एउटा सामुदायिक विद्यालय : जसले गर्छ वर्सेनि ‘रेकर्ड ब्रेक’

सफल खबर संवाददाता

विहीबार, २६ असार २०७६, १३ : १७
एउटा सामुदायिक विद्यालय : जसले गर्छ वर्सेनि ‘रेकर्ड ब्रेक’

चितवन । चितवनकोे एउटा सामुदायिक विद्यालय, जसले वर्सेनि कुनै कुनै रेकर्ड ब्रेक गरिरहेको छ । चाहे खेलमा होस्, चाहे शैक्षिक गुणस्तरमा लगातार रेकर्ड ब्रेक गरिरहेको छ । 

भरतपुर महानगरको पश्चिम क्षेत्रमा रहेको जानकी माविले लगातार तीन वर्षसम्म खेलमा रेकर्ड ब्रेक गरेको थियो । यसपटकको एसईईमा चितवन जिल्लाकै सातौँ भएर शैक्षिक गुणस्तरमा पनि विद्यालयले रेकर्ड नै ब्रेक गरेको छ । 
देशमै खेलाडी जन्माउने स्कुल भनेर चिनिन्छ जानकी माविलाई । खेलमा जानकी माविको प्रतिस्पर्धा जानकीसँग मात्रै हुने गरेको छ ।

यस स्कुलका प्रधानाध्यापक दुर्गाप्रसाद सापकोटाले सम्झिए, ‘जानकी माविको खेलाडी भनेपछि जिल्लामा कुनै स्कुलले प्रतिस्पर्धा गर्न सक्थेनन्, राष्ट्रपति रनिङ शिल्डमा लगातार तीन वर्ष जानकीले जिल्ला ब्रेक गरेको थियो ।’ 

यहाँसम्म पुगे जानकीका खेलाडी
जानकी मावि र खेल पर्यायजस्तै भइसकेको छ । उत्कृष्ट खेलाडी उत्पादन गर्ने चितवनमा एउटा विद्यालय छ त्यो जानकी भन्दा फरक नपर्ला । स्थानीय स्तरमा भएका खेलमा जानकीले पुरस्कार नजिती फर्केको सायदै होला । जिल्लामा हुने खेलहरुमा पनि जानकीको उपस्थितिले सबै विद्यालयलाई एक पटक झस्काउँछ । धेरैको अन्तरले खेल जितेर फर्कन्छ जानकी । 

जानकीले उत्पादन गरेका एक दर्जन खेलाडीले राष्ट्रिय स्तरमा तहल्का पिटेका छन् । जानकीले उत्पादन गरेको खेलाडी भुवन महतोले साफ खेलमा उधूम मच्चाएका थिए । लमजङ ट्रिपलजम्पका राष्ट्रियस्तरका खेलाडी महतोलाई जानकी माविले नै खेलाडी बनाएको प्रअ सापकोटाले बताए । 

जानकीकै खेलाडी आरती सुवेदी आउँदै गरेको साफ खेलमा सहभागी हुन छनौट भइसकेकी छन् । भलिबल खेलाडी सुवेदीलाई साफ खेलसम्म लैजान जानकी माविकै देन रहेको प्रअ सापकोटाको भनाइ छ । जानकीकै खेलाडी मोनिका महतो ज्याम्लिङ थ्रोमा ३ नं प्रदेशकै प्रथम भइन् । गत वर्ष जानकीका खेलाडी प्रदेशस्तरीय भलिबलमा दोस्रो भए । 
‘खेल र खेलाडी भन्ने बित्तिक्कै जानकी माविलाई सम्झन थालिएको छ’ प्रअ सापकोटाले भने, ‘खेल र खेलाडीको लागि हामीलाई सहयोग उपलव्ध भए हामी अझ अगाडि बढ्न सक्छौँ, सीमित साधन स्रोतले यहाँसम्म आएकोमा हामीलाई गर्व लाग्छ ।’

शैक्षिक गुणस्तरमा जम्प 
जानकीले २०७५ को एसईईमा ठूलै जम्प गरेको छ । जानकी अहिलेको एसईईमा चितवनको सातौँ भयो । प्रअ सापकोटाले भने, ‘खेलमा मात्र होइन, अब गुणस्तरमा पनि हामी अघि बढ्छौँ, देशकै नमुना विद्यालयको रुपमा जानकीलाई परिवर्तन गर्न लागिरहेका छौँ ।’

प्रअ सापकोटाले लागिपरे सामुदायिक विद्यालय सुधार्न सकिने बताए । उनले भने, ‘प्रअ विद्यालयको म्यानेजर हो, उसले राम्रो म्यानेज गरेर अगाडि बढ्यो भने सामुदायिक विद्यालयको प्रगति हुन्छ भन्ने मलाई अनुभव भएको छ ।’ 

विद्यालयमा राजनीति नगरौँ 
प्रअ सापकोटाले शैक्षिक गुणस्तरको भाइरस राजनीतिलाई देखेका छन् । उनी भन्छन्, ‘जुन स्कुलमा राजनीति हुन्छ, त्यो स्कुलको प्रगति हुँदैन, जिल्लाको नतिजा हेर्नूस्, राजनीति हुने गरेका स्कुलको नतिजा कमजोर आएको स्पष्ट देखिन्छ ।’

