चितवन सेरोफेरो

६ महिनामा चितवनको पुँजीगत खर्च १५ प्रतिशत मात्रै

शुक्रबार, १२ माघ २०७४, ११ : ४२
६ महिनामा चितवनको पुँजीगत खर्च १५ प्रतिशत मात्रै

भरतपुर । चितवनमा ६ महिनाको अवधीमा पुँजीगत खर्च १५ प्रतिशत मात्र भएको छ । स्थानिय सरकार गठन भए पनि जनशक्ति व्यवस्थापन नभएकाले यस्ता समस्या देखिएको हो । कोष तथा लेखा नियन्त्रक कार्यलय चितवनका अनुसार पुस महिनासम्म पुँजीगत खर्च १४ दशमलव ९५ प्रतिशत छ । गत बर्ष यहि अबधीमा १८ प्रतिशत पुँजीगत खर्च भएको थियो । यो बर्ष चालु खर्च भन्दा पुँजीगत खर्च झण्डै ४० प्रतिशत कम छ । चालु बर्षमा चितवनमा पुस मसान्तसम्म १४ अर्ब ५५ करोड २५ लाख ९७ हजार ३७७ रुपौया कुल बजेट विनियोजन भएको थियो । 
जसमध्ये पुँजीगततर्फ ८१ करोड ३९ लाख ३९ हजार ११८ रुपैयाँ ५८ पैसा बजेट खर्च भएको छ । पुँजीगततर्फ ५ अर्ब ४४ करोड ६६ लाख १२ हजार ८०० रुपैयाँ बजेट विनियोजन भएको थियो । यस्तै चालुगततर्फ ५ अर्ब ४१ लाख ४३ हजार ३७० रुपैयाँ ८५ पैसा खर्च भएको छ । चालुतर्फ ९ अर्ब १० करोड ५९ लाख ८४ हजार ५७७ रुपैयाँ ८५ पैसा बजेट विनियोजन भएको थियो । चालुतर्फ ५४.९६ प्रतिशत खर्च भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय मार्फत जिल्लामा चालु तथा पुँजीगततर्फ कूल ३९.९८ प्रतिशत खर्च निकासा भएको छ ।


“सरदर हेर्दा खर्च अनुपात राम्रै छ । तर, पुँजीगत खर्च कम देखिन्छ”, कोष तथा लेखा नियन्त्रक कार्यालय चितवनका प्रमुख कोष नियन्त्रक शिवप्रसाद पन्थीले भन्नुभयो , “विगतमा भन्दा यो वर्ष विनियोजित बजेट सबै खर्च नहुने संकेत देखिएको छ ।” पुँजीगत बजेट कम खर्च हुँदा विकास निर्माणका काम प्रत्यक्ष प्रभावित हुने देखिन्छ । “विगतमा पनि पुसयता नै बढी निकासा हुने गरेका उदाहरण छन्”, उहाँले भन्नुभयो , “तर, हालसम्मको प्रगति हेर्दा पुँजीगत खर्च खासै लोभलाग्दो, आश लाग्दो रुपले भएको देखिदैन । ” ५० लाख रुपैयाँसम्मका विकास कार्यक्रम स्थानीय तहमा पुगेपनि कर्मचारी अलमलको अवस्था रहदा समस्या देखा परेको बताउनुभयो । 
६ महिनामा चितवनमा १० अर्ब बढी राजस्व संकलन भएको छ । ६ महिनाको अवधिमा १० अर्ब ३२ करोड ४१ लाख ८२ हजार ८२२ रुपैयाँ राजस्व संकलन भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय चितवनका अनुसार सबैभन्दा बढी ९ अर्ब ४४ करोड १ लाख २३ हजार ९४५ रुपैयाँ राजस्व संकलन गरेको छ । 

प्रतिक्रिया दिनुहोस