सहिद परिवारका नामको दुहुनो भैँसी पूर्वमन्त्रीले मुस्कुराउँदै लगे, सहिद परिवार जिल्ल

सहिद विजयकुमार सहनीका बुबा लक्ष्मी भन्छन्–जवान छोरा सहिद भएर म बुढो बाँचेको यही दिन देख्न रहेछ

पत्रपत्रिकाबाट

आइतबार, १५ असार २०७६, ०७ : ४६
सहिद परिवारका नामको दुहुनो भैँसी पूर्वमन्त्रीले मुस्कुराउँदै लगे, सहिद परिवार जिल्ल

लहान । भैँसी वितरण गर्न लहानमा आयोजित कार्यक्रम । प्रदेश २ सरकारका कृषि तथा सहकारीमन्त्री (कुर्तामा) शैलेन्द्रप्रसाद साहले पूर्वकेन्द्रीय मन्त्री राजलाल यादव (स्टकोटमा)लाई दुहुनो भैँसी हस्तान्तरण गरे । पूर्वमन्त्री तथा समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य यादवले सिरहा भगवानपुर गाउँपालिका–३ बाट वडा सदस्य जितेका छन् । हिजो सहिद भए ५० लाख दिन्छौँ भनेर आन्दोलनमा उतारियो, आज एउटा भैँसी लिन पनि सहिद भएको प्रमाणसहित निवेदन दिन भनियो, के सरकारसँग सहिदको अभिलेखसमेत छैन ?
प्रदेश २ सरकारले मधेस आन्दोलनका सहिद परिवारका लागि भन्दै भैँसी किनेर पार्टीका नेता तथा पूर्वमन्त्रीलाई वितरण गरेको छ । सिरहामा सरकारले बाँडेको भैँसी पूर्वमन्त्री र पार्टीका नेतादेखि नेताका आफन्तसम्मको गोठमा पुगेका छन् ।

पूर्वकेन्द्रीय मन्त्रीसमेत रहेका समाजवादी पार्टीका नेता राजलाल यादव र उनका छोरीज्वाइँ रमेशकुमार यादवले सहिदको परिवारका नाममा आएको भैँसी पाएका छन् । उनीहरूलाई भूमि व्यवस्था तथा कृषि एवं सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले बिहीबार लहानस्थित पशुपति आदर्श माविको प्रांगणमा भैँसी हस्तान्तरण गरेका थिए । 

मधेस आन्दोलनमा सिरहाबाट ६ जना सहिद भएका थिए । यो जिल्लामा सरकारले १८ परिवारलाई भैँसी बाँडेको छ । तर, तीन सहिद परिवारले भैँसी पाएका छैनन् । सहिद रमेशकुमार महतो, बेचन यादव र प्रमोद सदायका परिवारले मात्रै सरकारी भैँसी पाएका छन् । सहिद विजयकुमार सहनी, मोहम्मद अनिस र राजेशकुमार ठाकुरका परिवारले भने पाएनन् । पहुँचका आधारमा सहिद परिवारबाहेकका राजनीतिक व्यक्तिलाई भैँसी बाँडेको भन्दै पीडितले आपत्ति जनाएका छन् । 

प्रदेश २ सरकारले मधेस आन्दोलनका सहिद परिवारलाई दुहुनो गाई र भैँसी वितरण गर्ने भन्ने कार्यविधिको शीर्षकबाटै प्रस्ट पारेको छ । ‘मधेस आन्दोलनका सहिद परिवारलाई दुधालु गाई वा भैँसी वितरण कार्यक्रम सञ्चालन कार्यविधि, २०७५’ नाम दिइएको छ । 

कार्यविधिको दफा ३ को उपदफा १ मा भनिएको छ, ‘मधेस आन्दोलन ०६२र६३ तथा तत्पश्चात्को विभिन्न समयमा भएको मधेस आन्दोलनका क्रममा पीडित सहिद परिवारको विवरण प्रदेश २ का विभिन्न आठ जिल्लाहरूको जिल्ला प्रशासन कार्यालयहरूबाट माग गरिने छ ।’ त्यस्तै, सोही उपदफाको २ मा भनिएको छ, ‘जिल्ला प्रशासन कार्यालयहरूबाट प्राप्त विवरणका आधारमा पीडित सहिद परिवारको घरमा पुगी पशुपालन गर्न इच्छुक व्यक्ति वा परिवारको लगत संकलन तथा भौतिक पूर्वाधार गोठ खोर० स्थलगत अवलोकन गरी पशुपालन कार्यक्रममा सहभागी हुने इच्छुक व्यक्तिहरूको संख्या यकिन गर्ने’ प्रावधान राखेको छ ।

