काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय मर्यादा र पद्धतिविपरीत प्रतिपक्षी दल नेपाली काँग्रेसले असंसदीय गतिविधि प्रदर्शन गरेको बताउनुभएको छ । उहाँले सिंहदरबारमा मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा सो धारणा व्यक्त गर्नुभएको हो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, “अत्यन्तै असंसदीय, अमर्यादित र अकारण संसद् अवरुद्ध गरियो । लोकतान्त्रिक अभ्यासमा प्रधानमन्त्रीले लिएको समयमा बोल्न नदिने भन्ने कुरा हुँदैन । ” प्रधानमन्त्री ओलीले संसद्लाई सम्बोधन गर्ने क्रममा प्रतिपक्षी दल नेपाली काँग्रेसले संसद् अवरुद्ध गरेको थियो ।
उहाँले थप्नुभयो, “विषय केही पनि थिएन । कुनै विषयमा मतभेद पनि होइन । लोकतान्त्रिक पद्धतिमा प्रधानमन्त्री, प्रतिपक्षी दलका नेता मर्यादाक्रमअनुसार बोल्ने विश्वव्यापी मान्यता नै हो । ” उहाँले लामो समयदेखि लोकतान्त्रिक आन्दोलनमा सहकार्य गरेका मित्र शेरबहादुर देउवा आफैँ नेतृत्व गर्दै ‘मैले पहिला बोल्न पाउनुपर्छ’ भनेर संसद् अवरुद्ध पारिनुले आफू आश्चर्यचकित भएको बताउनुभयो ।
लोकतान्त्रिक शक्तिको एकता
प्रधानमन्त्री ओलीले लोकतन्त्र, गणतन्त्र र सङ्घीयताविरुद्ध अलोकतान्त्रिक शक्तिहरूको मोर्चाबन्दी स्पष्ट देखापरेको बताउनुभएको छ । उहाँले भन्नुभयो, “सङ्घीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध विभिन्न प्रकारका तìवहरू अति बाम उग्रपन्थीदेखि अति दक्षिण प्रतिक्रियावादी एकजुट भएको अवस्था देखिएको छ । ”
प्रधानमन्त्रीले प्रतिक्रियावादी शक्तिहरू एकजुट भइरहेको बेला लोकतान्त्रिक शक्तिहरूबीचमा एकता हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “लोकतान्त्रिक शक्तिबीच एकता हुनुको सट्टा एकता बिथोल्न लोकतान्त्रिक शक्ति नै अग्रसर भएको देख्दा आश्चर्य लाग्छ । ” उहाँले ०७ सालको आन्दोलनपछि परिवर्तनकारी शक्तिहरूलाई साथ लिएर अगाडि बढ्नुपर्ने ठाउँमा परिवर्तनकारी शक्तिलाई प्रतिबन्ध लगाउने, प्रतिक्रियावादी शक्तिसँग मिलेर चल्ने गलत नीतिका कारणले लोकतन्त्र दुर्घटनामा परेको स्मरण गर्नुभयो ।
उहाँले जनताको अभिमतबाट आएको शक्तिलाई स्वीकार गर्नु नै लोकतन्त्र भएको बताउनुभयो । प्रधानमनन्त्रीले भन्नुभयो, “आफू आए ठीक, नआए बेठीक भन्ने हो भने लोकतन्त्र चल्दैन । आज जुन प्रवृत्ति देखापरेको छ, त्यसले लोकतान्त्रिक अभ्यास अगाडि जान सक्दैन । यो गम्भीर अवस्था हो । ”
उहाँले भन्नुभयो, “त्यत्रो बलिदानबाट प्राप्त गरेको उपलब्धिको रक्षा गर्नु सबैको साझा कर्तव्य र दायित्व हो । ” उहाँले सरकार देश, सार्वभौमसत्ता, स्वाधीनता, स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हितहरू र स्वाभिमानप्रति अत्यन्त दृढ र सजग रहेको बताउनुभयो । उहाँले थप्नुभयो, “यो इतिहासले प्रमाणित गरेको छ । यो भनिएको कुरा मात्रै होइन, गरिएको काम हो । राखिएको अडान हो । ”
