर्नुभयो ।
भरतपुर महानगरपालिका नगर कार्यपालिकाले गत वर्ष साउनमा उद्योग वाणिज्य संघ चितवनलाई व्यवसाय दर्ता दस्तुर वापत संकलित रकमको पाँच प्रतिशत रकम उपलब्ध गराउने निर्णय गरेको थियो । यसैगरी भरतपुर महानगरले चितवन उद्योग संघलाई व्यवसाय दर्ता दस्तुर वापत संकलित रकमको तीन प्रतिशत रकम उपलब्ध गराउने निर्णय गत वर्ष कात्तिकमा गरेको थियो ।


रकम हस्तान्तरण समारोहलाई सम्बोधन गर्नु हुँदै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरपालिकाले निजी क्षेत्रसँगको सहकार्यमा महानगरको आन्तरिक आय वृद्धि गरेको बताउनु भयो । भरतपुर महानगरपालिकाले निजी क्षेत्रसँगको सहकार्यको उत्कृष्ट नमुना प्रस्तुत गरेको भन्दै महानगर प्र्रमुख दाहालले यसलाई भविष्यमा पनि कायम राखिने बताउनु भयो ।
महानगर प्रमुख दाहालले समयमै कर तिर्न आफ्ना उद्योगी तथा व्यवसायीहरुलाई प्रेरित गर्न दुबै संघका पदाधिकारीलाई आग्रह गर्नुभयो । उहाँले उद्योग वाणिज्य संघ तथा उद्योग संघलाई हस्तान्तरण गरिएको रकम संघ र महानगरको सहकार्यमा करदाता शिक्षा र महानगरको भौतिक पूर्वाधार विकासमा खर्च गरिने जानकारी दिनुभयो । यसले उद्योगी तथा व्यवसायीहरुलाई अपनत्व बोध गराउने र महानगरपालिकाको विकास निर्माणमा थप जिम्मेवार बनाउने महानगर प्रमुख दाहालको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस