सरकार एकपछि अर्को विवादमा फँस्दै, अर्थतन्त्र ओरालो झर्दै, चुलियो व्यापार घाटा

सफल खबर संवाददाता

मंगलबार, २४ असार २०७६, १७ : २५
सरकार एकपछि अर्को विवादमा फँस्दै, अर्थतन्त्र ओरालो झर्दै, चुलियो व्यापार घाटा

काठमाडौं । सार्वजनिक मञ्च पाउने बित्तिकै हावादारी भाषण गर्न माहिर प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अर्थतन्त्रलाई चौपट पारेको तथ्यांक सार्वजनिक भएका छन् । सरकारले जताततै प्रगति गरिरहेको, काठमाडौंका नागरिकले मास्क लगाउन छाडेको जस्ता प्रधानमन्त्री ओलीका भनाइ उडन्ते र हावादारी प्रमाणित भएका छन् ।
तित्राको मुखै बैरी भने जस्तै ओलीले जति बोल्दै जान्छन् उत्ति नै विषय बिगँदै गएको छ । सिंहदरबारले गर्नुपर्ने काम हुन सकेको छैन । सरकार एकपछि अर्को गर्दै विवादमा फँस्दै गएको छ । गाँउगाँउमा पुगेका भनिएका सिंहदरबारले जनतालाई कुनै राहत दिन सकेको छैन । प्रदेश सरकार बेकामे भएका छन् । स्थानीय निकायका जनप्रतिनिधि डोजर जोडन र भ्रष्टाचार गर्न लागेका छन् ।
प्रधानमन्त्री ओलीको गफमा देशभर विकास भएको, एक हजार किलोमिटर बाटो कालोपत्रे भएको, विप्रेषण बढेको पनि भन्न छुटाएका छैनन् । आर्थिक वृद्धि दर बढेको र चालु आवमा ७ दशमलव १ प्रतिशत आर्थिक वृद्धि हुने गफ पनि राम्रै लगाएका छन् । तर नेपालमा आउन लागेको वैदेशिक लगानीको मात्रा ६५ प्रतिशतले घटेको छ । आन्तरिक लगानी समेत घटेको छ । 
वैदेशिक व्यापार घाटा चुलिँदै जाँदा मुलुकको बजेटको आकार नजिक पुगेको छ । पछिल्लो ११ महिनाको व्यापार घाटा करिब १३ खर्बबाट माथि पुगेको छ । चालु आर्थिक वर्षको बजेट झन्डै १३ खर्ब हाराहारी छ । मुलुकको कूल बजेट बराबरकै व्यापार घाटा भएको छ । ओली सरकारले अर्थतन्त्रमा प्रगति भएको बताए पनि तथ्यांकले त्यसो भन्दैन ।  
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष ११ महिनाको वैदेशिक व्यापार घाटा १२ खर्ब ९४ अर्ब ९६ करोड पुगेको छ । चालु आवको बजेट पनि १३ अर्ब १५ अर्ब बराबरको रहेको छ । मुलुकको व्यापार घाटाको वृद्धि दर हेर्दा चालु आर्थिक वर्षको १२ महिनाको तथ्याङ्क आएपछि बजेटको आकार नाघ्ने सहजै देखिन्छ ।  
पछिल्लो ११ महिनाको व्यापार घाटा गत वर्षको सोही अवधिको तुलनामा १७.४० प्रतिशतले बढी रहेको भन्सार विभागको भनाइ छ ।  गत वर्ष ११ महिनामा मुलुकको व्यापार घाटा १० खर्ब ३२ अर्ब ३२ करोड पुगेको थियो । हरेक वर्ष व्यापार घाटा बढेपनि बजेट बराबर नै व्यापार घाटा हुन लागेको यो पहिलो पटक हो । व्यापार घाटा बढेर अर्थतन्त्र नै चौपट अवस्थामा पुग्न लागेको बेला समेत ओली सरकार र उनका अर्थमन्त्री समेत सो विषय समेत थाहा नपाएको जस्तै गरेर बसेका छन् । त्यसो  त सोमबार बसेको नेकपा संसदीय दलको बैठकमा समेत अर्थमन्त्रीको कार्यशैली प्रति चर्को आपत्ति जनाएका थिए । 
भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुवीर महासेठ र नेकपा नेता भीम रावलको बीचमा तँ तँ र म म नै भएको थियो । भीम रावलले महासेठले आफ्नो जिल्लामा बढी बजेट लगेर अन्य जिल्लालाई उपेक्षा गरेको, योजना स्वीकृति गर्दा समेत रकम माग गरेको भन्दै आपत्ति जनाएका थिए । पैसा नलिइकन आफ्नै पार्टीका सांसदले पेश गरेको योजना स्स्वीकृति दिँदा समेत मन्त्री महासेठले पैसा मागेको भन्दै संसदीय दलको बैठकमा नै हंगामा भएको थियो ।  

