Safal Khabar - स्कुल नर्सको अनुभव : बालमस्तिष्कमा डरलाग्दो बन्दै ‘आत्महत्याको सोच’
सोमबार, ०२ मङि्सर २०७६ (Monday, 18 November, 2019)
स्कुल नर्सको अनुभव : बालमस्तिष्कमा डरलाग्दो बन्दै ‘आत्महत्याको सोच’
शनिबार, ०७ असार २०७६, १४ : १०
स्कुल नर्सको अनुभव : बालमस्तिष्कमा डरलाग्दो बन्दै ‘आत्महत्याको सोच’

चितवन । ३ नं प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले पहिलो चरणको पाइलट प्रोजेक्टको रुपमा १३ जिल्लाका २० विद्यालयमा नर्स नियुक्त गरेको छ । चितवन जिल्लामा दुई वटा नमुना विद्यालयले नर्स पाएका छन् । नर्स पाउने विद्यालयमा नारायणी नमुना मावि भरतपुर र दुर्गा शेषकान्त मावि विजयनगर रहेका छन् । 
नर्स कार्यक्रमले विद्यालयमा केकस्तो प्रभाव पारेको छ ? विद्यार्थीमा केकस्तो परिवर्तन आयो ? विद्यालयमा कार्यरत नर्सले केके गर्छिन् ? यस्ता थुप्रै प्रश्न लिएर सफल खबर टिम नारायणी नमुना मावि भरतपुर पुगेको छ । त्यहाँ कार्यरत नर्स सन्जु तिमिल्सिनालाई भेटेपछि उनले खोलिन् विद्यार्थीहरुमा हुने स्वास्थ्य समस्याका थुप्रै रहस्यका पाटोहरु । हामीले यहाँ एउटै पाटो ‘बालमस्तिष्कमा आत्महत्याको सोच’को विषयलाई मात्र केलाउने प्रयास गरेका छौँ । उनकै शव्दमा जस्ताको त्यस्तै :

३ नं प्रदेश सरकारको गत असोज २२ गते बसेको मन्त्रिपरिषद्को बैठकले ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि स्वीकृत गरेको समाचार पत्रिका पढेर थाहा पाएँ । चितवन हस्पिटलबाट पीसीएल नर्सिङ पढेर सकेको थिएँ । अस्पतालतिरको काम भन्दा पनि स्कुलतिरको कामले मलाई आकर्षित गरेको थियो । कलिला विद्यार्थीको स्वास्थ्य समस्या समाधान गर्न भित्रैदेखि इच्छा पलायो । 

तत्काल प्रदेश ३ सरकारले १३ जिल्लाका २० वटा विद्यालयमा नर्स नियुक्त गर्नको लागि विज्ञापन खुलायो । विज्ञापन खुलेको थाहा पाएपछि मैले पनि पनि आवेदन दिएँ । अन्तर्वार्ताबाट म पास भएँ । गएको मंसिर १४ गते प्रदेश सरकारले एक वर्षको करारको नियुक्ति दियो । नारायणी नमुना मावि भरतपुरको लागि मेरो नाम निस्कियो । मंसिर १९ गते म नारायणीमा ‘स्कुल नर्स’को रुपमा प्रवेश गरेँ । ६ महिनाको अवधिमा मैले विद्यार्थीहरुको सम्पूर्ण स्वास्थ्य समस्या हल गर्दै धेरै अनुभव संगालेकी छु ।  

Yeti Diistillery
nic asia

विद्यार्थीहरुमा धेरै समस्याहरु पाइयो । यी समस्याहरु एउटा नारायणी नमुना माविको मात्रै नभई देशकै समस्या बनिरहेको मैले महसुुुुस गरेकी छु  । विद्यार्थीहरुमा समस्या अनगिन्ती छन् । तीमध्ये विद्यार्थीहरुमा देखिएका समस्याहरुमा डरलाग्दो बनेको छ ‘आत्महत्या सोच’ । सोचले नै मानिसलाई त्यहाँसम्म पु¥याउने हो ।

कलिला विद्यार्थी मनमस्तिष्कमा आत्महत्याको सोचले विस्तारै डेरा जमाउँदै लगेको छ । यसमा सबैभन्दा बढी दोषी अभिभावक नै देखिन्छन् । म स्कुल नर्स भएर आएपछि १० वटा ‘आत्महत्याको सोच’लाई सल्टाएको छु अर्थात् उनीहरुको मनमस्तिष्कमा डेरा जमाएर बसेको ‘आत्महत्या’को विषय डिलिट गर्न सकेकी छु । कतिसम्म भने आत्महत्याको प्रयाससमेत गरेको विद्यार्थीलाई काउन्सेलिङबाट फिर्ता गर्न सकेकी छु । अहिले त्यो विद्यार्थी असल, इमान्दार र उत्कृष्ट विद्यार्थी भइरहेको छ । 

