नदी किनारका बासिन्दालाई नआत्तिन आग्रह

प्रकाश सिग्देल

आइतबार, २९ असार २०७६, १५ : १५
नदी किनारका बासिन्दालाई नआत्तिन आग्रह

चितवन । नारायणी नदी व्यवस्थापन आयोजनाले नदी किनारका बासिन्दालाई नआत्तिन आग्रह गरेको छ ।
आयोजनाले १० वर्षमा २३ किमी तटबन्ध निर्माण गरेको जनाएको छ । चितवन, नवलपुर र नवलपरासीतर्फ तीन जिल्लाको नारायणीले कटान गरेको बिभिन्न क्षेत्रमा गरी हालसम्म २३ किमी तटबन्धन गरिएको आयोजनाका प्रमुख मोहनकुमार शाक्यले बताउनु भयो । चितवनमा ३५ किलोमिटर, नवलपुर र नवलपरासीतर्फ ६५ किलोमिटर तटबन्ध गर्नु पर्ने लक्ष्य रहेको उहाँ बताउनु हुन्छ ।
नेपाल सरकारले तोकेको हरेक वर्षको योजना अनुसार नै सरकारले दिएको बजेट अनुसार हरेक वर्ष नदी कटान ब्यवस्थापन तथा तटबन्ध गर्ने काम गरेको शाक्यले बताउनु भयो । कार्यालयले चालु आवमा ५० करोड बराबरको काम गरेको शाक्य बताउनु हुन्छ । यो वर्ष आफूहरुको क्षेत्र बिस्तार भएको र नारायणी नदी बाहेक चितवनको कयर खोला, केरुगे घोल, लदारी खोला, खगेडी खोला, रिउ नदी र राप्ती नदीका बिभिन्न क्षेत्रमा तटबन्ध समेत गरेको शाक्यले बताउनु भयो । 
मकवानपुरको बकैया र बाग्मती गाउँपालिकामा पनि १ करोडको हाराहारीमा तटबन्धको काम भएको उहाँको भनाई छ । चालु आवमा गर्नु पर्ने सबैजसो काम पूरा भएको शाक्य बताउनु हुन्छ । अब वर्षात सुरु भएकाले तटबन्ध भएका ठाउँहरुको नियमित अनुगमन, निरीक्षण र अन्य कटान हुन सक्ने सम्भावित क्षेत्रमा कटान रोक्नका लागि आवश्यक पूर्वाधारसहित कार्यालय तयारी हालतमा रहेको शाक्यले बताउनु भयो ।
नारायणी नदीमा पानीको सतह खासै नबढेकाले अहिले समस्या नदेखिएको र राप्ती नदीमा भने सौराहको ठमेलछेउ आर्मीको सेन्ट्री पोष्ट नजिक कटान हुन थालेकोले त्यसको तत्काल रोकथामका लागि आफूहरुले तयारी थालिसकेको उहाँ बताउनु हुन्छ । 
नारायणी नदीले अघिल्लो वर्ष कटान गरेको निउरे चोकमा ५ वटा स्पर बनाएको र त्यो क्षेत्रमा पानीको बेगले ठोक्ने क्रम रहिरहेकाले त्यहाँ पुनः जोखिम हुन सक्ने सम्भावना देखेर थप काम सुरु गर्न थालेको उहाँको भनाई छ । नवलपुरतर्फ पनि मध्यबिन्दु २ को बोटेटोलमा अलि जोखिम रहेको र त्यसको ब्यवस्थापनका लागि आफूहरु तयारी हालतमा रहेको उहाँको  भनाई छ ।

कार्यालयले आपतकालीन ब्यवस्थापनका लागि खाली सिमेन्टका बोरा करिब ६० हजार, आवश्यक मात्रामा नाईलनको डोरीबाट बनाइएको जाली र १ सय ५० थान तारजाली तयारी हालतमा राखेको शाक्यले बताउनु भयो ।
कहीँ कटान हुनासाथ बोरामा बालुवा हालेर डोरीले बाँधेर नाईलनको डोरीको जालीमा बोरा हालेर कटान भएको ठाउँमा फालेर कटान रोक्न सकिने उहाँको भनाई छ । आफूहरुले प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतसंग पनि बारम्बार छलफल गरिरहेको र उहाँकै सल्लाह बमोजिम केही थान तार जाली किन्ने तयारीमा रहेको उहाँले बताउनु भयो । 
केही ठाउँमा एक्साभेटरमार्फत ठुला ढुङ्गा हालेर पनि पानीको बेगलाई फर्काउने काम गरेको शाक्यको भनाई छ । आफूहरुको काम गराई र ईन्जिनियर्सको फिल्ड रिपोर्टका आधारमा यस पटक खोला तथा नदीले कटान गरेर बस्ती छिर्ने सम्भावना भने नभएको उहाँको भनाई छ । आफूहरुले राप्ती नदीमा तटबन्ध गरेपछि मकवानुपर जिल्लाका नदी तटीय क्षेत्रका स्थानीयहरुले बाढी बस्ती पस्नबाट जोगिएको प्रतिक्रिया दिएको उहाँले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस