चट्याङ लागेर तिन बालक सहित छ जनाको मृत्यु

पत्रपत्रिकाबाट

बुधबार, ११ असार २०७६, ०७ : ५६
चट्याङ लागेर तिन बालक सहित छ जनाको मृत्यु

भैरहवा । रूपन्देही र दाङमा मंगलबार साँझ परेको चट्याङबाट छ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार रूपन्देहीमा मृत्यु हुनेमा गैडहवा–७ का भगवान दास लोध, कञ्चन–२ का नन्दराम अर्याल र सैनामैना–७ का चन्द्रबहादुर विक छन् ।

तीनैजना खेतमा काम गरिरहेका बेला चट्याङमा परेका थिए । लोधलाई तरकारीबारीमा काम गरिरहेका बेला चट्याङले लागेको थियो । मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको थियो । अर्याल र विकलाई खेतमा काम गरिरहेका बेला चट्याङ लागेको थियो । दुवैको बुटवलस्थित प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको रूपन्देहीका एसपी हृदय थापाले बताए ।

यसैगरी दाङको राप्ती गाउँपालिका–३ मा मृत्यु हुनेमा १२ वर्षीय साजन चौधरी, १३ वर्षीय विवेक चौधरी र १० वर्षीय रमित चौधरी छन् । ८ वर्षीय अविनाश चौधरी घाइते भएका छन् । गाउँ नजिकको जंगलमा जामुन खान रूखमा चढेका बेला चट्याङ लागेको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस