वर्षादको वितण्डा : सप्तकोशीमा रातो बत्ती बालियो, नारायणीको बहाव बढ्यो

सफल खबर संवाददाता

शुक्रबार, २७ असार २०७६, १५ : ११
वर्षादको वितण्डा : सप्तकोशीमा रातो बत्ती बालियो, नारायणीको बहाव बढ्यो

चितवन । देशका ठूला दुई नदीमा पानीको बहाव उच्च भएको छ । बिहीबार रातिदेखि निरन्तर परेको भारी वर्षाले सप्तकोशी र नारायणी नदीको बहाव उच्च भएको छ । 

सप्तकोशी नदीमा पानीको बहाव उच्च भएपछी खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ ।  कोशीव्यारेज कनट्रोल रुमले सप्तकोशीमा शुक्रबार बिहान ७ बजे पानीको बहाव प्रतिसेकण्ड १ लाख ६५ हजार ७२० क्युसेक पुगेको र अहिले बहाव बढ्दै गएको जनाएको छ ।ब्यारेजका ३२ वटा ढोका खोलिएका छन्।  

जिल्ला प्रहरी कार्यलय सुनसरीका डीएसपी ज्ञानेन्द्र फ्युयालले बहाब बढ्ने क्रम जारी रहेको बताए ।  १ लाख ५० हजार क्युसेक प्रतिसेकेण्ड नाघेको खण्डमा कोशीको बहावलाई प्रारम्भिक सावधानी सूचकको रुपमा लिने गरिन्छ। नदीको जलस्तर बढ्दा कोशी ब्यारेजमा भन्दा सम्भावित जोखिम भने आसपासका क्षेत्रमा पर्छ।  

नदीमा थुप्रिएको बालुवाका कारण कोशीको बहाव क्षमतामा ह्रास आएको छ।  ३ लाख क्युसेकको बहाव समेत कोशीका लागि खतरापूर्ण हुन सक्ने भएको हुँदा पूर्व तयारी र सावधानी अपनाउन सुझाव दिइएको छ ।  स्पर मर्मत र नियमित अनुगमनको क्रमलाई जारी राखिएको सुनसरी प्रशासनले जनाएको छ।  अहिले सम्म कोशीमा कुनै खतरा नरहेको प्रशासनले स्पष्ट पारेको छ। 

अघिल्लो वर्ष वर्षायामको मध्यतिर कोशी नदीमा पानीको बहाव पौने ४ लाख क्युसेक प्रतिसेकेण्ड पुगेको थियो। वर्षाका कारण सुनसरीका खोला तथा नालाहरुमा पानी बढेपनि कहिँकतै डुबानको अवस्था भने नरहेको सुनसरी प्रहरीले जनाएको छ। 

यता, नाराययाणी नदीमा पानीको बहाब बढिरहेको हुनाले सचेत हुन आग्रह गरिएको छ । मौसम पूर्वानुमान महाशाखाले नारायणी नदीमा पनि पानीको बहाव बढेको हुनाले नदी छेउछाउका बासिन्दालाई सजग अवस्थामा रहन आग्रह गरेको छ । 

प्रतिक्रिया दिनुहोस