मनसुन सक्रिय, भारी वर्षाको सम्भावना

पत्रपत्रिकाबाट

आइतबार, ०८ असार २०७६, ०६ : ३६
मनसुन सक्रिय, भारी वर्षाको सम्भावना

काठमाडौँ । बिहीबारदेखि नेपालको पूर्वी क्षेत्रबाट प्रवेश गरेको मनसुन क्रमशः पश्चिमतिर विस्तार हुँदै पूरै नेपाल ढाक्न थालेको छ । मनसुनले अब दुई दिन पश्चिम क्षेत्रका विभिन्न स्थानमा भारी वर्षा गराउने भएको छ । 
शनिबार मनसुन मध्यक्षेत्रका केही भेग र पश्चिममा बढी सक्रिय रह्यो । गएरातिदेखि नै मध्यक्षेत्रमा सक्रिय रहेको मनसुन पश्चिम पुगेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । “बादलले नेपालका अधिकांश भाग ओगेटेको छ,” मौसमविद् सुवास रिमालले भन्नुभयो, “तर अब दुुई दिन पश्चिम भेगमा केही स्थानमा भारी वर्षा हुनेछ । ” पूर्वी भेगबाट मनसुन भित्रिए पनि त्यो क्षेत्रमा भने मनसुन कमजोर छ । पश्चिम क्षेत्रमा पानी पर्दा खोलाको सतह बढ्ने र पहाडी भेगमा पहिरो जाने सम्भावना रहेको उहाँले बताउनुभयो । 
महाशाखाले शनिबार विशेष खबर जारी गर्दै मध्य र पश्चिममा देखिएको बादलको प्रणाली शक्तिशाली भई पश्चिमतिर सरिरहेको जनाएको छ । त्यसैले शनिबार दिउँसो, राति र आइतबार पश्चिमका धेरै स्थानमा मध्यम र केही स्थानमा भारी वर्षा हुने अनुमान गरिएको छ । 
काठमाडौँमा भने शनिबार अबेरसम्म पानी पर्ने र रोकिने भए पनि आइतबार फाटफुट मात्र वर्षा हुनेछ । न्यूनचापीय मनसुनको बादल तय भए पनि यो परिपक्व हुन अझै समय लाग्ने महाशाखाले जनाएको छ । 
“परिपक्व हुनका लागि न्यूनचापीय मनसुनको रेखाले नेपालको हिमालयको काख छुनुपर्छ,” मौसमविद् रिमालले थप्नुभयो, “त्यहाँ छोएपछि बल्ल मनसुन तराईतिर सर्छ र पूर्ण मनसुनको अवस्था सिर्जना हुन्छ । ” मनसुन भित्रिएर पानी परेसँगै चर्को गर्मीबाट सर्वसाधारणले राहत महसुस गरेका छन् । गर्मी अझै कम हुन मनसुन सक्रिय हुनुपर्ने मौसमविद्को भनाइ छ ।  यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस