कविता : कर्ण

सोमबार, २३ असार २०७६, १६ : ३८
कविता : कर्ण

- शारदा शर्मा

छद्म सद्भावको टोकरीमा
प्रेमका छद्म फूलहरु र झुठा आशीष बोकेर
एकाबिहानै
मेरो संघार टेक्यौ 
बाचाबद्ध गरायौ
र माग्यौ मेरो जीवनकवच
मैले हुन्न भन्न सकिन।

कुन्नि, भगवान् थियौ कि आमा थियौ तिमी।

दिवसको सुकुमार प्रारम्भमा
याचनाको नियतमाथि
सन्देह गरिन मैले
आफ्ना आँखाभित्रको
प्रेममय पानीमा
तिम्रो बिम्ब पनि प्रेममय देखें 
मसंग सुवास थियो 
मलाई भान भएन दुर्गन्ध
मैले तिमीलाई पनि सुगन्ध नै दिएँ।

तिम्रो स्पर्शमा
मैले अनुभव गरिन प्रवञ्चना
प्रेमका नाममा
लामो समयदेखि
घरी असीना पर्यो ममाथि
घरी आगो बर्स्यो
आँधी भुँवरी पर्यो
सबै स्थितिहरुमा
मैले 
कसैलाई प्रतिष्ठा दिएँ,
कसेलाई अभय दिएँ,
कसैलाई आशा दिएँ
आजसम्म 
कसैले लज्जा मागेको थिएन मसंग।

खुला आकाश मुन्तिर
हरियो धरतीमाथि
आफैंभित्र समेटेर सृष्टिको विस्तार
एकसरो वस्त्रमा, 
दिव्य अस्तित्वको आराधना गर्दै थिएँ
एकाबिहानै,
सुन्दर वस्त्र अलङ्कारले सजिएर
रथारुढ,
तिमी आयौ
र हात फैलायौ मेरा सामु
वचनबद्ध गराएर
मेरो एकसरो वस्त्र पनि माग्यौ
मैले दिन्न भन्न सकिन।

कुन्नि, भगवान् थियौ कि आमा थियौ तिमी।

प्रतिक्रिया दिनुहोस