जेलमै पुगेर किन भेटे बिप्लब समुहका नेता वलीलाई बिष्णु पौडेलले ?

नख्खु कारागारमा बन्दी जीवन विताईरहेका हेमन्तप्रकाश वली (सुर्दशन) सँग नेकपा महासचिव विष्णु पौडेलको अर्थपूर्ण भेटवार्ता

सफल खबर संवाददाता

आइतबार, २९ असार २०७६, ०७ : ३९
जेलमै पुगेर किन भेटे बिप्लब समुहका नेता वलीलाई बिष्णु पौडेलले ?

काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव)का स्थायी समिति सदस्य हेमन्तप्रकाश वली (सुर्दशन) यतिबेला ललितपुरको नख्खु कारागारमा बन्दी जीवन बिताईरहेका छन् । गत चैत ९ गते काभ्रेबाट पक्राउ परेका उनीमाथी विभिन्न अभियोगमा सरकारले मुद्धा लगाएको छ । जेलमा रहेका उनलाई गत असार १९ गते सत्तारुढ दल नेकपाका महासचिव विष्णु पौडेलले जेलमै पुगेर गोप्य भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री केपी ओलीकै निर्देशनमा पौडेल सुर्दशनलाई भेट्न जेल पुगेका हुन् । सरकारले चन्द नेतृत्वको पार्टीसँग वार्ता र सम्वाद थाल्न चाहेको र त्यसको वातावरण निर्माणका लागि प्रधानमन्त्री ओलीले जेलमै रहेका सुर्दशनमार्फत पहलकदमी लिन लगाउनका लागि पौडेललाई खटाएका थिए ।

त्यही आधारमा पौडेल नख्खु कारागार पुगेका थिए । पौडेलले कार्यालय समय बितिसकेपछि साझ नख्खु पुगेर सुर्दशनसँग झण्डै ढेड घण्टा लामो छलफल गरेका थिए ।

नख्खु कारागार पुग्नु अगाडी पौडेलले जेलरलाई टेलिफोन गरी आफु कारागार आउन लागेको सूचना दिएर पुगेका थिए । कारागार पुगेपछि पौडेलले जेलरकै रुपमा बन्दी जीवन बिताईरहेका विप्लवका नेता सुर्दशनलाई ल्याउन आग्रह गरेका थिए ।

त्यसपछि जेलरका कोठामा ल्याईएका सुर्दशनसँग जेलरलाई समेत बाहिर निकालेर पौडेल र सुर्दशनका बीचमा झण्डै ढेड घण्टा लामो सम्वाद भएको थियो । यो सम्वादलाई अहिले सत्तारुढ दल मात्र होइन, स्वंम विप्लवको पार्टीसम्मले निक्कै अर्थपूर्ण रुपमा लिएको छ ।

पौडेल सरकार र विप्लव नेकपाबीचको वार्ताको वातावरण निर्माणका लागि प्रधानमन्त्रीको दुतका रुपमा जेल पुगेका थिए । यस अगाडी पनि प्रधानमन्त्री ओलीले विखण्डनको नारा लगाउादै आएका सिके राउतसँगको सम्वादका लागि पनि पौडेललाई सम्र्पक दुतका रुपमा परिचालन गरेका थिए ।

विप्लव नेकपाले सरकारले आफ्ना केही शर्त पूरा गरेको खण्डमा वार्तामा बस्न तयार भएको सन्देश सरकारका विभिन्न निकायमार्फत प्रधानमन्त्रीकहाँ सूचना पुगेपछि ओलीले जेलमा रहेका सुर्दशनलाई भेटी अवस्था बुझ्न महासचिव पौडेललाई खटाएका थिए ।

दुई नेताको बीचमा भएको भेटमा नेता सुर्दशनले आफुलाई भेट्न आएकाहरुमाथी निगारानी बढाईएको, सञ्चारबाट टाढा राखिएको लगायतका गुनासो पोखेका थिए । पौडेलले भने वार्ता र सम्वादमा आई आफना माग राख्न र शान्तिपूर्ण सम्वादबाटै सरकार समस्याको समाधान खोज्न तयार रहेकोले वार्तामा आउनका लागि भूमिका खेलिदिन नेता सुर्दशनसँग आग्रह गरेको स्रोत बताउँछ ।

त्यसपछि नै अहिले हेमन्तप्रकाश वलीसँगको भेटका लागि पुग्नेहरु माथीको निगारानीमा अहिले अलिक लचक नीति सरकारले लिएको छ । त्यस्तै आवश्यक पर्दा मोबाइल प्रयोग गर्न दिन समेत महासचिव पौडेलले जेलरलाई निर्देशन दिएर फर्केको स्रोतको भनाई छ ।

विप्लवका तीन शर्त

सरकारसँग वार्ताका लागि विप्लव पार्टीले तीन शर्त अगाडी सारेको छ । पहिलो पार्टीमाथी लगाईएको प्रतिबन्ध हटाउनुपर्ने, दोश्रो, वन्दी बनाईएका आफ्ना नेता कार्यकर्ताको रिहाई गर्नुपर्ने र तेश्रो वार्ताका लागि सरकारका तर्फबाट पार्टीलाई औपचारिक पत्र लेख्नुपर्ने ।

विप्लवको पार्टीको पछिल्लो उपलब्ध नेताहरुको बैठकमा पार्टीभित्रै वार्ताको दबाब महासचिव विप्लवमाथी परेको थियो । त्यो क्रममा विप्लवको पार्टीले सरकारले आफ्ना केही शर्त पूरा गरे वार्तामा बस्न सकिने गरी नीति तय गरेको थियो ।

त्यही वार्ताले आफ्ना तीन शर्त सरकारले पूरा गरे वार्तामा बस्न तयार रह्ने निर्णय गरेको थियो । विष्णु पौडेलसँग सुर्दशनले पनि तिनै तीन शर्त अगाडी सारेका थिए ।

विप्लव पार्टीका केन्द्रीय नेता गुणराज लोहनीले विविसिसँगको अन्र्तवार्ताका क्रममा सरकार संवेदनशील भएर वार्तामा बस्न चाहेको भए आफुहरुको तीन ओटा शर्त पूरा गर्नुपर्ने बताएका थिए । विप्लवका तीन शर्तका विषयमा भने सरकारको तर्फबाट औपचारिक धारणा सार्वजनिक त भएको छैन । तर भित्रभित्रै दुई पक्षका नेताहरुका बीचमा गोप्य सम्वादहरु भने हुन थालेको छ । 

प्रतिक्रिया दिनुहोस