तर, सरकारले नेतालाई पनि गाई, भैँसी वितरण गर्न कार्यविधि परिवर्तन गरेको थियो । नयाँ कार्यविधिमा घाइतेलाई पनि दिने उल्लेख छ, त्यहीअनुसार पूर्वमन्त्रीले पाएका हुन् । सरकारबाट भैँसी पाएका पूर्वमन्त्री यादवलाई नयाँ पत्रिकाले ‘तपाईं पनि घाइते हो’ भनेर सोधेको थियो । जवाफमा उनी लामो हाँसो हाँसे । पछि उनले भने, ‘पुलिसको लाठी खाएको थिएँ, अस्पताल पनि गएको थिएँ ।’

भैँसीमा अनियमितता भएको विरोधमा लहानका युवा 
सहिद परिवारबाहिरका व्यक्तिले सरकारी भैँसी पाएपछि शुक्रबार साँझ लहानमा युवाहरूले विरोध जुलुस निकाले । प्रदेश सरकारको नेतृत्व गरिरहेको समाजवादी पार्टीका नेता कार्यकर्तालाई अपारदर्शी रुपमा भैँसी बाँडेर मधेस आन्दोलनकै मजाक उडाएको भन्दै भैँसी फिर्ता गर्न मागसमेत गरे । 

युवामञ्च सिरहाका सचिव गोपाल रौनियारले सहिद परिवारले पाउनुपर्ने भैँसी घाइतेको नाममा पहुँचवालाले पाएको आरोप लगाए । प्रेस मञ्चका सचिव वीरेन्द्र यादवले कार्यविधिको मानमर्दन गरी घाइतेको नाममा बाँडिएको भैँसी फिर्ता नगरे आन्दोलन गर्ने चतावनी दिए । 

मधेस आन्दोलनका क्रममा लहानमा स्थानीय नेतृत्व गरेका कृष्णबहादुर यादवले आन्दोलनमा त्याग गर्नेलाई उपेक्षा गरी पार्टीका कार्यकर्तालाई भैँसी बाँडेकोमा गुनासो गरे । ‘पहुँच भएकाले आन्दोलनको नाममा धेरैतिरबाट फाइदा लिए, तर पहुँच नभएका सहिद परिवारले पाउनैपर्ने भैँसीसमेत पाउन सकेनन्,’ उनले भने । 

रोजगारी नपाएको गुनासो 
लहानका सहिद परिवारले सरकारको आश्वासनअनुसार रोजगारी पनि नपाएको गुनासो गरेका छन् । प्रदेश सरकारले गत ५ माघमा लहानमा आयोजना गरेको बलिदानी दिवसका आवसरमा मधेसका ५८ सहिद परिवारका एकरएकजनालाई रोजगारी दिने घोषणा गरेको थियो । 

‘प्रदेशको अस्थायी राजधानी जनकपुर पुगेर रोजगारीका लागि आवेदन पनि दिएको थिएँ, केही नभएपछि मजदुरी गरेर परिवार पालिरहेको छु, कान्छो छोरो राजन पनि कमाउन भारतको केरला गएको छ,’ सहिद विजयका बाबु लक्ष्मीले गुनासो गरे । 

१ माघ ०६३ देखि लागू भएको अन्तरिम संविधानमा संघीयता र समानुपातिक निर्वाचन प्रणालीको माग गर्दै सुरु भएको आन्दोलनमा ५ मा लहानमा विद्यार्थी रमेश महतोको गोली लागेर मृत्यु भएपछि आन्दोलन मधेसभर चर्किएको थियो ।

