भारतबाट नेपाल भित्रिने तरकारी र फलफूलमा विषादी परीक्षण नगर्न भारतको आग्रह

सफल खबर संवाददाता

विहीबार, १९ असार २०७६, १५ : ३४
भारतबाट नेपाल भित्रिने तरकारी र फलफूलमा विषादी परीक्षण नगर्न भारतको आग्रह

काठमाडौं । नेपालको सीमा नाकामा सुरु गरिएको भारतबाट नेपाल भित्रिने तरकारी र फलफूलको विषादी परीक्षण कार्य नगर्न सरकारलाई भारतले आग्रह गरेको छ । आफ्नो देशबाट आउने तरकारी र फलफूल नेपाली सीमामा चेक जाँच हुन थालेपछि भारतले आपत्ति जनाएको हो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र लेख्दै नेपालस्थित भारतीय दूतावासले नेपालको सीमा नाकामा आइपुगेका आफ्ना देशको कृषिजन्य उत्पादन बोकेका सवारी साधन नरोक्न आग्रह गरेको छ । दूतावासले असार १४ गते पठाएको पत्रमा भारतीय पक्षले प्लान्ट क्वारेन्टाइन सूचना प्रणाली एवं अन्तर्राष्ट्रिय वनस्पती सुरक्षा महासन्धीअनुसार सीमा नाकामा भारतीय तरकारी र फलफूल बोकेका सवारी साधन रोक्न नमिल्ने जिकिर गरिएको छ ।

सरकारले असार पहिलो सातादेखि भारतीय फलफूल तथा तरकारीमा विषादी परीक्षण गर्ने निर्णय गरेको थियो । गुणस्तरहीन वस्तुको आयात रोक्ने उद्देश्यले सरकारले गरेको यो नीतिगत व्यवस्थाको कार्यान्वयनमा भने चुनौति देखिएको छ । हाल कालिमाटी र सर्लाहीको हरिवनमा मात्रै हाल फलफूल तथा तरकारीको विषादी परीक्षण हुन्छ।

भन्सारहरुमा विषादी परीक्षणको उपकरण नहुँदा आयातकर्तालाई काठमाडौं आई नमुना परीक्षण गराई लैजानु पर्ने बाध्यता छ । कालिमाटी बजारमा आउने तरकारी तथा फलफूलको ४० प्रतिशत भारतले ओगटेको छ भने ६० प्रतिशत स्थानीय बजारले ओगटेको छ। 

नेपालको निर्णयबाट आफ्ना किसान तथा व्यवसायीले ठूलो क्षति ब्यहोरेको भन्दै भारतले यस्तो काम बन्द गर्न आग्रह गरेको छ । यसअघि दूतावासका अधिकार मन्त्रालयमै गई विषादी परीक्षणको पूर्वाधार नै नभएको अवस्थामा कडाई गरिनु औचित्यपूर्ण नभएको बताएका थिए । भारतीय दूतावासले विषादी परीक्षण गर्नुको कारण पुष्टि गर्न पनि आग्रह गरेको छ ।

सरकारले निकासी–पैठारी आदेश संशोधन गरेर ताजा तरकारी तथा फलफूल आयात गरिँदा भन्सार बिन्दुमा क्वारेन्टाइन र जीवनाशक विषादीको अवशेष परीक्षण अनिवार्य गर्नुपर्ने व्यवस्था गरेको थियो । असार ३ देखि कार्यन्वयनमा आएको उक्त व्यवस्थापछि भारतबाट नेपाल भित्र्याउन लागिएको तरकारी तथा फलफूल बोकेका ट्रक तथा कन्टेनरहरुको भन्सार जाँच पास रोकिएको थियो ।

यसअघि क्वारेन्टाइन मात्रै परीक्षण हुने नाकामा विषादीको मात्रा परीक्षण अनिवार्य गरिए पछि सुनौली र विराटनगर भन्सार नाकामा तरकारी तथा फलफूल बोकेका भारतीय सवारी रोकिएका थिए । सीमा नाकामा रोएिको तरकारी र फलफूलको मात्रा खासै ठूलो नरहेको भन्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले हल्ला मात्र धेरै भएको बताउँदै आएको छ ।

बुधबार एक कार्यक्रममा बोल्दै अर्थसचिव डा. राजन खनालले भारतीय नाकामा ताजा तरकारी रोकिएको बारेमा सरकारले चासो दिएको बताएका थिए । खनालले सरकारी निकायबीचको समन्वय अभावमा यस्तो देखिएको जानकारी दिए । बिहीबारभित्रै यो समस्या समाधान हुने उनले आश्वासन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस