छवि र शिल्पाबीच भयो सहमती

सफल खबर संवाददाता

विहीबार, २६ असार २०७६, १५ : ५२
छवि र शिल्पाबीच भयो सहमती

काठमाडौं । चलचित्र निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलबीच सहमति भएको छ । महानगरी प्रहरी परिसर, टेकुमा भएको दुवै पक्षको छलफलपछि दमपति पोखरेल र ओझाबीच सहमति पत्रमा हस्ताक्षर भएको हो । सहमती पत्रमा उनीहरुले एकले अर्काबीच कुनै किसिमको पारिवारिक र व्यक्तिगत आक्षेप नलगाउने प्रतिबद्धता जनाएका छन् । 

अभिनेत्री शिल्पा पोखरेलले ओझाको विरुद्ध घरेलु हिंसा भएको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् । त्यसपछि प्रहरीले उनीहरुलाई आज छलफलको लागि बोलाएको थियो । निर्माता ओझाले प्रहरीसमक्ष शान्ति सुरक्षामा कुनै पनि आँच आउने कुरा नगर्ने प्रतिबद्धता जनाएपछि दुवैबीच सहमति भएको प्रहरीले जनाएको छ । 

पाखरेलले छवीसँग डिभोर्सको माग राखेको बताइए पनि छलफलमा त्यस विषयले प्रवेश पाएन । त्यो विषय उजुरीमा नभएको र व्यक्तिगत कुरा भएकाले प्रहरी कहाँ छलफल नभएको बताइएको छ ।

लामो अफयेरपछि शिल्पा र ओझाबीच २०७३ सालमा गोप्यरुपमा बिबाह भएको थियो । लामो समय उनीहरुले आफ्नो बिबाहलाई लुकाए । तर, गत वर्ष मात्र निर्माता छविराज ओझाले आफूहरुले बिबाह गरिसकेको बताएका थिए । शिल्पासँग बिबाह गर्नुअघि छविराजका तीन जनासँग बिबाह भइसकेको थियो । शिल्पा चौथो श्रीमतीको रुपमा भित्रिएकी हुन् ।  रेखा थापा छविराजको तेस्रो श्रीमती थिइन् ।

शिल्पालाई चलचित्र क्षेत्रमा ओझाले नै भित्र्याएका थिए । म्युजिक भिडियोमा काम गरिरहेकी शिल्पालाई छविराजले चलचित्र ‘लज्जा’ मार्फत् यस क्षेत्रमा डेब्यु गराएका थिए ।

प्रतिक्रिया दिनुहोस