सापकोटाका अनुसार कक्षा कोठामा जान छोडेर राजनीति गर्ने विद्यालय अघि बढ्दैन, विद्यालयलाई सुधार्न विद्यालयमा हुने राजनीति त्याग्नुपर्छ । उनले भने, ‘जानकी माविभित्र पसेपछि शिक्षकको राजनीति डिलिट हुन्छ, आस्था एक ठाउँमा छ, त्यसको सम्मान गर्नुपर्छ । तर विद्यालयको गेटबाट पसेपछि छुट्टी नभएसम्म शिक्षकले राजनीतिबाट विश्राम लिन्छन् ।’ जानकी माविको भित्र राजनीति बहस नहुँदा नै विद्यालयको नतिजामा सुधार हुँदै गएको उनको भनाइ छ । 

यसबाहेक शिक्षकहरुको टिम, अभिभावकको सक्रियता, लगाव, प्रअको व्यवस्थापना यस्ता यावत विषयले पनि नतिजालाई प्रभाव पार्ने प्रअ सापकोटाको भनाइ छ । उनी भन्छन्, ‘शिक्षकलाई गाली गरेर मात्र हुँदैन, उत्साह जगाउन आवश्यक छ, टिमवर्क हुन जरुरी छ ।’

अघि बढ्दै जानकी 

२०२५ सालमा पर्साढापको आँपको बगैँचामा ८० विद्यार्थी लिएर जन्मेको हो जानकी । अहिले झन्डै ८०० विद्यार्थी पुगेका छन् । कति सामुदायिक विद्यालयमा विद्यार्थी जम्मा गर्न ठूलै पापड मोल्नुपर्छ, तर जानकीलाई विद्यार्थी जुटााउन कुनै कष्ट गर्नै पर्दैन । २०४० सालबाट यसले एसईई परीक्षा दिँदै आएको छ । यसअघि मध्यम नतिजा आएपनि यसपटक जानकीले नतिजामा कोल्टे फेरको स्यम् अभिभावकले महसुुस गरेका छन् ।

२०५८ सालदेखि शिक्षा र व्यवस्थापन संकाय चलाएको यस विद्यालयले २०७४ सालदेखि विज्ञान विषय पनि चलाएको छ । प्रअ सापकोटाले भने, ‘हाम्रो स्कुलको कुनै आम्दानी छैन, तर हामी गरिब तथा जेहेन्दार विद्यार्थीलाई विज्ञान पढाइरहेका छौँ, सबैको सहयोगबाट हामी अघि बढिरहेका छौँ ।’
केही समयअघि मात्र विद्यालयले स्वर्ण महोत्सव मनाएको छ । स्वर्ण महोत्सवबाट १ करोड ७८ लाख रकम जम्मा भएको थियो । यस रकममध्ये ७० लाख पूर्वाधारमा जानकीले खर्च गरेको छ । 

यस्ता छन् जानकीको योजना 
यसपटक सातौं स्थानमा रहेको जानकी अर्कोवर्ष अझ अगाडि बढ्ने प्रतिबद्धता गरेको छ । प्रत्येक कक्षा कोठामा कम्प्युटरबाट अध्यापन सुरु गर्ने योजना पनि बनेको छ । प्रअ सापकोटाले भने, ‘छात्रावास बनाउने योजना पनि बनाएका छौँ, सभा हल बनाउने योजना छ । यस क्षेत्रकै नमुना विद्यालय बनाउने संकल्प गरेका छौँ ।’ 

विज्ञान संकाय चलाउनु आफैँमा अत्यन्तै जटिल विषय हो, तर जानकीले सीमित साधन स्रोतका बीच पूरा विद्यार्थीहरुलाई छात्रावृत्ति दिएर विज्ञान संकाय चलाएको छ । विज्ञानमा कुनै दरवन्दी विद्यालयले हालसम्म पाएको छैन । 

हरिबहादुर भण्डारीको ठूलो योगदान 
प्रअ सापकोटाले विद्यालयलाई यहाँसम्म ल्याउन पूर्व विद्यार्थी हरिबहादुर भणडरीको ठूलो योगदान रहेको बताए । भण्डारीको संस्था क्लिनिक नेपालले विद्यालयलाई सहयोग गरिरहेको छ । गत वर्षदेखि विद्यालयले स्कुल बस हालेको छ । क्लिनिक नेपालकै सहयोगमा विज्ञान संकायका विद्यार्थीहरु छात्रवृत्तिमा पढिरहेका छन् । प्रअ सापकोटाले भने, ‘विज्ञान संकाय पढाउन वार्षिक १० लाख खर्च भएको छ, विद्यालयको कुनै आम्दानी छैन, क्लिनिक नेपालकै सहयोगले हामी यहाँसम्म आएका छौँ ।’

 


 

प्रतिक्रिया दिनुहोस