काठमाडौँ । डेनमार्कको कोपनहेगनमा कांग्रेसका ३३ वटै जनसम्पर्क समितिमा आबद्ध नेता कार्यकर्ताका लागि विश्व भेला एवं प्रशिक्षण कार्यक्रम सुरु भएको छ । शुक्रबार राति उद्घाटन भएको कार्यक्रम लगातार तीन दिनसम्म चल्नेछ । कार्यक्रमका लागि नेपालबाट झन्डै दुई दर्जन कांग्रेस नेताहरू कोपनहेगन पुगिसकेका छन् । कार्यक्रमको उद्घाटन कांग्रेस उपसभापति विमलेन्द्र निधिले गरेका छन् ।
निधिसहित कांग्रेस महामन्त्री डा।शशांक कोइराला, प्रवक्ता विश्वप्रकाश शर्मा, नेताहरू डा। मीनेन्द्र रिजाल, भीष्मराज आङ्देम्बे, धनराज गुरुङसहितका नेता सहभागी छन् । त्यस्तै, गोविन्द भट्टराई, आमन्त्रित केन्द्रीय सदस्य किरण पौडेल, नेतृ प्रतिमा गौतमसहितका नेता सहभागी छन् । प्रतिष्ठानका कार्यकारी निर्देशक पुरुषोत्तम दाहाल, कांग्रेस केन्द्रीय कार्यालयमा सचिवद्वय प्रकाश शर्मा र मुक्ति आचार्य पनि डेनमार्क पुगेका छन् ।
त्यस्तै, भक्तपुर सभापति दुर्लभ थापा पनि डेनमार्क पुगेका छन् । कार्यक्रममा ३३ वटै देशमा रहेका कांग्रेसको जनसम्पर्क समितिका महाधिवेशन प्रतिनिधि, महासमिति सदस्यसहितका कार्यकर्ताहरू सहभागी हुनेछन् । उनीहरूलाई कांग्रेसको राजनीतिक कार्यक्रमको विषयमा प्रशिक्षण दिने र उनीहरूले नेपालको विकासमा गर्न सक्ने योगदानका विषयमा पनि छलफल गर्ने कार्यक्रम छ । ३३ वटै देशमा कांग्रेसका यस्ता शुभेच्छुक जनसम्पर्क समिति छन् ।
कांग्रेसले किन गर्दै छ डेनमार्कमा भेला ?
प्रशिक्षणमा केही समयअघि पारित कांग्रेसको विधानका नयाँ व्यवस्था, महासमिति बैठकका राजनीतिक, आर्थिकसहितका प्रस्तावका विषयमा छलफल हुनेछ । विदेशमा रहेका नागरिकलाई मताधिकारको व्यवस्था गर्न सर्वोच्च अदालतले दिएको आदेशलाई कार्यान्वयनका लागि नेपाल सरकारको ध्यानाकर्षण र विदेशमा रहेका नेताहरूको सीप, क्षमता र योग्यताको प्रयोग कसरी गर्ने भन्नेमा छलफल केन्द्रित हुने कांग्रेस उपसभापति विमलेन्द्र निधिले जानकारी दिए ।
रिचमन्ड होटेलमा यसरी हुँदै छ प्रशिक्षण भेला
कार्यक्रम कोपनहेगनको मध्य भागमा अवस्थित रिचमन्ड होटेलको सभागृहमा सुरु भएको जानकारी प्रचारप्रसार समिति संयोजक प्रकाश ढकालले दिए । उनका अनुसार कार्यक्रममा सहभागी हुने सबैका लागि खाने व्यवस्था समितिले नै मिलाएको छ । कार्यक्रमलाई व्यवस्थित बनाउन २० उपसमिति गठन गरिएका छन् । कार्यक्रमका अतिथिहरूलाई कार्यक्रम आयोजना हुने होटेलमा नै बस्ने व्यवस्था मिलाइएको जानकारी उनले दिए । शनिबार र आइतबार प्रशिक्षण कार्यक्रमको तालिका छ ।
विचार आदान–प्रदान गर्न प्रशिक्षण
वीरेन्द्रसिंह कार्की, सभापति,सम्पर्क समिति डेनमार्क