आत्महत्या सोचको विकास
बालमस्तिष्कमा ‘आत्महत्याको सोच’ धेरै कारणले आउँछ । स्कुल नर्स भएर आएपछि यसबारे मैले धेरै तालिमहरु लिएँ । म आफैँले पनि अध्ययन गरेँ । बालबालिकाको दिमागमा ‘आत्महत्या सोच’ आएर नै ऊ त्यसमा सरिक हुने हो । सबैभन्दा पहिला सोच आउन नदिनु नै ठूलो कुरो हो । सोच आएपछि पनि उसलाई काउन्सेलिङ गरेर आत्महत्याको सोचबाट मुक्त पार्ने हो । स्कुल नर्स हुनुअघि नै म यस विषयमा चिन्तित पनि थिएँ । स्कुल नर्स भएर आएपछि मेरो त विषय नै यही भयो । अहिले ‘आत्महत्या सोच’ बनाएका विद्यार्थीहरुको गहिरो अध्ययन गर्दै उनीहरुलाई आत्महत्याको सोचबाट मुक्त पारेकी छु । 

आत्महत्याको सोच बालमस्तिष्कमा किन आउँछ भन्ने कुरामा धेरै कारणहरु मैले फेला पारेकी छु । बालमस्तिष्कमा आत्महत्याको सोच आउनुमा अभिभावक अलि बढी दोषी मैले पाएँ । आजका अभिभावक धेरैभन्दा धेरै व्यस्त छन् । उनीहरु छोराछोरीसँग बोल्न भ्याउँदैनन् । समस्या बुझ्ने कोशिस गर्दैनन् । दुःखसुख साट्दैनन् । केही अभिभावक छोराछोरीसँग बढी झर्किने, झोक्किने गर्छन् । ‘तैले जीवनमा केही गर्दैनस्’, ‘तँ मरे पनि हुन्छ’ ‘तँ बाच्नु त धर्तीको बोझ हो’ भन्नेजस्ता शव्द प्रयोग गरेर गाली गर्छन् । जसले गर्दा बालमस्तिष्कमा निराशामात्र पैदा हुन्छ । अनि विस्तारै आत्महत्याको सोचले डेरा जमाउन थाल्छ । 

कतिपय बालबालिकाको पारिवारिक समस्या हुन्छ । जस्तो कि सौतेनी आमाको हेला, आफ्नै आमाबुबाबाट घृणा भएको महसुस, चरम आर्थिक अभाव, समस्या समाधानमा बेवास्तालगायतका कारणले पनि बालमस्तिष्कमा आत्महत्याको सोच आइरहेको छ । आवेग, आक्रोश र छिटो रिसाउने प्रवृत्तिले पनि बालबालिकामा आत्महत्याको सोचको विकास गरेको छ । परीक्षामा कम नम्बर आउँदा अभिभावकले सामान्य गाली गर्दा, वा शिक्षक, साथीभाइले हेला गर्दासमेत बालबालिकामा आत्महत्याको सोच आएको मैले पाएँ ।

पछिल्लो समय फेसबुकमा हुने मायाप्रीतिका कारणले पनि बालबालिकामा आत्महत्याको सोच आएको छ । फेसबुकमा चिनजान भयो, कुराकानी भयो, अनि हुँदाहुँदै कसैले मायाको प्रस्ताव राख्यो, अर्कोले अस्वीकार गरेको खण्डमा पनि आत्महत्याको सोच बनेको मैले पाएँ । त्यस्तै फेसबुकमा नचिनेको साथीले रिक्वेस्ट पठायो, एस्सेप्ट भयो । चिनजान भयो । घुमघाम पनि भयो । केही समयपछि कुरा मिलेन, त्यसपछि आत्महत्याको सोच आएको समेत मैले फेला पारेकी छु । 

अभिभावकले छोराछोरीलाई समान माया गर्दागर्दै पनि छोराछोरीमा समान माया नभएको अनुभव भएपछि त्यसैको निराशामा आत्महत्याको सोच आएको मैले फेला पारेँ । अभिभावकमा घरमा दिनरात हुने झगडाका कारण पनि बालबालिकामा आत्महत्याको सोच आइरहेको छ । छात्रमा भन्दा छात्रामा बढी आत्महत्याको सोच बढी देखिन्छ । छात्राहरुमा सानो कुराले पनि आत्महत्याको सोच ल्याइहाल्छन् । लागूऔषध सेवन, अत्यधिक धूमपान सेवनले पनि आत्महत्याको सोचको विकास गरेको मैले पाएको छु ।

आत्महत्याको सोचको लक्षण 
कक्षा कोठाभित्र पसेर होस् वा बाहिर चौरमा खेल्दा होस् विद्यार्थीहरुको डेढ दुई घन्टा सुक्ष्म रुपमा अध्ययन गर्न पाएँ भने मैले कुन विद्यार्थीले आत्महत्याको सोच बनाइरहेको छ पत्ता लगाउन सक्छु । आत्महत्याको सोच बनाएको विद्यार्थीलाई बोलाएर विस्तारै कुरा खोतल्दै जान्छु, पटकपटक बोलाउँछु र विस्तारै काउन्सेलिङ गर्छु । अभिभावक बोलाउन पर्छ भने अभिभावकलाई राखेरसमेत काउन्सेलिङ गर्छु । विस्तारै आत्महत्याको सोचबाट मुक्त बनाउँछु । 