सामाजिक सद्भावमा आधारित राष्ट्रिय एकता
प्रधानमन्त्री ओलीले सामाजिक सद्भावमा आधारित राष्ट्रिय एकताको पक्षमा सरकार भएको बताउनुभयो । उहाँले सामाजिक न्याय तथा समानता र सामाजिक सद्भावमा आधारित राष्ट्रिय एकतामा सधैँभरि जोड दिइएको चर्चा गर्दै थप्नुभयो, “सरकारले सामाजिक सद्भाव तथा सामाजिक न्याय र समानतामा आधारित राष्ट्रिय एकतामा जोड दिएको छ । ” प्रधानमन्त्री ओलीले पार्टी र सरकार शान्ति, स्थिरता र स्थायित्वको पक्षमा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “समृद्धिको काममा लागेको छु । आज केही तìवहरू आत्तिएका देखिन्छन्, समृद्धिका कामलाई सरकारले अगाडि बढाउने भयो भनेर । ”
उहाँले थप्नुभयो, “म दृढतासाथ भन्न चाहन्छु, समृद्धिका काम अगाडि बढ्ने छन् र बढाइने छ । समृद्धिको यात्रा, सुशासन र विकास आजको मूल मन्त्र हो । त्यसलाई साकार पार्दै यो सरकार अगाडि बढ्छ । ”
प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध
प्रधानमन्त्री ओलीले सरकार लोकतान्त्रिक आन्दोलनको लामो शृङ्खलामा अग्रभागमा रहेर बलिदानपूर्ण सङ्घर्ष गरेर आएको चर्चा गर्दै लोकतन्त्रका मूल्य र मान्यताप्रति सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “यो सरकार परिवर्तन ल्याएर, परिवर्तन साकार पारेर आएको हो । लामो सङ्घर्षको उतारचढावबाट आएको लोकतन्त्रको रक्षाका निम्ति प्रतिबद्ध सरकार हो । उहाँले भन्नुभयो, “मौलिक हकहरू, प्रेस स्वतन्त्रता, मर्यादित र जिम्मेवार प्रेस, मानवअधिकार, विकासका प्रयासहरूमा सरकार प्रतिबद्ध छ । यो सरकार देश बनाउने अभिभारा बोकेर अभियानमा संलग्न छ । ’’
युरोप भ्रमण सफल
प्रधानमन्त्री ओलीले युरोप भ्रमणबाट नेपालको प्रतिष्ठा अन्तर्राष्ट्रिय समुदायमा पु¥याउन सफलता मिलेको बताउनुभयो । उहाँले नेपालले प्राप्त गरेको उपलब्धि, आवश्यकता, अवस्था, आकाङ्क्षा, लोकतान्त्रिक यात्राका विषयमा मित्रराष्ट्रहरूसँग स्पष्ट धारणा राख्न सफलता मिलेको बताउनुभयो ।
गुठी विधेयक फिर्ताप्रति दृढ समर्थन
प्रधानमन्त्री ओली युरोप भ्रमणबाट फर्केलगत्तै उहाँले सरोकारवाला पक्षसँग छलफल गरेर गुठीसम्बन्धी विधेयक फिर्ता लिने निर्णयमा पुगिएको हो ।
उहाँले गुठी विधेयक फिर्ता गर्ने निर्णयप्रति आफ्नो दृढ समर्थन रहेको बताउनुभयो । उहाँले गुठी विधेयकलाई लिएर उल्टो र भ्रमपूर्ण प्रचार गरिएकोसमेत बताउनुभयो । प्रधानमन्त्री ओलीले काठमाडौँभित्रका परम्परा, संस्कृति र चाडपर्वसँग गुठी जोडिएको चर्चा गर्दै प्राधिकरणले गुठी सञ्चालन गर्न खोजेको होइन भन्नुभयो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, ०४ असार २०७६, ०६ : ३७
लेखकबाट थप