डेनमार्कस्थित सम्पर्क समितिका सभापति वीरेन्द्रसिंह कार्कीले समाजवादी राष्ट्रहरूको डेमोक्रेटिक अभ्यासबारे ‘आइडिया सेयर’ हुने जानकारी दिए । ‘हामीले समाजवादी राष्ट्रहरूको डेमोक्रेटिक अभ्यासबारे र कल्चरबारे आइडिया सेयर गर्ने, नेपालमा भएको परिवर्तनलाई विदेशमा भएका नेपालीले कसरी लिएका छन् भन्नेबारेमा पनि हामी छलफल गर्छौँ,’ कार्कीले नयाँ पत्रिकासँग भने, ‘नेपालको शान्ति, समृद्धिमा उनीहरूले कसरी योगदान गर्न सक्छन्, बदलिँदो विश्व राजनीति एवं नेपालको वर्तमान अवस्था, नेपाली जनसम्पर्क समितिहरूबीचको अन्तरसम्बन्ध, नेपालको विकासमा विदेशमा बस्ने नेपालीहरूले पु(याउन सक्ने योगदानका विषयमा पनि छलफल हुन्छ ।’ विदेशमा बस्ने नेपालीलाई मताधिकारको व्यवस्था मिलाउन दबाब दिनेसहितका विषयमा छलफल हुने जानकारी उनले दिए ।
नेपालको विकासका लागि भेलाको आयोजना
पुरुषोत्तम दाहाल,कार्यकारी निर्देशक, केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान
प्रशिक्षणमा विभिन्न देशको डेमोक्रेटिक कल्चरबारे आइडिया सेयर गर्ने, नेपालमा भएको परिवर्तनलाई विदेशमा भएका नेपालीले कसरी लिएका छन् भन्ने विषयमा पनि छलफल हुनेछ । नेपालको शान्ति र समृद्धिमा उनीहरूले कसरी योगदान गर्न सक्छन् भन्ने पनि बुझ्नेछौँ । यो कार्यक्रममा नेपालको विकासका लागि विदेशमा रहेका नेपालीहरूले कसरी योगदान गर्न सक्छन् भन्ने विषय पनि छलफल गर्छ ।
कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक
कांग्रेसले विधानको नियमावली, राष्ट्रिय जागरण अभियानसहितका विषयमा छलफल गर्न २२ असारमा बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाएको छ । संशोधित विधानको नियमावली बनेर कार्यान्वयनका लागि बाटो खुल्ने भएकाले पनि कांग्रेसमा छिटो नियमावली पास गर्न दबाब परेको छ । नियमावली समितिको प्रस्तावित मस्यौदाका विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाइएको जानकारी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिए । संघीय व्यवस्थाअनुसारको पार्टी संरचना छिटो बनाउँदै १४औँ महाधिवेशन गर्ने बाटोमा अग्रसर हुन कांग्रेस नेतृत्वलाई पार्टीभित्र दबाब छ ।
नियमावलीबाहेक गत २५ वैशाखदेखि २५ जेठसम्म देशभर भएको राष्ट्रिय जागरण अभियानको पहिलो चरणको समीक्षा, भ्रातृ एवं शुभेच्छुक संस्थाको विधान र समसामयिक राजनीतिक विषयका सन्दर्भमा पनि छलफल हुने पौडेलले जानकारी दिए । तर, पार्टी संस्थापन पक्ष यो वर्षको फागुन मसान्तभित्र महाधिवेशन गर्न तयार छैन । एक वर्ष थप गर्न पाउने वैधानिक व्यवस्थालाई टेकेर पार्टी सभापति शेरबहादुर देउवाले कार्यकाल लम्ब्याउने तयारी गरेका छन् । यो समाचार आजको नया पत्रिका दैनिकमा छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, ०७ असार २०७६, ०७ : ५२
लेखकबाट थप