पूर्वकेन्द्रीय मन्त्री राजलाल यादव भन्छन्–सहिद परिवारका लागि मैले यत्रो काम गरेको छु, एउटा भैँसी लिनु कुन ठूलो कुरा हो ?
मधेस आन्दोलनमा प्रहरीको लठी खाएर अस्पतालमा भर्ना भएको मान्छे हुँ । मैले घाइतेको नाममा भैँसी लिएको हुँ । मागेको त गाई हो, तर दुईवटा मात्रै रहेछ, त्यसैले पाइनँ । प्रदेश सरकारले सूचना निकालेरै घाइतेको विवरण मागेअनुसार नै मैले फर्म भरेको हो । १२ गते भैँसी दिँदा सरकारले हामीसँग एउटा सम्झौता नै गरेको छ, घाइतेलाई दिएको भनेर । सहिद परिवार पनि छुटेको छैन । कसैले इच्छा नै नदेखाएर नपाएको हुन सक्छ । म त सहिद रमेश महतो प्रतिष्ठानको अध्यक्ष पनि हुँ । सहिदको घर–घरमा पुगेको छु । कतिपयको फर्म त मैले नै भरिदिएको हो । मैले सहिद परिवारका लागि जति काम गरेको छु, त्योअनुसार सरकारले दिएको एउटा भैँसी लिनु ठूलो कुरा हो र रु ८० हजार हालेर भैँसी किन्न नसक्ने मान्छे पनि होइन । 

सहिद विजयकुमार सहनीका बुबा लक्ष्मी भन्छन्–जवान छोरा सहिद भएर म बुढो बाँचेको यही दिन देख्न रहेछसहिद परिवारलाई प्रदेश सरकारले भैँसी दिन्छ भन्ने सुनेको थिएँ । नेताहरूले भनेर हाम्रा छोराहरू आन्दोलनमा गएका हुन् । हाम्रा छोराहरूले ज्यान दिए । को–को सहिद भए भन्ने रेकर्ड त पार्टी र सरकारले राख्नुपर्छ नि । तर, अहिले आएर निवेदन किन दिएनौ भन्दै भैँसी दिएनन् । टाठाबाठा छोरा सहिद भए, हामीलाई के ज्ञान छ रु नेताहरूले नै हामीलाई खोज्दै आउनुपर्ने होइन र रु हाम्रो रेकर्ड उनीहरूको अफिसमा हुनुपर्ने होइन र रु बरु जिउँदा नेताले भैँसी डोर्‍याएर लगे, हामीलाई जिल्ल पारे । मेरो जवान छोरो सहिद भएर म बुढो बाँचेको यही दिन देख्न रहेछ । 

नेतालाई भैँसी दिन कार्यविधि नै परिवर्तन
मधेस आन्दोलनमा जनमत जुटाउन आन्दोलनकारी दलले घोषणा गरेका थिए, ‘कोही सहिद भयो भने परिवारलाई ५० लाख दिन्छौँ ।’ त्यही आन्दोलनको बलमा चुनाव जितेर प्रदेश २ सरकारको नेतृत्वमा पुगेका मन्त्रीले सहिद परिवारलाई एउटा भैँसी मात्र दिने घोषणा गरेका थिए । त्यसैले ‘मधेस आन्दोलनका सहिद परिवारलाई दुधालु गाई वा भैँसी वितरण गर्ने कार्यक्रम सञ्चालन कार्यविधि, २०७५’ तय भएको थियो । तर, पहुँचवाला नेतालाई गाई, भैँसी दिन ‘सहिद’को ठाउँमा ‘घाइते’ राखेर अर्को कार्यविधि बनाइएको छ । प्रदेश २ सरकारका प्रवक्ता ज्ञानेन्द्र यादव भन्छन्, ‘कार्यविधि प्रस्ट छ । त्यहाँ सहिद परिवार र घाइते परिवारलाई दुहुनो गाई–भैँसी दिने भनिएको छ ।’ तर, नेताले दुधालु भैँसी डोर्‍याएर लग्दा सहिद परिवार भने जिल्ल परेका छन् । प्रदेश सरकारले सूचना प्रकाशन गरेर सहिद परिवारलाई फर्म भर्न भनेको थियो । तर, सहिदका अशिक्षित परिवारले यो जानकारी पाएनन् र फर्म भर्न पनि सकेनन् । हिजो ५० लाख दिन्छौँ भन्दै युवालाई हौस्याउने नेताले सहिद को–को भएका थिए भन्ने अभिलेखसमेत नराखेकोमा सहिद परिवार दुःखी छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस