समाजवादी पार्टीका निलम्बित सांसद भन्छन् : ‘मेरो गल्ती भएकै हो, तर कारबाहीको पत्तै पाइनँ’

सफल खबर संवाददाता

बुधबार, ११ असार २०७६, १० : १९
समाजवादी पार्टीका निलम्बित सांसद भन्छन् : ‘मेरो गल्ती भएकै हो, तर कारबाहीको पत्तै पाइनँ’

काठमाडौं । फ्रि तिब्बतको वकालतमा रहेको संस्थाको लाटिभियामा आयोजित कार्यक्रममा संसद र पार्टीलाई जानकारी नदिई पुगेका समाजवादी पार्टीका सांसद प्रदीप यादव मंगलवार पार्टी कारबाहीमा परे । उनलाई पार्टीले ६ महिनाका लागि निलम्बन गरेको छ ।

पार्टीले कारबाही अगाडी उनलाई यस विषयमा स्पष्टिकरण सोधेको र उनको स्पष्टिकरण चित्तवुझ्दो नभएपछि निलम्बनको कारबाही गरेको समाजवादी पार्टीले जनाएको छ । तर निलम्बन अगाडी पार्टीले आफुसँग सल्लाह नगरेको यादवले बताएका छन् । पार्टी अध्यक्ष तथा सरकारका उपप्रधान तथा स्वाथ्यमन्त्री उपेन्द्र यादवसँग दुई घण्टासँगै रहदा समेत आफुमाथी कारबाही हुने संकेत समेत उनले नपाएको बताएका छन् ।

’बिहान ८ बजेदेखि १० बजेसम्म म अध्यक्षकै चेम्बरमा थिएँ, उहाँले केहि भन्नुभएन, साँझ पाँच बजे विरगंज आउने क्रममा मात्रै मैले म माथी पार्टीले कारवाही गरेको थाहा पाएको हुँ,’ यादवले सफलखबरसँग भने । तर उनले पार्टीले आफुमाथी गरेको कारबाहीमा पर्नूविचार गर्ने विश्वास आफुले लिएको पनि बताए ।

‘म बाट कमजोरी भएको हो, गल्ती पार्टीसँग स्वीकार गरिसकेको छु,’ यादवले भने,–‘यस विषयमा म माथी पाटीृले गरेको कारवाहीमा पार्टीले सोचविचार गर्छ, निर्णयमा पूर्नविचार गर्छ भन्नेमा म विस्वस्त छु ।’ पार्टी निर्णयले आफु आश्र्चयचकित भएको भन्दै उनले पार्टीको निर्णय भने स्वीकार्ने बताए । ‘म पार्टीको सच्चा सिपाही हुँ, निर्णय पार्टीको स्वीकार्छु’ उनले सफलखबरसँग टेलिफोनमा भने ।

यादव गत वैशाख २४ देखि २७ गतेसम्म लाटभियाको राजधानी रिगामा भएको ’इन्टरनेशनल नेटवर्क अफ पार्लियामेन्टेरियन अन फ्रि तिब्बत’को कार्यक्रममा सहभागी भएर फर्केका थिए । उनीसँगै राजपा सांसद अकवाल मियाँ पनि उक्त कार्यक्रममा पुगेर फर्केका थिए । 

तर उक्त कार्यक्रममा जाने विषयमा दुबै सांसदले संसद र पार्टी दुबैलाई कुनै जानकारी दिएका थिएनन । आफ्नै ब्यक्तिगत कारण देखाउँदै विदेश पुगेका उनीहरु उक्त कार्यक्रममा सहभागी भएको आयोजक सस्थाले नै तस्बिर सहित खुलासा गरेपछि उनीहरुको विदेश भ्रमणको पोल खुलेको थियो ।

सरकारमा समेत रहेका पार्टीका सांसद फ्रि तिब्बत पक्षधर सस्थाको कार्यक्रममा पुगेर फर्केको घटनामा दक्षिणी छिमेकी मुलुक चिनले देखाएको चासो पछि यादव समाजवादी पार्टीको कारवाहीमा परेका हुन् । राजपाले भने मियाँलाई यो सम्बन्धमा कुनै कारवाही अगाडी बढाएको छैन ।

प्रतिक्रिया दिनुहोस