बझाङमा जिप दुर्घटना  : एकै परिवारका तीनसहित  १० को मृत्यु

गम्भीर तीन घाइते  नेपालगन्जमा

पत्रपत्रिकाबाट

मंगलबार, ०३ असार २०७६, ०७ : ००
बझाङमा जिप दुर्घटना  : एकै परिवारका तीनसहित  १० को मृत्यु

काठमाडौँ । बझाङमा सोमबार भएको जिप दुर्घटनामा एकै परिवारका तीनसहित १० जनाको मृत्यु भएको छ । पाँच घाइते छन् । डुग्रीबाट कोटदेवल जाने क्रममा से.१ज १०७२ नम्बरको जिप मष्टा गाउँपालिका–१ कोटदेवलनजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा मष्टा गाउँपालिका–१  का कलकबहादुर खड्का, उनकी श्रीमती जुनधारा र छोरा सरोजको मृत्यु भएको छ । सोही ठाउँका हिक्मत खड्का, धौली खड्का, जुना 
खड्का, भक्त द्वाल, विपना खड्का, लक्ष्मी द्वाल र चालक सुरेन्द्र थापाको पनि घटनास्थलमै मृत्यु भएको छ । मष्टा–१ का संगीता खड्का, अनिता द्वाल, गोकुल शाही, जनक द्वाल र गणेश खड्का घाइते भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सूर्यबहादुर केसीले बताए ।

गम्भीर घाइते भएका अनिता, गोकुल र गणेशलाई उपचारका लागि हेलिकोप्टरबाट नेपालगन्ज पठाइएको जिल्ला अस्पतालका डाक्टर सन्दीप ओखेडाले बताए । अन्य दुई घाइतेको जिल्ला अस्पतालमै उपचार भइरहेको छ ।

जिप सडकभन्दा करिब पाँच सय मिटर तल खसेको थियो । यात्रुसँगै सिमेन्ट, चामललगायत सामग्रीले जिपमा ओभरलोड रहेको अनुमान प्रहरीले गरेको छ । यस वर्ष मात्र ग्रामीण सडकमा भएका जिप दुर्घटनामा करिब ३५ जनाले ज्यान गुमाइसकेका छन् । यो समाचार आजको नया पत्रिका दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस