प्रतिव्यक्ति दैनिक १३५ लिटर पानी आवश्यक तर पाउँछन् मात्रै २० लिटर

पत्रपत्रिकाबाट

शनिबार, २१ असार २०७६, ०६ : ४९
प्रतिव्यक्ति दैनिक १३५ लिटर पानी आवश्यक तर पाउँछन् मात्रै २० लिटर

तस्बिर : नयाँ पत्रिका

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का अनुसार काठमाडौंमा एक व्यक्तिलाई प्रतिदिन १३५ लिटर पानी आवश्यक पर्छ । यो आधारमा उपत्यकाका ३० लाख जनसंख्यालाई दैनिक ४२ करोड लिटर पानी आवश्यक पर्छ । तर, केयुकेएलसँग अहिले प्रतिदिन १० करोड लिटर मात्रै उपलब्ध छ । योमध्ये ३५ देखि ४० प्रतिशत पानी त चुहिएरै सकिन्छ । त्यसैले उपभोक्ताको घरमा ५ देखि ६ करोड लिटर मात्रै पुग्छ । यस आधारमा दैनिक एक व्यक्तिको भागमा २० लिटर मात्रै पर्छ । तर, उपभोक्ताले यही पानी पनि दैनिक नपाउने भएकाले जटिल समस्या छ । ‘उपत्यकाभित्रका सर्फेसमा रहेका पानीका स्रोत अधिकतम प्रयोग गरिएको छ । जमिनमुनिको पानी पनि ८० ठाउँबाट उत्पादन हुँदै छन् । यी सबैबाट दैनिक १० करोड लिटर पानी मात्रै उत्पादन हुन्छ । तर, माग ४२ लाख लिटरको छ । यति ठूलो मागलाई १० करोड लिटरले कसरी धान्न सक्छ,’ केयुकेएलका प्रवक्ता प्रकाशकुमार राईले भने ।

बालुवाटार र शीतल निवास क्षेत्रमै पानीको चरम अभाव
राष्ट्रपति र प्रधानमन्त्रीको सरकारी निवास रहेको क्षेत्रमै खानेपानीको हाहाकार छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का अनुसार काठमाडौंमा शीतलनिवास, बालुवाटार, वसुन्धरा, नयाँबजार, गोंगबु, महाराजगन्ज, ठमेल, नक्साल, हाँडीगाउँ, सामखुसीलगायत क्षेत्रमा खानेपानीको चरम अभाव छ । शीतलनिवास र बालुवाटार क्षेत्रका घरहरूमा २० दिनमा बिराएर बढीमा तीन घन्टा खानेपानी वितरण गरिँदै आएको छ । 

ट्यांकरबाट वितरण हुने पानीको माग बढ्दै
केयुकेएलबाट वितरण हुने पानीको परिमाण घटेपछि ट्यांकरबाट वितरण हुने पानीको माग बढेको छ । उपत्यका खानेपानी स्रोत तथा ट्यांकर व्यवसायी संघका अनुसार उपत्यकाभित्र दैनिक सात सय ट्यांकरले पाँच करोड लिटर पानी वितरण गर्छन् । सुक्खा मौसममा यो माग १० करोड लिटर पुग्छ । तर, ट्यांकरको पानी खरिद गर्दा पनि उपभोक्तालाई पर्याप्त हुँदैन । 
उपत्यकामा भक्तपुरको झौखेल, सातदोबाटो, गोदावरी, चाल्नाखेलदेखि हिमाल सिमेन्ट कारखाना रहेको स्थानसम्म, मातातीर्थ, स्वयम्भू, बालाजु, जोरपाटी, सानेपाको बागमती नदीलगायतका क्षेत्रमा आधुनिक मेसिन राखेर जमिनमुनिको पानी तानिन्छ र ट्यांकरमा भरेर उपभोक्ताकहाँ लगिन्छ । 

 

प्रतिक्रिया दिनुहोस