भारी वर्षाको विपद् : हालसम्म कहाँ केके भयो ?

सफल खबर संवाददाता

शुक्रबार, २७ असार २०७६, १४ : ०१
भारी वर्षाको विपद् : हालसम्म कहाँ केके भयो ?

काठमाडौं । बिहीबार रातिदेखि मुलुकका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण जनजीवन प्रभावित भएको छ । हालसम्म रामेछाप, काभ्रेपलाञ्चोक, भोजपुर, ललितपुर र पर्सामा गरी ७ जनाले जनाले ज्यान गुमाएका छन् ।

बनेपा–३, नालामा भूकम्प पीडितको घरमाथि पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते छन् । मृत्यु हुनेमा ५५ वर्षीया गोमा दंगाल र ७ वर्षीय सोहनी दंगाल रहेका छन् । घटनामा बुहारी ३० वर्षीया शुशिला र तीन महिने नातिनी अनुश्का घाइते छन् ।

रामेछापमा पनि पहिरोले पुरिएर रामपुरकी ४५ वर्षीया पदमकुमारी सुनुवारको मृत्यु भएको छ । अर्का एक जना घाइते छन् । भोजपुरमा पनि पानीको भेल घरभित्र पस्दा भत्किएको पर्खालले लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामप्रसाद राई गाउँपालिका–७, बासिखोराका ६६ वर्षीय जगतबहादुर राई छन् ।

टेम्केमैयुङ गाउँपालिका–९, लेखर्कका १४ वर्षीय बालक जनक विकको पनि शौच गर्ने क्रममा पहिरोले चर्पीसहित पुरिएर घटनास्थलमै मृत्यु भएको छ ।

चितवन प्रहरीका अनुसार माडी–३ र ४ को सिमानामा रहेको मगई खोला र घांगर खोलामा पानीको वहाव बढ्दै गएको छ । नारायणगढ माडी सडक खण्डमा चल्ने सवारी साधन चलेको छैन ।

पाल्पाको तिनाउ–५, केराबारीमा वर्षाद् कारण सिद्धार्थ राजमार्ग अबरुद्ध भएको छ । काठमाडौं–२१, लगनमा ढुंगाले बनेको कच्ची घर वर्षाले भत्काएको छ । वर्षाका कारण महोत्तरीको जलेश्वर कारागार पनि जलमग्न भएको छ । 

अविरल वर्षाका कारण जनकपुरधाम उपमहानगरपालिका पनि जलमग्न भएको छ । प्रहरीका अनुसार सिन्धुलीको गोलान्जोर–२, बित्तिजोरमा अविरल वर्षासँगै परेको चट्याङले एक जना घाइते भएकी छन् । सडकमा पहिरो खसेपछि गए रातिदेखि विपी राजमार्ग र मध्यपहाडी लोकमार्ग पनि अवरुद्ध भएको छ । 

रौतहटमा बाढीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध बनेको छ भने लाल बकैया नदीले बन्जरहाको बाँध कटान गर्दा आधा दर्जन बस्ती डुवानमा परेका छन् ।

अविरल वर्षापछि चन्द्रपुर लच्कामा आएको बाढी सडकमा पसेपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध बन्न पुगेको रौतहट प्रहरीले जनाएको छ । रौतहटको गढीमाई नगरपालिका–३ लक्ष्मीपुरमा बागमतीले बाँध भत्काएको छ । 
 

प्रतिक्रिया दिनुहोस