आत्महत्याको सोच बनाएको विद्यार्थीले कुनै न कुनै क्लू देखाएकै हुन्छ । जस्तो उसले कक्षा बंक गर्छ । सामान्य कुरामा रिसाउँछ । चिच्चाउँछ । सामान्य व्यवहारभन्दा भिन्न प्रवृत्ति देखाउँछ । एकोहोरो हुन्छ । अपरिचित व्यक्तिसँग नजिक हुन खोज्छ । आत्महत्याको विषयमा प्रश्नहरु गर्न खोजिरहन्छ । नकारात्मक कुरा मनमा खेलाउँछ । हरेश खान्छ । ‘मैले त जीवनमा केही गर्न सक्दिन होला’, ‘म तनावमा छु’ ‘टेनसन भयो’जस्तो वाक्य प्रयोग गर्छ । घरमा अभिभावकलाई ‘मर्दिन्छु’ भनेर घुर्काउँछ । जुन कुरामा चासो दिनुपर्ने हो, त्यसमा दिँदैन । हातहरु हलुका रुपमा पत्तीले चिरेको पनि हुन्छ । 

आत्महत्याको सोच बनाउने विद्यार्थीहरुले त्यससँग सम्बन्धित क्लुहरु देखाउँछन् । यस्ता क्लुहरु बढी देखाउने विद्यार्थीहरुलाई मैले अहिले काउन्सेलिङ गरिरहेको छु । विद्यार्थीहरुलाई आत्महत्याबाट जोगाउन उनीहरुको दिमागमा आत्महत्याको सोच आउनै दिन हुँदैन, आइहाले पनि तेरो आत्महत्या गर्ने सोच छ, तलाइँ यसबाट मुक्त पार्छु भनेर होइन कि, त्यो सोचलाई अप्रत्यक्ष तरिकाले काउन्सेलिङबाट मुक्त पारिनुपर्छ । 

आत्महत्या सोचको रोकथाम  
पछिल्लो समय विद्यार्थीको आत्महत्या बढिरहेको कुरा हामीले पनि सञ्चारमाध्यमबाट थाहा पाइरहेका छौँ । विद्यार्थीलाई आत्महत्याबाट रोक्न सबैभन्दा पहिला उनीहरुमा आत्महत्याको सोच आउनै दिनुभएन । सोच आएपनि उनीहरुलाई काउन्सेलिङबाट मुक्त पारिनुपर्छ । जीवनोपयोगी सीपहरु सिकाउनुपर्छ ।

विद्यार्थीमा निराशा होइन, उत्प्रेरणा जगाउनुपर्छ । जस्तो कम अंक ल्याएको विद्यार्थीहरुलाई पनि हामीले राम्रै छ, अर्को पटक अझ राम्रो हुन्छ भनियो भने उसले राम्रो गर्न सक्छ । कम अंक ल्याएको विद्यार्थीलाई खत्तमै भइस्, बाँच्नुको कुनै अर्थ छैन भनियो भने उसमा आत्महत्याको सोच आउन सक्छ । यस्ता धेरै कुरामा अभिभावकले विचार गर्नुपर्छ । 

अहिलेका बालबालिकामा उत्प्रेरणाका खाँचो छ, कम अभिभावकले मात्र  उत्प्रेरणा जगाइरहेका छन् । बालबालिकामा कत्तिपनि निराशा जगाउनुहुँदैन । निराशाले आत्महत्याको सोच ल्याउँछ । अभिभावक छोराछोरीसँग साथीजसरी कुराकानी गर्नुपर्छ । दिनमा एकडेढ घन्टा ऊसँग साथीजसरी नजिकमा बसेर कुराकानी गर्ने अभिभावक हाम्रो समाजमा कम छन् । छोराछोरी स्कुलमा दिनको ६ घन्टा रहन्छ, बाँकी त अभिभावकसँग हो । अभिभावकसँग छोराछोरीको कुराकानी नै कम भयोजस्तो मलाई लाग्छ ।

सामाजिक सञ्जालको प्रयोगको दुरुपयोग हुँदा पनि बालबालिका समस्यामा छन् । छोराछोरीले सामाजिक सञ्जाल चलाइरहँदा अभिभावकले पनि चासो दिन जरुरी छ । मैले पटकपटक आत्महत्याको अभ्याससमेत गरेको विद्यार्थीलाई काउन्सेलिङबाट लगनशील र इमान्दार विद्यार्थी बनाए भने, त्यो काम अभिभावकबाट पनि हुन सक्थ्यो नि । अभिभावकसँग छोराछोरीको नजिक हुने गरी ‘साथी संवाद’ हुन सक्यो भने आत्महत्याका समस्या समाधान हुन्छजस्तो मलाई लाग्छ । आत्महत्या कायरताको सूचक हो भन्ने भावना विद्यार्थीहरुमा विकास गर्न जरुरी छ । 


 

प्रतिक्रिया दिनुहोस