धुर्मुस सुन्तली फाउण्डेसनद्वारा रंगशाला निर्माणको कामलाई निरन्तरता दिने निर्णय (प्रेस विज्ञप्तिसहित)

सफल खबर संवाददाता

विहीबार, २६ असार २०७६, १५ : १३
धुर्मुस सुन्तली फाउण्डेसनद्वारा रंगशाला निर्माणको कामलाई निरन्तरता दिने निर्णय (प्रेस विज्ञप्तिसहित)

चितवन । भरतपुर महानगरपालिका वडा नम्बर १५ मा गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणमा जुटेको धुर्मुस सुन्तली फाउण्डेसनले रंगशाला निर्माणको कामलाई निरन्तरता दिने निर्णय गरेको छ । फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेलले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै रंगशालाको कामलाई निरन्तरता दिने निर्णय भएको जानकारी दिएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘परियोजना सुरु गर्नका लागि चितवन जिल्लाको तर्फबाट गठित सर्वपक्षीय पाँच हजार एक सदस्यीय मूल सहयोग समितिको सचिवालय बैठकले रंगशाला निर्माणका लागि पटकपटक गरेको आह्वानसाथै जिल्लाबाट वातावरण सहज भएको प्रतिवद्धता व्यक्त भएपश्चात हामीले रंगशालाको कामलाई निरन्तरता दिने निर्णय गरेका छौँ ।’

रंगशाला निर्माणस्थलमा बाटोको विषयलाई लिएर गत जेठ १५ गते बिहान अस्थायी तारबार डोजर प्रयोग गरी स्थानीयवासीले भत्काएपछि रंगशाला निर्माणको काम फाउण्डेसनले रोकेको थियो । फाउण्डेसनले बिहीबार जारी गरेको विज्ञप्तिमा डोजर प्रयोग गरी अराजकता प्रदर्शन भएको र यसले रंगशाला निर्माण अभियानको आधार हल्लाउने काम भएको उल्लेख छ । फाउण्डेसनले रंगशाला निर्माण कार्यमा आआफ्नो स्थान र क्षेत्रबाट ऐक्यवद्ध हुन सरोकारवालालाई अपिल गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस