सिरहा । तराई मधेसमा मृत्यु संस्कार गर्ने परम्परा लामो छ । झन् मधेसी समुदायमा त मृत्यु संस्कारमा आर्थिक भारसमेत पर्ने गरेको छ । आर्थिक भारमा कतिपय परिवार बिचल्ली भएको घटना सार्वजनिक हुँदै आएका छन् । पुरानो रुढीवादी संस्कारलाई विरोध गर्दै आएका पूर्वपत्रकार रामरिझन यादवले भने आफ्नो आमाको मृत्यु संस्कार छोट्याएका छन् । डा। बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा उनी प्रेस सल्लाहकार थिए । लामो पत्रकारिता अनुभवसँगै उनले महेन्द्र मोरङ बहुमुखी क्याम्पसमा प्रध्यापनसमेत गरे । आमाको मृत्यु संस्कार चार दिनमै सकेका यादवले समाजबाट के कस्ता सास्ती खेप्नुप(यो भन्ने विषयमा सुरेन्द्रकुमार कामतिको रिपोर्ट स्
१३ दिन काजकिरिया नगरेकोमा समाजको विरोध
सिरहा नगरपालिका–१९ का यादव समाजवादी पार्टीका नेतासमेत हुन् । पहिलेदेखि नै वामपन्थी विचारधारा बोक्दै आएका उनले आफ्नी ८८ वर्षीया आमा जगियादेवी यादवको मृत्युको काजकिरिया छोट्याए । हिन्दु धर्मसंस्कृतिअनुसार १३ दिनमा गर्नुपर्ने काजकिरिया छोट्याएर चार दिनमै सकाएका छन् । काजकिरिया सम्पन्न गरेको अवसर पारेर गत बिहीबार उनले श्रद्धाञ्जली सभाको गाउँमा आयोजना गरे । सभामा विभिन्न राजनीतिक दल, बौद्धिक क्षेत्रका व्यक्तिहरू सहभागी भए । तर, उनलाई एउटा समस्याका सामना गर्नुपरेको छ ।
काजकिरिया छोट्याउँदा समाजले पचाउन सकेको छैन । त्यसैले आमाको श्रद्धाञ्जलीमा गाउँवासीको सहभागिता उल्लेख्य हुन सकेन । गाउँलेको चाहना थियो, काजकिरिया १३ दिन नै हुनुपर्ने हो ।काजकिरियासँगै मधेसी समुदायमा ठूलो भोज गर्ने चलन छ । तर उनले भोजभतेरको साटो शैक्षिक उन्नतिका लागि रकम खर्चिंदै आएका छन् । आर्थिक भार पर्ने गरी हुँदै आएको कर्मलाई छोट्याउँदा नेता यादव समाजको तारोमा परेका हुन् । आमाबाबुको काजकिरियाको दिन छोट्याउँदा आफूले जातबाट बहिष्करणको सामना गर्नुपरेको उनले बताए ।
यादव पहिलेदेखि नै गाउँलेको तारोमा
यादवलाई जिल्लामा बौद्धिक व्यक्तिको रूपमा हेरिन्छ । तर, पनि निर्वाचनमा उठेका बेला उनलाई गाउँकै मतदाताले मत दिँदैनन् । २०६२ सालमा कान्छी आमा जानकी देवी यादवको मृत्यु भएपछि उनको भाइ सुरेशचन्द्र सुमनले चार दिनमै काजकिरिया सकाएका थिए । गाउँलेले बाध्य पारेपछि मलामीमा सहभागी भएकालाई एक छाक भोज खुवाएका थिए ।
२०६९ सालमा बाबु विश्वनाथको मृत्यु भएको थियो । बाबुको मृत्यु कर्म पनि उनले चार दिनमै सकाएका थिए । काजकिरिया छोट्याएको र भोज नगरेको भन्दै सन्हैठामा यादव समुदायले उनलाई बहिष्कार गरेका थिए । जातबाटै निस्कासित गरे पनि आमाबाबुको नाममा उनले ‘जानकी विश्वनाथ प्रतिष्ठान’ नामक संस्था दर्ता गरी दुई लाख राशिको अक्षयकोष स्थापना गरे । भोजभतेरमा लाग्ने पैसा अक्षयकोषमा जम्मा गरी गाउँकै माध्यमिक विद्यालय सन्हैठाबाट वर्षेनी एसईई उत्तीर्ण गरी ११ कक्षा पढ्ने छात्रालाई छात्रवृत्ति दिँदै आएका छन् ।
ऋण काढेर भोजभतेर गर्ने प्रथा अन्त गर्नुपर्छ : रामरिझन यादव
समाजमा भोजभतेरको नाउँमा ठूलो रकम खर्च भइरहेको छ । ऋण काढेर पनि भोज गर्नुपर्ने बाध्यता छ । त्यसलाई अन्त गर्नुपर्छ । मैले समाजमा रहेको रुढीवादीतन्त्रलाई सुधार्न धक्का दिँदै आएको छु । अब अरू पनि समाज सुधारको बाटोमा अगाडि बढ्नु जरुरी छ ।
बाबुको काजकिरिया छोट्याएकोमा ५० हजार जरिवाना
नेता यादवले बाबु विश्वनाथको मृत्युकर्म छोट्याएर भोजभतेर नगरेको भन्दै जातीय समाजले उनलाई ५० हजार जरिवानासमेत गरेको थियो । जरिवाना गरिएको पैसाले भोज गर्नुपर्ने गाउँलेको अडान रहे पनि यादवले भने सो पैसा अक्षयकोषमा जम्मा गरे । त्यसपछि गाउँले झन् आक्रोशित हुन पुगे ।
फरक धार बोक्दै आएका यादव गाउँलेको दबाबका बाबजुद पनि रुढिवादी परम्परालाई तोड्न लागेका छन् । दुई आमा र बाबुको काजकिरिया छोट्याएर भोजभतेर नगर्दा सामाजिक बन्धनमा परे पनि परिवर्तन आफैंबाट सुरु गर्नुपर्छ भन्ने सन्देश दिन खोजिएको उनले बताए । ‘समाजका अगुवाहरूले नै रुढीवादी परम्परालाई तोड्नुपर्छ,’ यादव भन्छन्, ‘आर्थिक भार पर्नेगरी हुने भोजभतेरको अन्त हुनुपर्छ । शैक्षिक स्थित उकास्न लगानी लगाउन जरुरी छ ।’ यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, १४ असार २०७६, ०७ : ०५
लेखकबाट थप