प्रचण्ड भेट्न किन पुगिरहन्छन कांग्रेस नेता सिटौला ?

असारमा मात्रै प्रचण्ड निवास खुमलटारमा काग्रेस नेता सिटौलाको चार पटक आवत–जावत

सफल खबर संवाददाता

सोमबार, ३० असार २०७६, ०७ : २४
प्रचण्ड भेट्न किन पुगिरहन्छन कांग्रेस नेता सिटौला ?

काठमाडौं । काग्रेस नेता कृष्णप्रसाद सिटौला आइतबार बिहानै पूर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष प्रचण्ड निवास खुमलटार पुगे । प्रचण्डसँग उनले झण्डै सवा घण्टा छलफल गरे । त्यसपछि बाहिरिए ।

कांग्रेस नेता सिटौलाको अचेल प्रचण्डसँगको भेटघाट बाक्लिएको छ । असार महिनामा मात्रै सिटौला प्रचण्ड भेट्न उनको निवास खुमलटार नै चार पटक पुगिसके । अखिर सिटौला किन प्रचण्ड निवास खुमलटार पुगिरहेका छन् ?

सिटौला प्रचण्डसँग पछिल्लो पटक सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोग गठनका विषयमा छलफलका लागि प्रचण्ड निवासमा बाक्लै ओहोरदोहोरमा छन् ।

काग्रेस सभापति शेरबहादुर देउवाकै निर्देशनका आधारमा सिटौला प्रचण्ड निवास पुगेका हुन् । देउवाले सिटौलालाई सत्य निरुपणका सन्र्दभमा सत्तापक्षसँग सहमतिको वातावरण निर्माणका लागि खटाएको कांग्रेस स्रोतको भनाई छ ।

शान्ति प्रक्रियाको बाँकी एउटै काम सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ताको खोजी कार्य मात्र बाँकी छ । हतियार ब्यवस्थापन, सेना समायोजन लगायतका शान्ति प्रक्रियाका काम आफ्नै मौलिक विशेषताका आधारमा नेपालका प्रमुख राजनीतिक दलहरु आफैले टुग्याएका थिए । तर सत्यनिरुपण र बेपत्ताको खोजी कार्य मात्र अहिलेसम्म बाँकी छ ।

यसका लागि पनि अब छिटो एउटा निश्र्कषमा पुग्न राजनीतिक दलहरुलाई दबाब छ । यसका लागि विगतमा सूर्यकिरण गुरुङको अध्यक्षतामा बनाईएको सत्य निरुपण तथा मेलमिलाप आयोगले चार वर्षसम्म उजुरी लिने बाहेकका अन्य काम गर्न नसकेपछि उक्त आयोगको म्याद सरकारले थप्न चाहेन । अहिले सत्य निरुपण र बेपत्ता दुवै आयोगमा नयाँ पदाधिकारी नियुक्ति गरेर प्रक्रिया अगाडी बढाउने सरकारको तयारी छ ।

त्यसका लागि सर्वाेच्च अदालतका पूर्व न्यायधिस ओमप्रकाश मिश्रको संयोजकत्वमा सिफारिस समिति समेत बनाएको छ । तर राजनीतिक तहमा सहमति जुटन नसक्दा आयोग गठनमा बिलम्व भईरहेको छ । सत्य निरुपणमा  ६० हजार भन्दा वढी यस अगाडी नै उजुरी परेका छन् ।

सत्य निरुपणका विषयमा अन्तराष्टिय समुदायले नेपालमा हस्तक्षेपकारी नीति अबलम्वन गर्न खोजेको र राष्टिय अन्तराष्टिय शान्ति प्रक्रिया बिरोधी शक्ति केन्द्रहरुले चलखेल गर्न थालेपछि राजनीतिक दलहरुका वीचमा आफ्नै मौलिकतामा यो प्रक्रियापनि टुंगो लगाउने विषयमा निरन्तर छलफल छ । प्रधानमन्त्री ओलीको पहलमा प्रधानमन्त्री निवास वालुवाटारमै पनि ओली, प्रचण्ड र कांग्रेस सभापति शेरवहादुर देउवाका वीचमा तीन पटक छलफल भईसकेको छ । तर पनि दलहरुले आयोग अध्यक्ष नियुक्तिका विषयमा ब्यक्तिका विषयमा सहमति हुन नसक्दा आयोगमा पदाधिकारी गठनमा ढिलाई भईरहेको छ ।

कांग्रेसले सत्य निरुपण ततकालिन माओवादी र आफुहरुसँग अलिक बढी जोडिएको विषय भएकोले त्यसको नेतृत्व आफुले भनेको ब्यक्ति हुनुपर्ने अडान लिईरहेको छ । प्रधानमन्त्रीलाई बेपत्ता आयोगको अध्यक्ष आफुले निर्णय लिएर सत्यनिरुपणका लागि आफुले भनेको ब्यक्तिलाई आयोग अध्यक्ष बनाउन काग्रेसले भनिरहेको छ । काग्रेसले सत्य निरुपणका लागि डा. सूर्य ढुंगोललाई अगाडी सार्न चाहेको छ । प्रधानमन्त्री ओलीले भने गोविन्द बन्दीलाई अध्यक्ष बनाउन चाहेका छन् ।

यही विषयमा समझदारीका लागि देउवाले पटक पटक प्रचण्डसँग सहमतिको प्रयासका लागि सिटौलालाई राजनीतिक भेटघाटका लागि पठाईरहेका छन् । त्यही कारण पनि सिटौला प्रचण्ड निवास पुगिरहेका हुन् । आइतबार पनि त्यही क्रममा प्रचण्ड निवास खुमलटार पुगेका हुन् ।
 

प्रतिक्रिया दिनुहोस