आर्थिक नीति असफल
पछिल्लो तथ्यांकअनुसार ११ महिनामा मुलुकले १३ खर्ब ८७ अर्ब ६३ करोडभन्दा धेरैको वैदेशिक व्यापार गरेको भएपनि घाटाको मात्रा बढी देखिनुले ओली सरकारको कार्यशैली र आर्थिक नीति असफल भएको सहजै अनुमान गर्न सकिन्छ । जुन गत वर्षको तुलनामा १७.५० प्रतिशतले बढी भएको तथ्यले स्पष्ट पारेको छ । कूल वैदेशिक व्यापारमध्ये आयात १२ खर्ब ९९ अर्ब ८० करोड रहेको छ । यो पनि गत वर्षको सोही अवधिको तुलनामा १७.४५ प्रतिशतले बढी भएको भन्सार विभागले बताउँछ । 
अर्थमन्त्री डा युवराज खतिवडाले सरकारलाई असहयोग गर्ने खालका र धेरै नकारात्मक तथ्यांक सार्वजनिक नगर्न नेपाल राष्ट्र बैंक र भन्सार विभागलाई निर्देशन नै दिएका छन् । उनले सरकारलाई अप्ठ्यारो पर्ने कुनै पनि तथ्यांक सार्वजनिक भए सम्बन्धित निकायका प्रमुख र सम्बन्धित विभागका प्रमुखलाई समेत कारवाहीको दायरामा ल्याउने चेतावनी दिएका छन् । सोही चेतावनीका असर स्वरुप केन्द्रीय बैंकले सरकारलाई अप्ठ्यारो पर्ने खालको कुनै पनि तथ्यांक सार्वजनिक गर्ने गरेको छैन । 
अर्थमन्त्री डा खतिवडाका ज्वाई रामशरण खरेललाई देखाएरमात्रै तथ्यांक सार्वजनिक हुने गरेको छ । खरेल केन्द्रीय बैंकका जुनियर कर्मचारी हुन् । जुनियर कर्मचारीले गभर्नर लगायत वरिष्ठ कर्मचारीलाई जे जे मनमा आयो त्यही त्यही निर्देशन दिने गरेको भन्दै असन्तुष्टि चुलिएको छ । राष्ट्र बैंकका उच्च अधिकारी अर्थमन्त्रीसँगै उनका ज्वाईको समेत ज्यादती बढेकोमा आक्रोशित छन् । उनीहरुले आक्रोश स्वरुप कहिलेकाहीँ अर्थमन्त्रीले गोग्य भनेर जारी गरेका निर्देशन सार्वजनिक गरिदिएर अर्थमन्त्रीलाई नै सबक समेत सिकाइदिएको उदाहरण पनि बग्रेल्ती रहेको छ । 

निर्यातको अवस्था निकै कमजोर
भन्सार विभागका अनुसार निर्यातको अवस्था भने निकै कमजोर छ । ११ महिनामा मुलुकले ८७ अर्ब ८३ करोडको सामान निर्यात गरेको छ । निर्यात वृद्धि १८.१८ प्रतिशत रहेको छ । गत आवको वर्ष ११ महिनामा निर्यात ७४ अर्ब ३२ करोड रहेको थियो । गत वर्षभन्दा चालु वर्षमा खासै प्रगति नभएको समेत सोही तथ्यांकले देखाएको छ ।  
कूल व्यापारमा आयातको प्रतिशत ९३.७ प्रतिशत छ भने निर्यात ६.३ प्रतिशतमा सीमित छ । त्यस्तै चालु आवको ११ महिनामा आयात–निर्यात अनुपात १४.८ छ जुन गत वर्ष सोही अवधिको दाँजोमा शून्य दशमलब १ ले कमी आएको छ ।  मुलुकको सबैभन्दा धेरै व्यापार घाटा भारतसँग रहेको देखिन्छ । 
गएको ११ महिनामा भारतसँग मात्रै ७ खर्ब ५० अर्ब ८६ करोडको व्यापार घाटा सहनु परेको विभागको तथ्यांकमा समेटिएको छ । भारतबाट ८ खर्ब ४१ अर्ब ६७ करोडको आयात गर्दा ५६ अर्ब ५९ करोडको मात्रै निर्यात भएका कारण ओली सरकारको आत्मनिर्भरताको नारा पनि केवल कोरा नारामा परिणत भएको छ । 
नेपालले व्यापार घाटा धेरै हुने अर्को मुलुक चीन रहेको छ । चालु आवको  ११ महिनामा चीनसँगको व्यापार घाटा १ खर्ब ८४ अर्ब ६३ करोड रहेको छ । नेपालले चीनमा १ अर्ब ९६ करोडको निर्यात गर्दा १ खर्ब ८६ अर्ब ६० करोडबराबरको सामान आयात गरेको छ । 
ओली सरकार राष्ट्रिय अर्थतन्त्रको विस्तार गर्न असफल देखिएको छ । अर्थतन्त्र नै चौपटमा पर्ने अवस्था आएकाले तत्काल ओली र उनको अर्थमन्त्रीको विकल्प खोज्नुपर्ने बेला आएको जानकारहरुको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस