हेटौँडाको बजेट रु एक अर्ब ८१ करोड

मंगलबार, १० असार २०७६, १९ : २१
हेटौँडाको बजेट रु एक अर्ब ८१ करोड

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०७६/७७ को लागि रु एक अर्ब ८१ करोड १८ लाखको बजेट ल्याएको छ । उपमहानगरपालिकाको पाँचौँ नगरसभा बैठकमा बजेट प्रस्तुत गरिएको हो ।

उपमहानगरपालिकाका उपप्रमुख मीनाकुमारी लामाले प्रस्तुत गर्नुभएकोे बजेटमा आन्तरिक स्रोतबाट रु ३० करोड ३४ लाख ९१ हजार, राजश्व बाँडफाँटबाट रु ४५ करोड ८४ लाख नौ हजार, प्रदेश नं ३ सरकारको विभिन्न अनुदानबाट रु आठ करोड ३४ लाख ९९ हजारको बजेट प्रस्ताव गरिएको छ । त्यसैगरी सङ्घीय सरकारको अनुदानबाट रु ८६ करोड ६४ लाख प्राप्त हुन जनाइएको छ । उपमहानगरपालिकाको गत वर्षको नगद मौज्दातबाट रु १० करोड बेहोरिने उपप्रमुख लामाले बताउनुभयो ।
    
बजेटमा तलब, भत्तालगायत दैनिक कार्यालय सञ्चालन र अन्य प्रशासनिक खर्चका लागि रु १९ करोड १४ लाख ४० हजार विनियोजित गरिएको उपप्रमुख लामाले बताउनुभयो । कार्यालयको सुशासनतर्फमा रु छ करोड ४५ लाख ८९ हजार छुट्याइएको छ । नगरको सामाजिक क्षेत्रतर्फका कार्यक्रमका लागि रु ५८ करोड ५५ लाख ४३ हजार छुट्याइएको छ । उपमहानगरपालिकाले पूर्वाधार विकासका लागि रु ८६ करोड १२ लाख ५० हजार छुट्याइएको उपप्रमुख लामाले बताउनुभयो । (रासस) 

प्रतिक्रिया दिनुहोस